अधिकांश बिमा कम्पनीले न्यूनतम पुँजी पुर्याउन सकेनन्, ६ महिना समय थप्न माग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समितिले तोकेको चुक्ता पुँजी पुर्याएको छ । यस्तै नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाहेकका कम्पनीलाई पुँजी वृद्धि गर्न हम्मेहम्मे परेको छ ।

काठमाडौं : बिमा कम्पनीहरुले निर्धारित समयमा चुक्ता पुँजी पुर्याउन नसकेपछि थप ६ महिनाको समय माग गरेका छन् । बिमा समितिले तोकेअनुसारको पुँजी वृद्धि गर्न नसकेपछि कम्पनीहरुले थप ६ महिनाको समय माग गरेका हुन् । कम्पनीहरुलाई समितिले चुक्ता पुँजी पुर्याउनका लागि तीन/तीन महिना गरी ६ महिनाको समय थप गरिसकेको छ ।

समितिले आर्थिक वर्ष २०७५ असार मसान्तसम्म पुँजी जुटाउन कम्पनीहरुलाई निर्देशन दिएको थियो । तर, उक्त समयमा पुँजी जुटाउन नसकेपछि बिमा कम्पनीलाई समितिले पुँजी वृद्धिका लागि तीन/तीन महिना गरी ६ महिनाको समय थप गर्दै पुस मसान्तसम्म पुँजी पुर्याउन भनेकाे थियो । तर, बिमा कम्पनीहरूले थपिएकाे समयमा पनि पुँजी जुटाउन नसकेका कम्पनीहरुले अर्को ६ महिनाको समय थप गरिनुपर्ने माग गरेका छन् । नेपाल बिमक सङ्घले समितिलाई बुझाएको सुझावअनुसार २ आगामी वर्ष २०७६ असार मसान्तसम्मको समय थप गर्नुपर्नेछ ।

समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब तथा निर्जीवन बिमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर, समितिले दिएको निर्देशनअनुसार चुक्ता पुँजी वृद्धि गर्नलाई बिमा कम्पनीहरुलाई हम्मेहम्मे परको हो । यस्तै बिमा कम्पनीहरुले पुँजी वृद्धि गर्न नसक्नुको कारण आर्थिक वर्ष २०७५/७६ देखि लागू भएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) भएको बताएका छन् । कम्पनीहरुले साधारणसभासमेत बोलाउन सकेका छैनन् ।

हालसम्म तीन निर्जीवन बिमा कम्पनी तथा एक जीवन बिमा कम्पनीबाहेक अन्यले समय थप गर्दा पुँजी वृद्धि गर्न सकेका छैनन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समितिले तोकेको चुक्ता पुँजी पुर्याएको छ । यस्तै नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाहेकका कम्पनीलाई पुँजी वृद्धि गर्न हम्मेहम्मे परेको छ । नयाँ आएका बिमा कम्पनीहरुमा भने यो निर्देशन लागू हुँदैन ।