चन्द्रशमशेरको दरबार बन्यो ‘सर्भिस अपार्टमेन्ट’, स्तरीय होटलको सुविधा

सानेपामा रहेको करिब १०० वर्ष पुरानोे चन्द्रशमशेर राणाको दरबारलाई हाल सर्भिस अपार्टमेन्टका रुपमा विस्तार गरिएको छ । दरबारमै बस्ने–खानेसहित स्विमिङको मज्जा एवम् विभिन्न पार्टी तथा सेमिनारसमेत गर्न सकिने छ ।

काठमाडौं : पछिल्लो समय राणाकालीन दरबार लोप हुँदै गएको छ । विषेश गरी २०७२ सालमा गएको भूकम्पका कारण त्यस्ता दरबारहरु भत्किएका छन् भने केही संरक्षणको अभावमा लोप हुँदै गएका हुन् ।

नेपाली इतिहासमा राणाहरुको छुट्टै विषेशता छ । पछिल्ला पुस्ताका युवा युवतीहरुलाई ती दरबारका विषय इतिहास बनेको छ । तर दरबारमा बस्ने, दरबारमा गएर खाने र कार्यक्रम गर्ने इच्छा र आकाङ्क्षा भएकाहरुलाई राम्रो अवसरको रुपमा एलो दरबारले दिएको छ ।

सानेपामा रहेको करिब १०० वर्ष पुरानोे चन्द्रशमशेर राणाको दरबारलाई हाल सर्भिस अपार्टमेन्टका रुपमा विस्तार गरिएको छ । दरबारमै बस्ने–खानेसहित स्विमिङको मज्जा एवम् विभिन्न पार्टी तथा सेमिनारसमेत गर्न सकिने छ ।

एलो दरबारकी सञ्चालिका सुवर्णा श्रेष्ठले पुरानो दरबारलाई ‘सर्भिस अपार्टमेन्ट’का रुपमा विस्तार गरिएको बताइन् । ऐतिहासिक दरबारलाई संरक्षण गर्ने उद्देश्यले एलो दरबार सञ्चालनमा ल्याएको बताउँछिन् । त्यहाँ हाल ८ ओटा अपार्टमेन्ट, ५ ओटा कोठा र ३ ओटा स्टुडियो छन् ।

अपार्टमेन्टमा एक रात बसेको ४० देखि ६० डलरसम्म तिर्नुपर्छ । दरबारमा रहेका २ ओटा सेमिनार हलमा २५० जनालाई सहज रुपमा राख्न सकिन्छ भने दुइटा गार्डेनमा एकै पटक २ हजारभन्दा बढी व्यक्तिलाई भोजको आयोजना गर्न सकिने उनले बताइन् ।

नेपालीलाई रेष्टुरेन्ट तथा ‘सर्भिस अपार्टमेन्ट’ विदेशी पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको सञ्चालिका श्रेष्ठको भनाइ छ । ‘पछिल्लो समय नेपालमा विभिन्न प्रयोजनका लागि विदेशीहरु आउने गरेका छन् । आफैँ खाना बनाएर खान चाहनेहरुको सङ्ख्या बढेका कारण ‘सर्भिस अपार्टमेन्ट’को अवधारणा ल्याइएको हो,’ सञ्चालिका श्रेष्ठले भनिन्, ‘यस्तो व्यवस्था विषेश गरी विदेशमा बढी हुने गरेको छ ।’

उनीसँग श्रीलङ्काको कोलम्बोमा ‘सर्भिस अपार्टमेन्ट’ सञ्चालन गरेको अनुभव छ । यसभन्दा अघि उनले श्रीलङ्कामा ‘सर्भिस अपार्टमेन्ट’ सञ्चालन गरिसकेकी छन् । उनले अब छिटै इन्डोनेसियाको बालीमा पनि यस्तै ‘सर्भिस अपार्टमेन्ट’ खोल्ने तयारी गरिरहेको बताइन् ।

ट्राभल एजेन्सी र होम स्टे सञ्चालन गर्दैै आएकी श्रेष्ठले पर्यटन क्षेत्रमा अझै नयाँ काम गर्ने सोचका साथ ‘सर्भिस अपार्टमेन्ट’ सञ्चालनमा ल्याएको बताउँछिन् । उनले सो दरबारमा रहेका राणाहरुको डाइनिङ टेबलमै बसेर खाना र खाजा खाने व्यवस्था गर्न लागिएको बताइन् । पुराना संरचनाहरुलाई संरक्षण गर्न भन्दै राणाकालीन विभिन्न सामग्रीहरु सङ्कलन गरी राख्ने योजना रहेको श्रेष्ठको भनाइ छ ।

‘सर्भिस अपार्टमेन्ट’मा जिम, ब्याडमिन्टन, जुमा, लङटेनिस, तेक्वान्दो लगायतका खेलसमेत खेल्न पाइन्छन् ।