निगमको दक्षिण कोरिया उडान बैशाखभित्र, जीएसएको जिम्मा प्यासिफिकलाई

पछिल्लो समय नेपाली युवाहरुको आकर्षक गन्तव्यका रुपमा विस्तार भएको कोरियामा साताको ३ पटक उडान भर्ने गरी आवश्यक तयारी गरिएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)ले आगामी बैशाखभित्र दक्षिण कोरिया उडान गर्ने भएको छ । निगमले कोरियाका लागि प्यासिफिक एयर एजेन्सीलाई बिक्री प्रतिनिधि (जीएसए) को जिम्मेवारी दिएको छ ।

पछिल्लो समय नेपाली युवाहरुको आकर्षक गन्तव्यका रुपमा विस्तार भएको कोरियामा साताको ३ पटक उडान भर्ने गरी आवश्यक तयारी गरिएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनले जीएसीको जिम्मेवारी दिएसँगै आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए ।

निगमले गत असार र साउनमा भित्र्याएको २ ओटा वाइडबडीमार्फत् कोरिया उडान भर्ने छ । वाइडबडीले लामो दूरीमा उडान नभरेको भन्दै चर्को आलोचना खेपिरहेका बेला जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा उडान भर्न लागेको छ । ती देशहरुमा धमाधम जीएसीका लागि प्रक्रिया अगाडि बढाइरहेको छ ।

यस्तै चैत्रभित्र साउदी अरबमा उडान गर्ने तयारी गरेको छ । निगमले केहि दिनअघि मात्र सूचना प्रकाशन गरी जीएसीका लागि प्रस्ताव आह्वान गरेको छ । यसैगरी माघमा जापान र फागुनभित्र चीनमा उडान भर्न निगमले तयारी तीव्र पारेको छ ।