कहिलेसम्म नेप्सेको गुन्डाराज !

सोमबारको सूचक जलविद्युत् समूहका कारण उकालो लागेको देखिन्छ । जब तामाकोेसीको कारोबार प्रणालीबाट हटाइन्छ त्यसपछि जलविद्युत् समूहको वास्तविक बृद्धि वा कमी के हो भन्ने देखिन्छ । त्यतिबेला मात्र बजार बढेको वा घटेको भन्ने स्थिति बन्छ । सोमबार जलविद्युत् समूह १७७.०७ अङ्कले बढेको देखिन्छ ।

आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक (नेप्से) ११७५.०५ अङ्कमा बन्द भएको थियो । तर, सोमबारको कारोबार भने नेप्सेले एकै पटक ११८३.३७ बिन्दुबाट अघि बढेको देखाएको छ । यद्यपि दिनभरिको कारोबारमा नेप्से सूचक ११.७४ अङ्कले बढेर ११८६.८ अङ्कमा रोकिएको देखिन्छ । यसले नै नेप्सेको विश्वसनीयतामा प्रश्न खडा गरेको छ ।

त्यतिमात्रै होइन नेप्सेले सोमबारै अपर तामाकोसीको सेयरमूल्य एकाएक ५० प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ३६ रुपैयाँमा कारोबार भएको र त्यस्तो कारोबार अमान्य भएकाले रद्द गरिएको सूचना सम्प्रेषण गरेको छ । तामाकोसीको सेयर आइतबार प्रतिकित्ता २ सय २४ रुपैयाँमा कारोबार भएको थियो ।

कुनै पनि कम्पनीको सेयरमूल्य एक दिनमा १० प्रतिशतभन्दा बढी बढे ‘सर्किट ब्रेक’ लाग्छ । अझ चाप देखिए कारोबार स्वतः बन्द हुन्छ । तर, तामाकोसीको हकमा त्यस्तो लागू भएन, र १४ हजारभन्दा बढी कित्ता आइतबारको तुलनामा ५० प्रतिशत मूल्य बढेर कारोबार भयो । अर्कोतिर सेयर खरिद र बिक्रीको आदेश दिँदा नै अघिल्लो दिनभन्दा २ प्रतिशतभन्दा बढी बढेर वा घटेर खरिद बिक्री आदेश दिन पाइँदैन र यस्तो आदेश आए पनि प्रणालीले स्वीकार गर्न सक्दैन । त्यसैले नेप्सेको कारोबार प्रणालीमा एकाएक ५० प्रतिशत बढ्दा पनि नियमित कारोबार हुनु नेप्सेको गम्भीर लापरवाही मात्रै होइन मिलेमतो गरेरै सोमबारको कारोबारलाई निस्तेज बनाउन खोजिएको देखिन्छ ।

यस्ता गतिविधिबाट नेप्से लगानीमाथी धावा बोलिरहेको छ भन्ने देखिन्छ । धितोपत्रको दोस्रो कारोबारस्थलका रुपमा नेप्से एक्लैले काम गरेकाले पनि यस्ता घटना पटक पटक दोहोरिँदै आएका छन् र आगामी दिनमा पनि दोहोरिइरहने छन् । यस्ता गतिविधिले नेप्से सूचक पनि ‘म्यानिपुलेट’ भइरहेको छ भन्ने आशङ्का जन्माउँछ । नेप्सेले प्राविधिक समस्या हो र छिट्टै सल्टाउँछौं भन्ने आधारमा मात्रै छोडियो भने निरन्तर लगानीकर्ता नेप्सेबाटै ठगिइरहने छन् ।

नेप्से एकै पटक १० प्रतिशतभन्दा बढी मूल्य राख्दा पनि कारोबार गर्न मिल्ने गरी कसरी प्रणाली विकास गरियो र यसअघि १० प्रतिशतको ‘सर्किट ब्रेक’लाई विश्वास गर्ने आधार के ? यस्ता विषयलाई प्राविधिक कारण भनेर मात्रै नेप्से उम्किन पाउँदैन र दिनु पनि हुँदैन । मूल्यमा फेरबदल तामाकोसीमै किन देखियो ? यस्तो प्राविधिक समस्या अरु कम्पनीमा किन आएन ? एउटा मात्र कम्पनीमा कसरी समस्या आयो ? फेरि यो प्रकरण न पहिलो हो, न अन्तिम नै । त्यसैले किन यस्तो गम्भीर लापरवाही गरियो भन्ने बारेमा नियामक नेपाल धितोपत्र बोर्डले तत्काल ‘एक्सन’ लिनुपर्छ र दोषीलाई कारवाहीको भागीदार बनाउनुपर्छ । लगानीकर्ताको हित रक्षार्थ बसेको बोर्डले यथार्थ के हो लगानीकर्तालाई सूचित गर्नुपर्छ । नेप्से व्यवस्थापन र कर्मचारीलाई यसबारे राम्रो पाठ नसिकाए यस्ता घटना बारम्बार घटिरहन्छन् र लगानीकर्ता एकपछि अर्को गर्दै डुबिरहन्छन् । प्रणाली आँफै चलायमान हुँदैन । त्यसलाई प्रयोग गर्ने छुट्टै संयन्त्र पनि हुन्छ ।

