लुम्बिनीमा खुल्यो पहिलो पाँचतारे होटल ‘पवन प्यालेस’, २ अर्ब लगानी

लुम्बिनीमा सुविधासम्पन्न होटल नभइरहेका बेला पर्यटकको मागलाई मध्यनजर गर्दै भैरहवाका व्यवसायी पवन हलुवाई र राजीव बेरिवालले २ अर्ब रुपैयाँ लगानी गरेर सो होटल सञ्चालनमा ल्याएको बताए ।

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पहिलो पटक पाँचतारे होटल ‘पवन प्यालेस’ सञ्चालनमा आएको छ । लुम्बिनी आउने बाह्य एवम् आन्तरिक पर्यटकलाई लक्ष्य गरी निर्माण गरिएको सो होटल आंशिक रुपमा सञ्चालनमा आएको हो ।

लुम्बिनीमा सुविधासम्पन्न होटल नभइरहेका बेला पर्यटकको मागलाई मध्यनजर गर्दै भैरहवाका व्यवसायी पवन हलुवाई र राजीव बेरिवालले २ अर्ब रुपैयाँ लगानी गरेर सो होटल सञ्चालनमा ल्याएको बताए । हलुवाई पाँच दशकदेखि भैरहवामा पवन मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन् भने बेरिवाल प्लाइउड र सिसा उद्योगी हुन् ।

होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केविन माले होटलमा डिलक्स, डिलक्स किङ, स्ट्यान्डर्ड ट्विन, स्ट्यान्डर्ड किङ, सुइट र प्रेसिडेन्सियल सुइट रुम गरी ६ स्तरका कोठा निर्माण गरिएको जानकारी दिए । २०७१ सालमा निर्माण सुरु भएको होटेलको साततले भवनसहित अन्य संरचनाहरु चार वर्षमा तयार भएका हुन् ।

होटलमा १५० ओटा कोठा, ३ ओटा रेष्टुरेन्ट, दुइटा बार, ५०० र १०० जना क्षमताका गरी २ ओटा कन्फेरेन्स हल, स्विमिङ पुल तथा हेल्थ क्लब बन्दैछन् । होटलका सञ्चालक पवन हलुवाईले होटलको संरचना बनिरहेको बताउँदै पुस २६ देखि २८ गतेसम्म लुम्बिनीमा सम्पन्न बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टमा आएका विदेशी पर्यटन व्यवसायीलाई लक्ष्य गरी आंशिक सञ्चालन गरिएको जानकारी दिए ।

लुम्बिनी भ्रमणमा आउने धेरै पर्यटक सुविधासम्पन्न होटल नभएकै कारण बिहान आएर बेलुका फर्किने गरेको बेला पाँचतारे होटल सञ्चालनमा आएपछि यहाँको बसाई लम्बिने त्यहाँका होटल व्यवसायीहरुको भनाइ छ । पर्यटकलाई जति धेरै दिन राख्न सक्यो पर्यटन व्यवसायीलाई उति टेवा पुग्ने पवन होटलका अर्का सञ्चालक राजीव बेरिवालले बताए ।

उता लुम्बिनीलाई लक्ष्य गरी भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले विश्वकै सबैभन्दा अग्लो बुद्धमूर्ति बनाउने घोषणा गरेका छन् भने लुम्बिनीक्षेत्र तथा प्रदेशका अरु पर्यटकीयस्थलको प्रचार प्रसार गर्ने उद्देश्यले प्रदेश ५ ले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ ।

यसै प्रसङ्गमा गौतम बुद्ध विमानस्थल आगामी सेप्टेम्बरभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । लुम्बिनीलाई पर्यटकीय हब बनाउन विमानस्थलले धेरै सहयोग पुग्ने मन्त्री अधिकारीको भनाइ छ । विमानस्थल सञ्चालनको तयारीसँगै विभिन्न देशका एयरलाइन्सहरुले सीधा उडानका लागि इच्छा व्यक्त गरेको बताएका छन् । विमानस्थललाई नै टार्गेट गरी पछिल्लो समय सुविधासम्पन्न होटलहरु निर्माण हुन थालेको व्यवसायीहरुको भनाइ छ ।