नेपाल वायुसेवा निगमले आउदो फेब्रुअरीभित्र काठमाडौं–टोकियो उडान गर्ने, जापानमा उडाउने तयारी अन्तिम चरणमा

निगमले हाल साताको ३ पटक उडान भर्ने गरी योजना अघि सारेको छ । जापान पछिल्लो समय धेरै नेपाली विद्यार्थीहरुको आकर्षण गन्तव्यको रुपमा विकास भएको छ । त्यस्तै रोजगारीको लागि नेपालीहरुलाई पनि जापान सरकारले लिने तयारी गरिरहेको बेला निगमले वाइडबडी विमान मार्फत उडान भर्न लागेको हो ।

काठमाडौं । नेपाल वायुसेवा निगमले आउदो फेब्रुअरीभित्र काठमाडौं–टोकियो उडान सुरु गर्ने भएको छ । नेपाल र जापानबीचको हवाई सम्झौता पुनरावलोकन गर्ने विषयमा सम्झौता भएको भोलिपल्ट निगमले दुई महिनाभित्र टोकियो उडान गर्ने योजना बनाएको हो ।

जापानका विदेश मन्त्री तारो कोनो र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीबीच भएको हवाई सम्झौताले आगामी फ्रेब्रुअरीबाट निगमको जहाज उडाउन बाटो खुलेको हो ।

नेपाल र जापानबीच २५ वर्षअघि भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । निगमका सह प्रवक्ता नवराज कोइरालाले दुई देशबीच भएको सम्झौताले हवाई उडानको लागि सहज भएको प्रतिक्रिया दिएका छन् । उनले आगामी फ्रेब्रुअरी भित्रमा निगमको जहाज जापानमा उडाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले जापानमा बिक्रि प्रतिनिधि(जीएसए)को लागि प्रस्ताव आब्हान भइसकेको र छिट्टै नियुत्ति गर्ने जानकारी दिए ।

केही देशमा जीएसए बिनै निगमले उडान भरिरहेकोले जापानमा पनि त्यही अनुसार उडान हुन सक्ने उनको भनाइ छ । निगमले हाल साताको ३ पटक उडान भर्ने गरी योजना अघि सारेको छ । जापान पछिल्लो समय धेरै नेपाली विद्यार्थीहरुको आकर्षण गन्तव्यको रुपमा विकास भएको छ । त्यस्तै रोजगारीको लागि नेपालीहरुलाई पनि जापान सरकारले लिने तयारी गरिरहेको बेला निगमले वाइडबडी विमान मार्फत उडान भर्न लागेको हो ।

भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भित्राउने तयारी गरिरहेको बेला निगमले जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा उडान भर्न लागेको छ । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाली राष्ट्रिय ध्वजाबाहक जहाजले उडान नभरेसम्म बाहिरी देशका पर्यटक ल्याउन गाह्रो हुने बताउदै आएका छन् । उनले भ्रमण बर्ष अघिनै धेरै मुलुकमा उडान भर्ने बताउदै आएका छन् ।