भारतले थप हवाई रुट नदिएपछि समस्यामा गौतमबुद्ध विमानस्थल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी भारत भ्रमणमा रहेका बेला गत बुधबार भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा भारतीय पक्ष हवाई रुट दिन सकारात्मक रहेको बताइए पनि कुन रुट र कहिलेबाट अनुमति दिने भन्ने विषय टुङ्गिन सकेको छैन ।

काठमाडौं : सुरक्षाको कारण देखाउँदै भारतले थप हवाई रुट दिन नमानेपछि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समस्यामा पर्ने भएको छ । सेप्टम्बरभित्र विमान उडानको तयारी गरिरहेको विमानस्थल भारतले हवाई रुट नदिएकै कारण समस्यामा पर्ने अवस्था आएको हो । भारतले नेपाललाई सिमरा रुटमा मात्र उडान अनुमति दिएको छ ।

भैरहवाबाट ठूला जहाज उड्नेबित्तिकै भारतमा पुग्ने र त्यहाँ सेनाको ब्यारेक भएकाले सुरक्षाका दृष्टिले उडान गर्न अनुमति दिन नसकिने भारतीय पक्षको अडान छ । सेनाको ब्यारेकमाथिबाट विमान उड्ने भएकाले सुरक्षाका दृष्टिले अनुपयुक्त भएको भारतीय पक्षको तर्क छ ।

नयाँ रुट नपाए गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूला जहाज पुनः सिमरामा आएर जानुपर्नेछ, जसले गर्दा व्यावसायिक हिसाबले काठमाडौं आउनुभन्दा भैरहवा जान जहाजलाई महँगो पर्ने देखिएको छ । जहाज गौतमबुद्धभन्दा काठमाडौंमा अवतरण गर्ने सम्भावना बढी छ ।

भैरवाबाट सिमरा पुग्न लामो दूरी हुने र हवाई ट्राफिक जाम बढ्ने भएका कारण गौतमबुद्ध विमानस्थल धेरै विमान कम्पनीको रोजाइमा नपर्ने अवस्थामा पुगेको हो । गत असारमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौताअनुसार नेपाललाई तीन ओटा हवाई रुट दिने सम्झौता गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी भारत भ्रमणमा रहेका बेला गत बुधबार भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा भारतीय पक्ष हवाई रुट दिन सकारात्मक रहेको बताइए पनि कुन रुट र कहिलेबाट अनुमति दिने भन्ने विषय टुङ्गिन सकेको छैन ।

तर पर्यटनमन्त्री अधिकारीले भने हवाई रुट दिन भारतीय पक्ष तयार रहेको बताउँदै आएका छन् । उनले आगामी सेम्टेम्बरभित्रमा भैरहवा रुट भएर जहाज उडाउने गरी रुट दिने विषयमा उच्चस्तरीय छलफल भइरहेकाले गौतमबुद्ध विमानस्थललाई कुनै समस्या नहुने दाबी गरेका छन् । यस्तै नेपालगन्जबाट १२ हजारदेखि २४ हजार उचाइसम्ममा जहाज उडानका लागि सहमति भएको उनले जानकारी दिए ।

क्यानका हवाई ट्राफिक व्यवस्थापन निर्देशक दीपक बरालले हालको लागि सिमराबाटै उडान गर्ने गरी तयारी भइरहेको बताए । उनले भारतीय पक्ष थप हवाई रुट दिन सकारात्मक रहेकाले सेप्टेम्बरभित्र नयाँ रुट पाउने उनको भनाइ छ ।

सम्झौताअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश बिन्दुका लागि काठमाडौंदेखि विराटनगर र जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी त्यसको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटबाट वायुयान नेपाल प्रवेश गने सक्ने उल्लेख गरिएको थियो ।

यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि मौजुदा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी उडान सुरक्षा मूल्याङ्कनका आधारमा लागू गर्नेछ । यस्तै पूर्वतर्फ काठमाडौं–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट उडान सुरक्षा मूल्याङ्कन गरी त्यसका आधारमा लागू गर्ने सहमति भएको थियो ।

सम्झौताअनुसार सन् २०१८ भित्रै मूल्याङ्कन हुनुपर्नेमा हालसम्म दुई पक्षबीच पुन छलफल हुन सकेको छैन ।