वायुसेवा निगमले आउँदो चैतभित्र साउदी अरबमा उडान गर्ने, जीएसी नियुक्तिको तयारी

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चैतभित्र वाइडबडी उडाउने योजनाका साथ आवश्यक तयारी गरिरहेको जानकारी दिए । उनले साउदीपछि दक्षिण कोरियामा उडानका लागि तयारी गरिरहेको बताए ।

काठमाडौं : आउँदो चैतभित्र नेपाल वायुसेवा निगम (एनएसी) ले साउदी अरेबियामा उडान गर्ने भएको छ । निगमको वाइडबडी जहाजले उडान गर्ने भएको हो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चैतभित्र वाइडबडी उडाउने योजनाका साथ आवश्यक तयारी गरिरहेको जानकारी दिए । उनले साउदीपछि दक्षिण कोरियामा उडानका लागि तयारी गरिरहेको बताए ।

नयाँ गन्तव्य खोजिरहेको निगमले चैतभित्र साउदी अरब उडाउने योजनाका साथ बिक्री प्रतिनिधि नियुक्तिको प्रक्रिया अघि बढाएको छ । सउदी अरबमा जीएसएका लागि प्रस्ताव आह्वान गरेको छ । निगमले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र प्यासेन्जर र कार्गो एजेन्टका लागि जीएसए प्रस्ताव पेस गर्न अनुरोध गरेको हो ।

रोजगारीका लागि अधिकांश नेपालीहरु साउदी अरबमा जाने गरेका छन् । नेपाली कामदारलाई लक्ष्य गरी निगमले वाइडबडी जहाज सञ्चालन गर्न लागेको खरेलको भनाइ छ । २ ओटा वाइडबडी खरिद गर्दा बनाइएको व्यावसायिक योजनामा साउदी अरबमा पनि जहाज उडाउने उल्लेख छ । तर आवश्यक तयारी पूरा नगरेकै कारण तत्काल जहाज उडाउन सकेको थिएन ।

निगमले आगामी माघभित्र जापान र फागुनभित्र चीनमा वाइडबडी जहाज उडाउने तयारी गरिरहेको छ । ती दुवै देशमा वाइडबडी ए ३३०–२०० विमानले उडान भर्ने छ । विमान भित्र्याउनुअघि नै बनाइएको व्यावसायिक योजनाअनुसार उडान गर्न नसकेपछि सर्वत्र आलोचना खेपिरहेको निगमले दुई ठूला देशमा उडान गर्न लागेको हो ।

विगतमा निगमले जापानमा जहाज उडान गरिसकेको छ । यस्तै नयाँ गन्तव्यका रुपमा निगमले चीनमा उडान सुरु गर्न लागेको हो । चीनबाट पछिल्लो समय धेरै पर्यटकहरु नेपाल आउने गरिरहेका बेला निगमले कन्चाउमा उडान भर्न लागेको हो ।

नेपालले हालसम्म ३९ ओटा देशमा हवाई सम्झौता गरिसकेको छ । नेपालले अस्ट्रिया, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाई, चीन, क्रोएसिया, इजिप्ट, फ्रान्स, जर्मनी, हङङ्कङ, भारत, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जेमबर्ग, मकाऊ, मलेसिया, माल्दिभ्स, म्यानमार, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, रसिया, साउदी अरेबिया, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड, नेदरल्याण्ड, यूएई, बेलायत, टर्की, भियतनाम, न्युजिल्यान्ड र कम्बोडियासँग हवाई सम्झौता गरिसकेको छ । निगमले हाल भारतको दिल्ली, बैङ्गलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।