विमानस्थलमा बक्यौता, किन भएन बैङ्क रिकन्सिलेसन ?

बैङ्कमा भएको आय व्ययको हिसाबकिताब नहुँदा कसले कति जम्मा गर्यो, कति लिन बाँकी छ भन्ने स्पष्ट आकडा नदेखिएको हो ।

काठमाडौं : नेपालमा उडान गरिरहेको एयर एसियाले यात्रु अभाव भएको भन्दै गत असोज २७ गतेदेखि नेपाल उडान बन्द गर्यो । एयर एसियाले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई १२ करोड तिर्नुपर्ने थियो, तर मलेसियाको बजेट एयरलाइन्सले बक्यौता नतिरी नेपाल छोड्यो । एयर एसिया मात्र होइन प्राधिकरणलाई यसअघि नेपाल उडान गरेका अन्तर्राष्ट्रिय एयरलाइन्स र डोमेस्टिक एयरलाइन्सले समेत बक्यौता रकम बुझाएका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा ‘हिसाबकिताब’ नहुँदा बक्यौता रकम बढ्दै गएको खुलेको छ । विमानस्थल कार्यालयमा २०७२ सालदेखि ‘बैङ्क रिकन्सिलेसन’ नै भएको छैन । बैङ्कमा भएको आय व्ययको हिसाबकिताब नहुँदा कसले कति जम्मा गर्यो, कति लिन बाँकी छ भन्ने स्पष्ट आकडा नदेखिएको हो । विमानस्थल कार्यालयले २०७२ सालदेखि बैङ्क रिकन्सिलेसन गर्नुपर्ने भन्दै प्राधिकरणलाई १० लाखको बजेट पटक पटक माग गर्दा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बजेट उपलब्ध नगराएकै कारण बक्यौता रकम थुप्रिएको विमानस्थल कार्यालयका कर्मचारी बताउँछन् ।

बक्यौता रकम नउठाएको भन्दै प्राधिकरणका महानिर्देशक गौतमले विमानस्थल कार्यालयका कर्मचारीहरु मीन खनाल, शशिलाल प्रधान, सरिता क्षेत्रीलगायतलाई अनुसन्धानको दायरमा राखिएको बताएपछि सोमबार विमानस्थल कार्यालयको राजस्व शाखाका ११ जना कर्मचारीले महानिर्देशक गौतमलाई घेराउ गर्न बबरमहल पुगेका थिए ।

बैङ्क रिकन्सिलेसन गर्नका लागि पटक पटक आग्रह गर्दा पनि निर्देशन नदिएको र बजेट पनि उपलब्ध नगराएको तर एकै पटक छानबिन थालेको भन्दै महानिर्देशक आफूले दोष नलिई अरुलाई दोषी बनाएको भन्दै कर्मचारीहरु रुष्ट भएका हुन् ।

विमानस्थल कार्यालयका राजस्व शाखाका कर्मचारी मीन खनालले ११ जना कर्मचारीहरु महानिर्देशकसमक्ष गएको बताए । हामीले बैङ्कको हिसाबकिताब दुरुस्त राख्न पटक पटक रिकन्सिलेसनको माग गरेको तर बजेट उपलब्ध नभएपछि हिसाबकिताब नभएको उनले बताए । ‘अहिले हेड अफिसले छानबिन गर्ने कुरा आएको छ, यसमा हेड अफिसबाटै छानबिन हुनुपर्छ,’ उनले भने ।

कतिपय एयरलाइन्सले रकम तिरे पनि जम्मा नभएको समेत देखिएको राजस्व शाखाका अको एक कर्मचारीले बताए । दोहोरिने र गल्ती हुने क्रम २०७२ सालदेखि नै छ, यसैलाई मिलान गर्न बैङ्क रिकन्सिलेसन गर्नुपर्ने हो, तर हेड अफिसले बजेट नै नदिएको उनले बताए ।

विमानस्थल कार्यालयले २०७३ चैत ३० गते प्राधिकरणलाई पत्र लेखेर चार्टर्ड एकाउन्टेन्ट संस्थामार्फत् बैङ्क रिकन्सिलेसन स्टेटमेन्ट तयार गर्नुपर्ने भन्दै १० लाख बजेट माग गरेको थियो ।

विमानस्थल कार्यालयका अनुसार एयर एसियाबाहेक अरु एयरलाइन्स र विभिन्न सङ्घसंस्थाले समेत १४ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम तिरेका छैनन् । बन्द भएका एयरलाइन्सबाट पनि लामोसमयदेखि बक्यौता रकम उठेको छैन ।

गल्फ एयरले २ करोड २२ लाख १३ हजार ४५ रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा नरहेका अस्ट्रियन एयरलाइन्सले ४३ हजार ६ सय, बर्मा एयरवेजले १ लाख ८६ हजार ८ सय ५०, लुफ्थान्सा एयरले १० लाख ६३ हजार ६ सय ४४, एयर सहाराले ३४ लाख ७८ हजार १ सय २६, बहराइन एयरले २४ लाख ६३ हजार ३ सय ७१, ओरियन्ट थाई एयरलाइन्सले ५ लाख ८९ हजार ८ सय १३, पाकिस्तान एयरलाइन्सले २६ लाख ८४ हजार २ सय ३८, सिङ्गापुर एयरलाइन्सले ५ लाख ५८ हजार १ सय २८ रुपैयाँ तिर्नुपर्ने रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी किङ्गफिसर एयरलाइन्सले १ करोड १५ लाख ९७ हजार ५ सय ६२, जीमएजी एयरलाइन्सले १ लाख ५९ हजार १ सय १, युनाइटेड एयर एडीएफले ३ हजार ५ सय ३० र युनाइटेड एयरवेजले १ लाख ६ हजार ५ सय ५५, तुई एयरलाइन्सले ९ लाख ५८ हजार ४ सय ९८, हङकङ एक्सप्रेसले १९ लाख ६२ हजार ९ सय ७८, यार्क एयरवेजले १ लाख ८३ हजार ७ सय ७२, स्काइलाइन एयरवेजले ७ लाख ३३ हजार २ सय ८०, एयर नेपालले ७८ हजार ८ सय ९७, एयर काष्ठमण्डपले ३ लाख २९ हजार २ सय ८४, अल्पाइन एयरले ७२ हजार ७ सय २८, मकालु एयरले ९४ हजार २ सय १८, कर्णाली एयरले १६ लाख ६४ हजार ५६, साङ्ग्रिला एयरले २ लाख ३७ हजार ९ सय ४४, अल्टिच्युड एयरले ३ लाख २९ हजार ९ सय ४५, माउन्टेन एयरले ५२ हजार २ सय ८१, नेपाल एयरवेजले ११ लाख ७९ हजार ३ सय २०, नेकन एयरवेज अन्तर्राष्ट्रियले ६२ लाख ८२ हजार ३ सय २२, नेकोन एयरवेज आन्तरिकले ४ करोड १० लाख २ हजार ७ सय ३०, हिमालय हेलिकप्टरले ६१ हजार ५ सय १८, कस्मिक एयरले ३ करोड ३३ लाख १२ हजार ९ सय ६, गरुड एयरले २७ हजार ४ सय ४० र गोरखा एयरलाइन्सले ६ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ कार्यालयलाई तिर्नुपर्ने छ । त्यसैगरी कार्यालयभित्र रहेका ४२ ओटा सङ्घसंस्था तथा रेस्टुराँहरूले २ करोड ९७ लाख ५७ हजार ५ सय १८ रुपैयाँ तिर्नपर्ने देखिएको कार्यालयले जानकारी दिएको छ ।