उद्यमले दिलाएको सफलता

काठमाडौं छिर्दाताका काठमाडौंमा व्यवसाय सञ्चालनका लागि सुुरुसुरुमा राम्रो ठाउँसमेत पाउन बालकृष्णलाई मुस्किल पर्यो । त्यसमाथि ठूला व्यवसायीसँग प्रतिस्पर्धा गरेर व्यववसाय गर्न समस्या पनि पर्यो । तर उनले हिम्मत हारेनन् । अघि बढिरहे । सफल हुँदै पनि गए ।

लगनशीलताबाटै सफलता मिल्छ भन्ने मूल मन्त्र लिएर अघि बढेका उद्योगी हुन्— बालकृष्ण शिवाकोटी । मझौला उद्योगीमध्ये उनको स्थान अगाडि आउँछ । उनी लगनशीलतासँगै मिहिनेती पनि हुनुपर्छ भन्ने मान्यतामा अडिग छन् । अन्यथा सफल होइन्न भन्ने उनको सोच छ । युवा उद्यमी शिवाकोटीको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । तर उनी आफू यो अवस्थासम्म आइपुग्न धेरै समस्या र चुनौतीको सामना गर्नुपरेको बताउँछन् ।

उनका हजुरबुबा गणेशराज शिवाकोटीले दोलखाको सुनखानी गाउँमा इँटा र ह्याचरी उद्योग सञ्चालन गरेका थिए । सडक सञ्जालको पहुँच नपुगेको सुनखानीमा इँटा उद्योग सञ्चालन गर्ने काम चुनौतीपूर्ण थियो । चुनौतीलाई चिर्दै हजुरबुबाले थालेको इँटा उद्योगलाई अहिले उनले निरन्तरता दिएका छन् । उनको व्यावसायिक जीवन गाउँबाट सुरु भयो । तर गाउँमै सीमित भने भएन । उनको व्यावसायिक काम काठमाडौंलगायत देशका विभिन्न जिल्लामा फैलिएका छन् । व्यावसायिक पृष्ठभूमिको परिवार भएका कारण उनलाई व्यवसाय सञ्चालन गर्न केही समस्या त भएन । तर सञ्चालन भएका व्यवसायलाई निरन्तरता दिने काममा भने चुनौती थपिइरहे ।

२०२६ सालमा दोलखाको सुनखानीमा जन्मिएका शिवाकोटीले २४ वर्षको उमेरदेखि नै हजुरबुबा र बुबा विष्णुराज शिवाकोटीले थालेको व्यवसायलाई निरन्तरता दिएका हुन् । गाउँमा व्यवसाय गर्दै आएको शिवाकोटी परिवार गाउँमै सीमित हुन चाहन्नथ्यो । त्यसैले राजधानीमा गएर व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोचका साथ २०३८/३९ सालतिर बालकृणका बुबा विष्णुराजले नयाँ बानेश्वरमा काष्ठ व्यवसाय थाले । गाउँमा लामो समय प्रधानपञ्च भएका उनका विष्णुराजले राजनीतिसँगै व्यवसायलाई पनि अघि बढाएका थिए ।

त्यतिखेर विष्णुराजले काठमाडौंमा केही आफन्तसँग मिलेर व्यवसाय सञ्चालन गरेका थिए । युवा उद्यमी बालकृष्णले पनि अहिले धेरैजसो उद्योग पार्टरसिपमै सञ्चालन गरिरहेका छन् । जुनसुकै कामलाई विश्वासका साथ अगाडि बढाउन सकियो भने सबै काममा सफलता मिल्छ भन्ने उनको विश्वास छ ।

