भारतले हवाई रुट नदिएपछि पर्यटनमन्त्री अधिकारी पुगे दिल्ली, होला त सहमति ?

गत असार २ गते भएको सहमतिअनुसार भारतले नेपाललाई थप ३ ओटा हवाई रुट दिने भएको थियो । तर, भारतीय विमानन प्राधिकरणले प्राविधिक विषय नमिलेको भन्दै तत्काल थप हवाई रुट दिन नसक्ने जवाफ क्यानलाई दिएको थियो । हाल नेपाललाई भारतले एउटा रुट मात्र दिएको छ ।

काठमाडौं । यसअघि भएको सम्झौताबमोजिम नेपाललाई थप हवाई रुट दिन भारतले अस्वीकार गरेपछि छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी आफैं नयाँदिल्ली गएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय विमानन प्राधिकरणबीच भएको सहमतिअनुसार थप हवाई रुट नदिने भएपछि खुलाउन मन्त्री अधिकारी आफैं थप छलफलका लागि भारत गएका हुन् ।

गत असार २ गते भएको सहमतिअनुसार भारतले नेपाललाई थप ३ ओटा हवाई रुट दिने भएको थियो । तर, भारतीय विमानन प्राधिकरणले प्राविधिक विषय नमिलेको भन्दै तत्काल थप हवाई रुट दिन नसक्ने जवाफ क्यानलाई दिएको थियो । हाल नेपाललाई भारतले एउटा रुट मात्र दिएको छ ।

आगामी सेप्टेम्बरभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारी भइरहेका बेला थप हवाई रुट नदिँदा समस्या पर्ने भन्दै पर्यटनमन्त्री आफैं भारतीय पक्षसँग छलफलका लागि सोमबार दिल्ली गएका हुन् । पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले हवाई रुटको विषयमा छलफलकै लागि मन्त्री अधिकारी भारत भ्रमणमा गएको बताएका छन् । मन्त्री अधिकारीसहित मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, क्यानका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारतमा गएका छन् ।

असारमा भएको सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश बिन्दुका लागि काठमाडौदेखि विराटनगर तथा जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गने सक्ने उल्लेख गरिएको थियो ।

यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि वर्तमान काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको आधारमा लागू गर्ने छ । यस्तै पूर्वतर्फ काठमाडौ–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको अधारमा लागू गर्ने सहमति भएको थियो ।

यसैगरी भावी अन्तर्राष्ट्रिय विमानस्थलहरु गौतमबुद्ध, पोखरा र निजगढमा बढी उचाइमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानका लागि पश्चिममा नेपालगञ्ज तथा महेन्द्रनगरबाट प्रवेशमार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्षले सेप्टेम्बर २०१८ भित्र विस्तृत प्राविधिक मूल्याङ्कनको काम सम्पन्न गर्ने सहमति भएको थियो । तर सहमतिअनुसार भारतीय पक्षले रुट नदिने भएपछि नेपाली पक्ष थप अन्यौलमा परेको छ ।

यस्तै मन्त्री अधिकारीले भारत भ्रमणमा रहँदा हवाई रुटसहित भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउने विषयमा पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् ।