भारतको ओरियन्टल इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीको सेयर लिन गर्यो अस्वीकार, सरकारले खरिद गर्ने

ओरियन्टलको समेत लिएपछि पुनर्बिमामा सरकारको स्वामित्व बढेर ४४.०३ प्रतिशत स्वामित्व पुगेको छ । यसअघि सरकारको ४३.५५ प्रतिशत थियो । पुनर्बिमाको सेयर नकिन्नेमा ओरियन्टल मात्र भएको छ । नेपालमा जीवन र निर्जीवन बिमा व्यवसाय गरिरहेका सबै कम्पनीले नेपाल पुनर्बिमाको सेयर खरिद गरिसकेका छन् ।

काठमाडौं : भारतको ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सेयर खरिद गर्न अस्वीकार गरेको छ । उसले आफ्नो भागमा परेको सेयर नकिनेपछि सोबराबरको स्वामित्व सरकारले लिएको छ ।

ओरियन्टलले नेपाल पुनर्बिमा कम्पनीको ०.४८ प्रतिशत सेयर खरिद गर्ने सहमति जनाएको थियो । ओरियन्टलले खरिद गर्न नमानेपछि बाँकी स्वामित्व सरकारले लिएको पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । सञ्चालक समितिले निर्णय नगरेपछि ओरियन्टलको खरिद प्रक्रिया रोकिएको उनले जानकारी दिए ।

ओरियन्टलको समेत लिएपछि पुनर्बिमामा सरकारको स्वामित्व बढेर ४४.०३ प्रतिशत स्वामित्व पुगेको छ । यसअघि सरकारको ४३.५५ प्रतिशत थियो । पुनर्बिमाको सेयर नकिन्नेमा ओरियन्टल मात्र भएको छ । नेपालमा जीवन र निर्जीवन बिमा व्यवसाय गरिरहेका सबै कम्पनीले नेपाल पुनर्बिमाको सेयर खरिद गरिसकेका छन् ।

साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बिमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको उनले जानकारी दिए । बाँकी १ अर्ब ६० करोड रुपैयाँ साधारण सेयर (आईपीओ) निष्कासन गरेर जुटाउने भएको छ । कम्पनीको हालै सम्पन्न विशेष साधारणसभाले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको छ । आईपीओ निष्कासनको बाटो खुला भएको र यसका लागि प्रक्रिया सुरु गर्ने भण्डारीले बताए । यो वर्षभित्र आईपीओ ल्याउने उनले सुनाए ।

कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँबराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आईपीओ निष्कासन गर्न आरबीबी मर्चेन्ट बैङ्किङ लिमिटेड नियुक्त गरिसकेको छ ।

कम्पनीको पुँजी १० अर्ब रुपैयाँ छ । पुनर्बिमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहने गरी संरचना तयार पारिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको छ । आईपीओ निष्कासनपछि मात्र कम्पनीले नाफा वितरण गर्नेछ । यो वर्ष नाफा बढाएर दोब्बर अर्थात् २ अर्ब रुपैयाँ पुर्याउने भण्डारीले जानकारी दिए ।