एयर एसियाले बुझाएको १० ओटा चेक विमानस्थलबाटै हरायो

महानिर्देशक गौतमले चेक गायब भएको विषयमा फौजदारी मुद्दामा जान लागिएको जानकारी दिए । चेक गायब बनाउने कर्मचारीलाई हदैसम्मको कारवाही गर्ने बताएका छन् । गायब भएको चेकमा करिब ७ करोड ५० लाख रुपैयाँबराबरको रहेको जनाएको छ ।

काठमाडौं : एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाएको १० ओटा चेक गायब भएको तथ्य फेला परेको छ । विमानस्थल सेवा शुल्कबापत बुझाएको १० ओटा चेक विमानस्थल कार्यालयबाटै गायब भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिन सुरु गरेको छ ।

क्यानका महानिर्देशक सञ्जिव गौतमले एयर एसिया एक्सले १० ओटा चेक बुझाएको प्रमाण फेला परेपनि रकम नभेटिएको बताए । ‘रकम जम्मा गरेको भौचर छ, तर चेक र रकम कहीँ भेटिँदैन्,’ महानिर्देशक गौतमले भने, ‘हामी गम्भीर रुपमा छानबिन गरिरहेका छौं ।’ उनले चेक बुझे पनि रकम कहीँ साटिएको नपाएको बताए । एयर एसिया एक्सले बुझाएका १० थान चेक त्रिभुवन विमानस्थलका कर्मचारीले बुझे र रसिद पनि दिए । तर, ती सबै चेक बैङ्कमा जम्मा गर्नुअघि नै गायब पारिएको तथ्य फेला परेको बताए ।

महानिर्देशक गौतमले चेक गायब भएको विषयमा फौजदारी मुद्दामा जान लागिएको जानकारी दिए । चेक गायब बनाउने कर्मचारीलाई हदैसम्मको कारवाही गर्ने बताएका छन् । गायब भएको चेकमा करिब ७ करोड ५० लाख रुपैयाँबराबरको रहेको जनाएको छ ।

एयर एसियाले चेक बुझाउँदा त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा देवानन्द उपाध्याय थिए । उनलाई एयर एसिया एक्सको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जीएसए) इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएको थियो । तर ती चेक हालसम्म कतै साटिएको नपाइएको महानिर्देशक गौतमको भनाइ छ । तत्कालीन विमानस्थल प्रमुख उपाध्यय विमानस्थलमा साढे २ अर्ब रुपैयाँभन्दा बढीको बक्यौता उठाउन ‘असफल’ भएपछि प्राधिकरण मुख्यालयमा तानिएका थिए । हाल उनी प्राधिकरणमा तेस्रो वरीयताका उपमहानिर्देशक छन् ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार काठमाडौंस्थित मलेसियाली दूतावासले एयर एसियाको बक्यौता उठाउन आफूले मध्यस्थता गर्ने भन्दै पत्राचार गरेपछि नेपाल छोड्न अनुमति दिइएको बताए । विमानस्थल व्यवस्थापनले २१ करोड रुपैयाँबराबरको बक्यौता उठाउन एयर एसिया एक्सको क्वालालम्पुरस्थित मुख्यालयमा पत्राचार गरेको भए पनि हालसम्म जवाफ आएको छैन । विमानस्थलले गत भदौमा उसलाई एक साताभित्र कुल बक्यौताको कम्तीमा १० करोड रुपैयाँ चुक्ता नगरे नेपाल आउने उसको जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि उसले ७ करोड १४ लाख रुपैयाँ चुक्ता गरे पनि बाँकी २१ करोड नतिरी नेपाल छाडेको थियो ।

क्यानका महानिर्देशक गौतमले बाँकी रकम तिर्नका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउने तयारी गरिरहेको बताए । उनले बाँकी रकम तिर्नेमा आफूहरु विश्वस्त रहेको बताउँदै रकम नतिरेमा जहाज नेपाल आउन नदिने बताए ।