२५ करोडको लागतमा पोखरामा फिसटेल ड्रिम पार्क निर्माण हुँदै, डेढ वर्षभित्र सम्पन्न हुने

पोखरा महानगरपालिका वडा नम्बर १७ ढुङ्गेसाँघु सीतापाइलामा निर्माण हुने सो पार्क आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको पार्क निर्माण कम्पनी आयु इन्टरटेन्मेन्ट्स प्राइभेट लिमिटेडका निर्देशक भरत गौतमले जानकारी दिए ।

काठमाडौं : पर्यटकीय नगरी पोखरामा निजी क्षेत्रको लगानीमा फिसटेल ड्रिम पार्क निर्माण हुने भएको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा १३ जना युवाहरुको सक्रियतामा २५ करोड रुपैयाँको लागतमा पार्क निर्माण गर्न लागिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ ढुङ्गेसाँघु सीतापाइलामा निर्माण हुने सो पार्क आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको पार्क निर्माण कम्पनी आयु इन्टरटेन्मेन्ट्स प्राइभेट लिमिटेडका निर्देशक भरत गौतमले जानकारी दिए ।

पोखराकै पहिलो सो पार्कमा फ्री फल टावर, मध्यम प्रकारको रोलरकोस्टर, सुपर वाटर स्प्ल्यासिङ, बच्चाहरुका लागि इन्डोर खेल मैदान र ८डी सिनेमा थिएटरलगाएत बनाइने उनले जानकारी दिए । प्राकृतिक दृष्टिकोणले पोखरा आफैमा सुन्दर रहेपनि बालबालिकाहरुका लागि खेल्ने र बिदा सदुपयोग गर्ने उपयुक्त स्थान नभएकै कारण पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ ।

पछिल्लो समय पोखरामा आन्तरिक र बाह्य पर्यटक वृद्धि भइरहेका बेला पार्क निर्माणले पर्यटकको बसाइ अझै लम्बिने निर्देशक गौतमको विश्वास छ । हाल सो कम्पनीले पार्क निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईई)का लागि राय सुझाव माग गरेको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशन गरी १५ दिनभित्र आवश्यक सुझाव पेस गर्न आग्रह गरेको छ ।

पार्क निर्माणस्थलमा स्थानीय क्षेत्रको भौतिक, जैविक, आर्थिक, सामाजिक तथा साँस्कृतिक वातावरण र यिनका अवयवहरु तथा यिनीहरुबीचको अन्तरसम्बन्धमा पर्न सक्ने प्रभावका बारेमा सुझाव पठाउन सरोकारवाला व्यक्ति र सङ्घसस्थालाई अनुरोध गरिएको छ । आयोजनाको परामर्शदातामा प्रकृति कन्सल्ट प्राइभेट लिमिटेड छ ।