मलेसियाले नेपाली कामदारको विकल्प खोज्यो

७ महिनाअघि नै कलिङ भिसा पाएका नेपाली कामदार मलेसिया जान नपाएपछि मलेसियाको रोजगारदाता कम्पनीले नेपालीको नाममा निस्केको भिसा रद्द गरी अन्य मुलुकका कामदारलाई दिन सुरु गरेको हो ।

काठमाडौं : ७ महिनादेखि नेपाली कामदार मलेसिया जान बन्द भएपछि मलेसियाले नेपाली कामदारको विकल्प खोज्न सुरु गरेको छ ।

७ महिनाअघि नै कलिङ भिसा पाएका नेपाली कामदार मलेसिया जान नपाएपछि मलेसियाको रोजगारदाता कम्पनीले नेपालीको नाममा निस्केको भिसा रद्द गरी अन्य मुलुकका कामदारलाई दिन सुरु गरेको हो । यसअघि जुन मुलुकका कामदारको कलिङ भिसा रद्द हुँदा सोही मुलुकका अरु कामदार लिनुपर्ने प्रावधान थियो ।

मलेसियाले शुक्रबारदेखि नेपाली कामदारको कलिङ भिसा रद्द गरी त्यही कोटामा अन्य मुलुकका कामदारलाई भिसा जारी गर्न सुरु गरेको हो । मलेसियाले नेपाली कामदारका नाममा जारी भएको भिसा रद्द गरी श्रीलङ्का, बङ्गलादेश, म्यानमार र पाकिस्तानका कामदार ल्याउन रोजगारदाता कम्पनीलाई स्वीकृति दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि ५ अर्ब ठगी गर्ने बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी तथा माईग्राम्सलाई खारेजीको घोषणा गर्दै कारवाहीको दायरामा ल्याएको थियो । श्रममन्त्री गोकर्ण विष्टले कारवाही थालेपछि मलेसिया ७ महिनादेखि बन्द छ ।

लामो समयदेखि मलेसियाको रोजगारी बन्द भएपछि गत कार्तिक १२ गते नेपाल र मलेसियाबीच काठमाडौंमा श्रम समझदारी भएको थियो । समझदारीअनुसार नेपाली कामदारलाई परेको सम्पूर्ण आर्थिक भार मलेसियाका रोजगारदाता कम्पनीले बेहोर्ने छन् । श्रम समझदारी भएको करिब डेढ महिना हुन लाग्दा पनि मलेसिया नखुलेपछि उसले शुक्रबारदेखि नेपाली कामदारको विकल्पमा अन्य मुलुकका कामदार लिन सुरु गरेको हो ।

कलिङ भिसा लागेर मलेसिया जान रोकिएका नेपाली कामदारको सट्टा अरु मुलुकबाट कामदार लिन सुरु भएको जोहोरबारु प्रान्तका रोजगारदाता कम्पनीका सञ्चालक दातो सिन फुले टेलिफोन कुुराकानीमा क्यापिटल नेपाललाई बताए । ‘मलेसियाका विभिन्न कम्पनीमा अहिले कामदारको अभाव भइरहेको छ, नेपालबाट कामदार नआए त्यही कोटामा अरु मुलुकबाट कामदार ल्याउन यहाँको अध्यागमनले स्वीकृति दिएको छ,’ उनले भने ।

मलेसियाले पछिल्लो पटक चालेको कदम नेपाललाई स्रोत मुलुकबाट नै हटाउने सङ्केत रहेको हङकङमा रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले बताए । ‘कुनै देशले लामो सयमसम्म कामदार कुरेर बस्दैन, कामदार चाहिएपछि अरु मुलुकबाट ल्याउने प्रक्रिया थाल्छ,’ उनले भने, ‘हामीले यही अवस्था नआओस् भनेर पटक पटक मन्त्रीलाई मलेसिया खोल्न आग्रह गर्यौं तर उहाँको हठले अहिले मलेसियाले नेपाललाई स्रोत मुलुकबाट नै हटाउने तयारी गर्यो ।’