पोखरा क्षेत्रिय विमानस्थलको काम २० प्रतिशत सकियो, समयसीमाभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य

क्षेत्रिय विमानस्थलका आयोजना प्रमुख बिनेश मुनकर्मीले चैत्र मसान्तभित्र एप्रोन, ट्याक्सी–वे र रनवेको काम सम्पन्न गरिसक्ने बताएका छन् । सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्ने गरी काम भइरहेको उनको भनाइ छ ।

काठमाडौं : पोखरा क्षेत्रिय विमानस्थलको काम २० प्रतिशत सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो विमानस्थलको काम तीव्र गतिमा अघि बढेको छ ।

क्षेत्रिय विमानस्थलका आयोजना प्रमुख बिनेश मुनकर्मीले चैत्र मसान्तभित्र एप्रोन, ट्याक्सी–वे र रनवेको काम सम्पन्न गरिसक्ने बताएका छन् । सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्ने गरी काम भइरहेको उनको भनाइ छ ।

हाल विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान, ट्याक्सी पार्किङ, नाला तथा ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम तीव्र गतिमा भइरहेको जनाइएको छ ।

विमास्थलको काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्ने गरी काम अघि बढेको प्रमुख मुनकर्मीको भनाइ छ । उनले अहिले सय जना चिनियाँ र तीन सय नेपाली गरी चार सय जनाले काम गरिरहेको बताए । विमानस्थलको काम सन् २०१७ को नोभेम्बर महिनादेखि सुरु भएको हो ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० भित्रमै काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको सो विमानस्थलमा चीन सरकारको करिब २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको हो । विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्नेछ । आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । टर्मिनल भवनमा वार्षिक पाँच लाख क्षमताको हुनेछ ।

विमानस्थलमा ११ ओटा पार्किङ हुने छन् । पार्किङमा ३ ओटा अन्तर्राष्ट्रिय उडानका जहाज र ८ ओटा आन्तरिक उडानका जहाज पार्किङ हुने छन् । जसमा आन्तरिकतर्फ ठूला ४ ओटा र साना ४ ओटा जहाज पार्किङ गर्न सकिने छ ।

केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले विमानस्थलको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका थिए । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्धारित समयभन्दा ६ महिनाअघि नै विमानस्थलको काम सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले विमानस्थल निर्माणका क्रममा आउने समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए । पोखरा क्षेत्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले तयारी गरिरहेको छ ।