अपर तामाकोसीको ‘मार्केट डेब्थ’ हेर्दा पनि प्राविधिक समस्या भनेर मात्रै उम्किने स्थिति देखिँदैन । १४ हजारभन्दा बढी कित्ता कारोबार भइरहँदा पनि नेप्सेले अन्देखा गरिरहेको पाइन्छ र त्यसपछि मात्रै कदम चाल्न खोजेको प्रतित हुन्छ । यद्यपि नेप्सेले रद्द गरिएको भनेको तामाकोसीको सेयर कारोबार साढे ५ बजे तथ्याङ्कबाट हटाएको छ । तर, त्यसअनुरुपको सूचक भने छैन । सोमबारको सूचक जलविद्युत् समूहका कारण उकालो लागेको देखिन्छ । जब तामाकोेसीको कारोबार प्रणालीबाट हटाइन्छ त्यसपछि जलविद्युत् समूहको वास्तविक बृद्धि वा कमी के हो भन्ने देखिन्छ । त्यतिबेला मात्र बजार बढेको वा घटेको भन्ने स्थिति बन्छ । सोमबार जलविद्युत् समूह १७७.०७ अङ्कले बढेको देखिन्छ ।

यस्ता प्रकरणले नेप्से आँफै सेयर मूल्य बढाउन वा घटाउन उद्यत छ भन्ने देखाउँछ । मूल्यमा आँफै चलखेल गर्ने र जनस्तरबाट विरोध आयो भने कारोबार बन्दको घोषणा गर्ने, नभए कारोबार नियमित गराउने त गर्दैन भन्ने लगानीकर्ताको आशङ्कालाई यस्ता घटनाले मलजल गर्छ नै । आइतबारको कारोबारमा पनि तामाकोसीको सेयर क्रेता मात्रै थिए । विक्रेता थिएनन् ।

सोमबारको घटनामा प्रणालीको मात्र कमजोरी हो भन्ने ठाउँ रहँदैन । त्यसो भन्ने हो भने अहिलेको कारोबार प्रणाली नै काम छैन । नयाँ प्रणाली लागू नगरेसम्म कारोबार बन्द गरे हुन्छ । यसमा नेप्सेका कर्मचारीकै बढी हात हुन्छ र त्यसमा उच्च व्यवस्थापक पनि तानिन्छन् । सफ्टवेयर निर्माताको बदमासी हो भने त यो प्रणाली भर्खरै सुरु भएको पक्कै होइन । नियमित कारोबारको वास्तविक विवरण नदेखिने, मूल्य र मागको यथार्थ विवरण नदेखिनेजस्ता समस्या नेप्सेको प्रणालीमा कायमै छ । यस्ता विवरण यथार्थपरक नहुनुमा नेप्सेकै कर्मचारीको मिलेमतो नभई सम्भव छैन । यस्ता विषयमा नियामक र सरकारले गम्भीर अनुसन्धान गरेर लगानीकर्तालाई वास्तविक जानकारी दिनुपर्छ । होइन भने यस्ता गतिविधिले लगानीकर्ता सधैं खुकुरीको धारमा बस्नुपर्ने हुन्छ । ढुक्कले लगानी गरेको छु भनेर बस्ने वातावरण नै बन्दैन ।

गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको अहिले अनलाइन कारोबार प्रणालीमा भएका प्राविधिक समस्या समाधान भएको नेप्सेले त्यतिबेलै दाबी गरेको थियो । नेप्सेले नयाँ प्रणाली निर्माणकर्ता वाईको नेपाल, नेप्से र धितोपत्र दलाल व्यवसायीको त्रिपक्षीय समन्वयमा प्रणालीमा देखिएको जटिलता समाधान भएको र निर्धक्क भएर लगानीकर्तालाई त्यतिबेलै लगानी गर्न आह्वान गरेको थियो । यस्तो स्थितिमा फेरि प्राविधिक समस्या भनेर उम्किने ठाउँ रहन्छ र ! सधैं प्राविधिक समस्या आउने भए यस्तो प्रणाली किन प्रयोग गर्नु ? लगानीकर्ता नेप्सेले ठीक ठानेका बेला मात्र कारोबार गर्ने भेडी गोठाला हुन् ?