बुबाको कामलाई निरन्तरता दिन गाउँबाट सहर छिरेका शिवाकोटीलाई काठमाडौंमा आएर व्यवसाय सञ्चालन गर्न कम्ती चुनौतीपूर्ण थिएन । तर ती चुनौती चिर्दै उनले सफलता हात पारिछाडे । सुरुसुरुमा काठमाडौंमा व्यवसाय सञ्चालनका लागि राम्रो ठाउँसमेत पाउन उनलाई मुस्किल पर्यो । त्यसमाथि ठूला व्यवसायीसँग प्रतिस्पर्धा गरेर व्यववसाय गर्न समस्या पनि पर्यो । तर उनले हिम्मत हारेनन् । अघि बढिरहे । सफल हुँदै पनि गए । शिवाकोटीले अहिले होटलदेखि केबलकार सेवालगायत व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

साना तथा मझौला उद्योगीहरुलाई बैङ्क तथा वित्तीय संस्थाले ऋण दिनसमेत आनाकानी गरेको अनुभव शिवाकोटीको छ । व्यवसाय सञ्चालन थाल्दाताका कुनै पनि बैङ्कले ऋण नदिँदा ठूलाठूला समस्या बेहोर्नुपरेको तीतो यथार्थ उनीसामु छ । आफूले जस्तै अरु व्यवसायीलाई ऋण लिन गाह्रो नपरोस् भनेर शिवाकोटीले दोलखामा केन्द्रीय कार्यालय रहने गरी कालिञ्चोक डेभलपपमेन्ट बैङ्क सञ्चालनमा ल्याए । शिवाकोटी अध्यक्ष रहेको बैङ्कले छोटो समयमै जिल्लाका विभिन्न बजारमा शाखा विस्तार गरेको थियो । बैङ्कका रामेछाप र सिन्धुलीमा समेत शाखा स्थापना भए । सोही बैङ्कबाट अहिले ऋण लिएर धेरै युवा व्यवसायमा जम्दै छन् ।

राष्ट्र बैङ्कको निर्देशनपछि अरनिको डेभलपमेन्ट बैङ्कसँग मर्ज भएको उक्त बैङ्क अन्ततः मेगा बैङ्कसँग गाभिएको छ । हाल उनै शिवाकोटी मेगा बैङ्कको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । उद्योगीहरुको नेतृत्व गर्दै लगानी बोर्डको सदस्यमा पनि उनी नियुक्त भएका छन् । मिनी क्याबिनेटका रुपमा लिइने लगानी बोर्डमा उनी दोस्रो पटक नियुक्त भएका हुन् । आफ्नो मिहिनेत र लगनशीलता देखेर नै सरकारले दोस्रो पटक पनि लगानी बोर्डको सदस्यमा नियुक्त गरेको उनको दाबी छ । राजनीतिक रुपमा जुन पार्टीमा आस्था राखे पनि गृहजिल्ला दोलखाको विकासका लागि सधैं लागिरहने शिवाकोटीको प्रतिबद्धता छ ।

पर्यटनमार्फत नेपालको आर्थिक समृद्धि सम्भव छ भन्ने लागेरै उनले दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्य कालिञ्चोकमा केबलकार सञ्चालनमा ल्याएका छन् । पर्यटन क्षेत्रमा सम्भावना रहँदारहँदै पनि उचित पूर्वाधार नभएकै कारण नेपालका धेरै पर्यटकीय स्थल ओझेलमा परेको उनको बुझाइ छ । सरकारले निजीक्षेत्रलाई पर्यटकीय स्थलहरुमा पूर्वधार निर्माणका लागि वातावरण बनाइदिए लगानीको समस्या नरहेको उनले बताए ।

कालिञ्चोकमा केबलकार सञ्चालनका लागि धेरै कम्पनीले सर्भे गर्दैै छाड्दै गरे पनि आफूले भने त्यो काम फत्ते गरेकोमा उनलाई गर्व छ । केबलकारसँगै दोलखामा स्टार होटल सञ्चालन गर्ने उनको तयारी छ । अरु ठाउँमा पनि केबलकार सञ्चालन गर्न उनले सरकारसँग अनुमति मागेका छन् । तर अनुमति नपाएका कारण ती कामले मूर्त रुप लिन सकेका छैनन् । तर पनि बालकृष्णले आशा मारेका छैनन् ।