निजी लगानीमा नेपालमै पहिलो ‘वाटर स्पोर्ट्स’ बेगनास तालमा बन्दै

५ जना युवाहरुको संयुक्त लगानीमा निर्माण हुन लागेको सो वाटर स्पोर्ट्सको काम आउँदो ६ महिनाभित्र सञ्चालनमा आउने सञ्चालक शाक्यको भनाइ छ । ह्यान्डिक्राफ्ट र होटल सञ्चालन गर्दै आएका समूहले नै बेगनासतालमा वाटर स्पोर्ट्स सञ्चालन गर्न लागेका हुन् ।

काठमाडौं : निजी लगानीमा नेपालमै पहिलो जलक्रीडा (वाटर स्पोटर््स) स्थल निर्माण हुने भएको छ । आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई लक्षित गरी पोखराको बेगनासतालमा आउँदो असारभित्रमा वाटर स्पोटर््स सञ्चालनमा आइसक्ने भएको छ ।

बेगनास एडभेन्चर पार्क प्रालिले निर्माण गर्न लागेको सो वाटर स्पोर्ट्सका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (ईआईए)को काम हुँदै छ । यसका लागि कम्पनीले क्षेत्र निर्धारण गर्न बुधबार सार्वजनिक सूचना जारी गरेको छ । १ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको वाटर स्पोर्ट्स नेपालमै पहिलो रहेको सञ्चालक राजु शाक्यले जानकारी दिए ।

५ जना युवाहरुको संयुक्त लगानीमा निर्माण हुन लागेको सो वाटर स्पोर्ट्सको काम आउँदो ६ महिनाभित्र सञ्चालनमा आउने सञ्चालक शाक्यको भनाइ छ । ह्यान्डिक्राफ्ट र होटल सञ्चालन गर्दै आएका समूहले नै बेगनासतालमा वाटर स्पोर्ट्स सञ्चालन गर्न लागेका हुन् । पोखरा आउने पर्यटकहरुको बसाइ लामो बनाउन र ताल वरिपरिको सौन्दर्यको भरपुर मनोरञ्जन लिन उपयुक्त हुने सञ्चालक शाक्यको दाबी छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–३१ (सिसुवा)मा पर्ने बेगनासतालमा वाटर स्पोर्ट्ससम्बन्धी गतिविधिहरु सञ्चालन गर्न वातावरण संरक्षण नियमावली, २०५४ नियम ३, अनुसूची २ (अ ः३) अनुसार वातावरणीय दृष्टिकोणले संवेदनशील सिमसार क्षेत्रमा पर्ने भएकाले ईआईए अध्ययनका लागि क्षेत्र निर्धारण गर्न सार्वजनिक सूचना प्रकाशन गरेको हो ।

वाटर स्पोटर््समा तालको वरिपरि साइक्लिङ, वाटर भलिबल, वाटर जोब्रिङ, स्पट फिसिङ, जङ्गल वाकिङ, वर्ड वाचिङ, एक्वाजगिङ, वाटर पोलो, स्ट्यान्ड अप पेडलिङ, ओपन वाटर स्विमिङ, ल्याक क्याम्पिङ, फ्लोटिङ रेस्टुरेन्ट, एयर जेट, वाटर बोट, रिसोर्टलगायत गतिविधि सञ्चालन हुनेछन् ।

वाटर स्पोटर््स सञ्चालन गर्दा त्यस क्षेत्रमा पर्ने असरहरुको विषयमा रायसुझाव १५ दिनभित्रमा पेस गर्न सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ । बेगनास आसपासका बस्ती, विद्यालय, अस्पताल र संघसंस्थाले रायसुझाव पेस गर्न पाउनेछन् । बेगनास एडभेन्चरको परामर्शदाता सेन्ट्रल बिजनेस पार्क थापाथली रहेको छ ।