नेपालले भन्याे- सरकारमार्फत कामदार पठाऊँ

कामदार पठाउने प्रक्रिया टुङ्ग्याउन नेपाल र जापानले प्राविधिक समूह गठन गरेको थियो । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेतृत्व गरेका थिए भने जापानबाट भने न्याय मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

काठमाडौं : नेपालले जापानमा सरकारमार्फत कामदार पठाउने प्रस्ताव राखेको छ । भाषा परीक्षामार्फत वर्किङ भिसामा जापानले कामदार लैजाने भएपछि आवश्यक प्रक्रियाका लागि बुधबार दुईपक्षीय छलफल भएको थियो ।

कामदार पठाउने प्रक्रिया टुङ्ग्याउन नेपाल र जापानले प्राविधिक समूह गठन गरेको थियो । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेतृत्व गरेका थिए भने जापानबाट भने न्याय मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

म्यानपावरबाट कामदार पठाउँदा ठगी हुने समस्या धेरै भएको कारण सरकारमार्फत नै कामदार पठाउन प्रस्ताव राखिएको सहसचिव घिमिरेले जानकारी दिए । यस्तै जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्य, मान्यताअनुसार सेवासुविधा पाउनुपर्नेलगायत प्रस्ताव राखिएको उनले बताए ।

नेपालका तर्फबाट राखेको प्रस्तावमा जापानी टोली सकारात्मक देखिएको सहसचिव घिमिरेको भनाइ छ । उनले नेपालले राखेको प्रस्तावमा उनीहरुले पुनः छलफल गर्ने र केही समयपछि निर्णय आउने बताए । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने भएकाले पहिलो चरणमा सबै देशमा छलफल अगाडि बढाएको छ ।

दक्षिण कोरियाले भाषा परीक्षामार्फत नेपाली कामदार लगिरहेको छ । जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जसमा निर्माणसहित चौध किसिमका उद्योगलाई पहिलो श्रेणीमा राखिएको छ  । नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ  । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।

आगामी पाँच वर्षका निम्ति ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेको जनाइएको छ । नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने उल्लेख छ ।