हवाई सम्झौता ३९ देशसँग, उडान ६ देशका ८ गन्तव्यमा मात्र

अस्ट्रियाका २ ओटा विमानस्थलमा उडान भर्न पाउने गरी हवाई सम्झौता भए पनि हालसम्म सो देशमा उडान भर्न सकेको छैन ।

काठमाडौं : नेपालले हालसम्म ३९ ओटा देशमा हवाई सम्झौता गरिसकेको छ । तर, नेपाल वायुसेवा निगम (एनएसी)ले हाल ८ ओटा गन्तव्यमा मात्र उडान भर्दै आएको छ ।

नेपालले पहिलो पटक अस्ट्रियासँग १९९७ मा हवाई सम्झौता गरेको थियो । अस्ट्रियाका २ ओटा विमानस्थलमा उडान भर्न पाउने गरी हवाई सम्झौता भए पनि हालसम्म सो देशमा उडान भर्न सकेको छैन । यता एनएसीले गत साउनमा खरिद गरेको दुई ओटा वाइडबडी जहाज भने लामो दुरीमा उडान गर्न नपाएको भन्दै छोटो दुरीमा उडान गर्दै आएको छ ।

हालसम्म नेपालले अस्ट्रिया, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाई, चीन, क्रोएसिया, इजिप्ट, फ्रान्स, जर्मनी, हङ्कङ, इन्डिया, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जेमबर्ग, मकाऊ, मलेसिया, माल्दिभ्स, म्यानमार, ओमन, पाकिस्तान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, रसिया, साउदी अरेबिया, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड, नेदरल्यान्ड, यूएई, बेलायत, टर्की, भियतनाम, न्युजिल्यान्ड र कम्बोडियासँग हवाई सम्झौता गरिसकेको छ । एनएसीले हाल भारतको नयाँ दिल्ली, बैङ्गलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एनएसीसँग पर्याप्त जहाज नभएकै कारण हवाई सम्झौता भएका देशहरुमा पनि उडान भर्न नसकेको बताए । सम्झौता भएकामध्ये युरोपियन मुलुकमा युरोपियन युनियन (ईयु)को कालोसूचीका कारण उडान भर्न नपाएको मन्त्री अधिकारीको भनाइ छ । ‘एनएसीमा साझेदारी भित्र्याउन सके हवाई सम्झौता भएका सबै मुलुकमा उडान भर्न सक्छौं,’ मन्त्री अधिकारीले भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ ।’

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हवाई उडानका लागि बाटो खुलाउन सम्झौता गरिने गरेको बताए । ‘हामीले बाटो खुला गर्ने हो,’ सहसचिव लामिछानेले भने, ‘जहाज उडाउने वा नउडाउने एयरलाइन्सको हो ।’

यता एनएसीका कार्यकारी अध्यक्ष मदन खरेलले आवश्यकताअनुसार हवाई सम्झौता भएका देशहरुमा उडान भर्दै जाने बताए । अध्यक्ष खरेलले हवाई सम्झौता भएका सबै देशमा जान यात्रु नहुने हुँदा त्यहाँ उडान भर्न नसकिएको बताउँदै कुनै बेला आवश्यकता प¥यो भने उडान भर्न आफूहरु तयार रहेको जानकारी दिए । उनले सम्झौता भएका मुलुकमध्ये युरोपियन मुलुकहरुमा ईयूको कालोसूचीका कारण उडान भर्न समस्या भएको र केही देशहरुमा हवाई सम्झौता नै हुन नसकेका कारण समस्या परेको बताए । अबको केही महिनाभित्र हवाई सम्झौता भएका देशहरुमध्ये जापान, चीन तथा दक्षिण कोरियामा एनएसीले उडान भर्न लागेको अध्यक्ष खरेलले जानकारी दिए ।