५० रुपैयाँका दरका साढे ११ अर्बको २३ करोड प्रति नोट छाप्न राष्ट्र बैङ्कको तयारी, ग्लोबल टेन्डर आह्वान

मुलुकमा सेक्युरेटी प्रेस नहुँदा राष्ट्र बैङ्कले विदेशबाट नोट छापेर ल्याउने गरेको छ । नोट छपाइमा मात्रै अर्बाैं रुपैयाँ बिदेसिने गरेको छ । केन्द्रीय बैङ्कले अधिकांश नोट सिङ्गापुर र इन्डोनेसियामा छाप्ने गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले साढे ११ अर्ब रुपैयाँबराबरको नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैङ्कले ५० रुपैयाँ दरका २३ करोड प्रति नोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्नका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ ।

राष्ट्र बैङ्कले नोट डिजाइन, छपाइ र आपूर्तिका लागि फागुन ६ गते बोलपत्रे पेश गर्ने अन्तिम मिति तोकेको छ । यसअघि पनि केन्द्रीय बैङ्कले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँबराबरको ४० करोड थान नोट छाप्ने काम अघि बढाइसकेको छ ।

मुलुकमा सेक्युरेटी प्रेस नहुँदा राष्ट्र बैङ्कले विदेशबाट नोट छापेर ल्याउने गरेको छ । नोट छपाइमा मात्रै अर्बाैं रुपैयाँ बिदेसिने गरेको छ । केन्द्रीय बैङ्कले अधिकांश नोट सिङ्गापुर र इन्डोनेसियामा छाप्ने गरेको छ ।

डलर विदेशमा जान रोक्नका लागि सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चर जडानको तयारीमा जुटेको छ ।

केन्द्रले इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चरको आपूर्ति, जडान र सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ । सेक्युरिटी प्रेस राख्नुअघिको पूर्वतयारी सुरु भएको हो । सेक्युरिटी प्रेस ३ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी सरकारको छ । सेक्युरिटी प्रेसले कागजी नोट, राहदानी, चेकबुक र बायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइ गर्नेछ । हाल बैङ्क नोट, राहदानी, बैङ्कका चेकलगायत सुरक्षण सम्बन्धित सम्पूर्ण छपाइ विदेशमा हुने गरेको छ ।

दुई वर्षअघि नै प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा लगानी बोर्डको २४ औं बैठकले नोट, चेकबुकलगायत अन्य सुरक्षण छपाइका लागि नेपालमै सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो ।