श्रममन्त्री गोकर्ण  विष्टले २० जना युवालाई श्रम स्वीकृति दिएर मलेसिया खुलाए

श्रम मन्त्रीले दिएको निर्देशनसँगै करिब ९ महिनादेखी बन्द भएको मलेसियाको रोजगारी आंशिक खुलेको हो । यस अघि व्यक्तिगत श्रम स्वीकृती लिएर जाने कामदारको लागि पनि मलेसिया बन्द गरिएको थियो ।

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शुक्रबार २० जनालाई श्रम स्वीकृति दिने निर्देशन दिएपछि नेपाली कामदार मलेसिया पुगेका छन् ।

श्रम मन्त्रीले दिएको निर्देशनसँगै करिब ९ महिनादेखि बन्द भएको मलेसियाको रोजगारी आंशिक खुलेको हो । यसअघि व्यक्तिगत श्रम स्वीकृति लिएर जाने कामदारका लागि पनि मलेसिया बन्द गरिएको थियो ।

उनीहरु श्रम मन्त्रालयले कारबाही गरेको भीएलएन, वान स्टेप सेन्टर र बायोमेट्रिकमार्फत नै प्रक्रिया मिलाएर मलेसिया पुगेका हुन् । मलेसिया जाने कामदारमा कुमार लामा, शान्तबहादुर राना मगर, श्यामकुमार लामा, कर्णबहादुर श्याङ्बो, हर्ला थारु चौधरी, गरुणप्रसाद चौधरी, रामनारायण चौधरी, शिवनारायण चौधरी, सुरेन्द्रनारायण चौधरी, मनोजकुमार चौधरी, हरिवंश चौधरी, राजाराम थारु चौधरी, नवराज श्रेष्ठ, ददिलाल विक र भिक्की विक छन् ।

श्रम मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी तथा माईग्राम्सलाई खारेजीको घोषणा गर्दै कारबाहीको दायरामा ल्याएको थियो ।

कात्तिक १२ गते नेपाल र मलेसियाबीच भएको श्रम समझादारीमा ती संस्थाहरु जीवित रहने गरी दुईपक्षीय सम्झौता भएको थियो । साथै श्रम समझदारी लगत्तै कलिङ भिषा आएका कामदाहरुलाई तत्काल मलेसिया पठाउने निर्णय भएपनि श्रममन्त्री विष्टले भने आफूले कारबाही गरेको भेण्डरमार्फत कुनैपनि हालतमा कामदार पठाउन नसक्ने भन्दै रोक्दै आएका थिए । लामो समयसम्म मलेसियाको रोजगारी बन्द भएको भन्दै श्रममन्त्री विष्टको चौतर्फी रुपमा आलोचना हुँदै आइरहेको छ ।

यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सम्पूर्ण व्यवसायीहरुलाई मलेसिया रोजगारीका लागि कामदार पठाउन श्रम स्वीकृतिका लागि तयार रहन अनुरोध गरेको छ । साथै कलिङ भिसा प्राप्त कामदारहरुको श्रम स्वीकृतिका लागि सोमबार बृहत् छलफल गर्ने तयारी भइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहण गुरुङले जानकारी दिएका छन् ।

श्रममन्त्रीले म्यानपावर व्यवसायीसँग इगो राखेर मलेसियाको रोजगारी नखुलाएको गुरुङले बताए । नत्र, आफैले कारबाही गरेको संस्थामार्फत कामदार नपठाउने अडान लिएपनि व्यक्तिगत श्रम स्विकृति दिनुले मन्त्रीकै नियत बुझ्न नसकिको उनले बताए ।

वैदेशिक रोजगार विभागले मलेसियाको ओटिए टनेल स्क्वाड एडीएन बीएचडीले विभागमा पत्राचार गरेर श्रम स्विकृति दिन आग्रह गरेपछि श्रम मन्त्रालयमा सहमति माग गरी व्यक्तिगत श्रम स्विकृति दिएको जनाएको छ ।

विभागका शाखा अधिकृत हरिकृष्ण बुढाथोकीले मलेसियाको नेपालस्थित दूतावासबाट सीधै भिसा प्राप्त गरेका कामदारलाई श्रम स्विकृति दिएको बताए ।


तर, क्यापिटल नेपाललाई प्राप्त डकुमेन्टमा कामदारहरुले मलेसिया भीएलएन नेपाल प्रालीमै पासपोर्ट बुझाएर भिसा लिएको उल्लेख छ ।