हाइफ्लाइ एक्स र एयरबसबीचको सम्झौतापत्र लेखा समितिमा बुझाउन महाप्रबन्धक कंसाकारको अटेर

लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले पटक पटक हाईफाई एक्स र एयरबसबीच भएको सम्पूर्ण सम्झौतापत्र बुझाउन ताकेता गर्दा पनि हालसम्म नबुझाएको जानकारी दिए । निगमले खरिद गरेका दुई ओटा वाइडबडी जहाज हाईफाई एक्ससँग खरिद गरेको थियो ।

काठमाडौं : नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सार्वजनिक लेखा समितिलाई हाइफ्लाइ एक्स र एयरबसबीच भएको सम्झौतापत्र बुझाउन अटेर गरेका छन् ।

लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले पटक पटक हाइफ्लाइ एक्स र एयरबसबीच भएको सम्पूर्ण सम्झौतापत्र बुझाउन ताकेता गर्दा पनि हालसम्म नबुझाएको जानकारी दिए । निगमले खरिद गरेका दुई ओटा वाइडबडी जहाज हाईफाई एक्ससँग खरिद गरेको थियो ।

निगमलाई जहाज बिक्रीकै लागि हाईफाई एक्स नामक कम्पनी खडा गरिएको थियो । एयरबसबाट जहाज खरिद गरी हाइफ्लाइ एक्सले एनएसीलाई जहाज बिक्री गरेको पाइएपछि समितिले सिधै एयरबससँग किन जहाज खरिद नगरेको भन्दै प्रश्न उठाएका थिए ।

यसैबीच निगमका महाप्रबन्धक कंसाकारले हाईफाई एक्स र एयरबसबीच भएको सबै सम्झौतापत्र आफूसँग नभएको र भएका पत्रहरु सबै बुझाएको जानकारी दिए । उनले दुई व्यवसायीबीच भएका सबै सम्झौता आफूहरुलाई पनि थाहा नभएको प्रतिक्रिया दिए ।

जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखा समितिले महाप्रबन्धक कंसाकारसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई निलम्बन गर्न र थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सोमबार निर्देशन दिएको छ । समितिले जहाज खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको ठहर गरेको छ ।