३ वर्षमा ७५० करोड नाफा गर्ने एनआईसी एसिया बैङ्कको योजना, सेयरधनीले पाउने लाभांश कति ?

ऋणपत्र (डिबेन्चर) निष्कासनका लागि सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षमा बैङ्कले ३ अर्ब रुपैयाँ खुद नाफा हुने प्रक्षेपण गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा बैङ्कले ५ अर्ब रुपैयाँ नाफा गर्ने अनुमान बैङ्कको छ ।

काठमाडौं । आउँदो ३ वर्षमा एनआईसी एसिया बैङ्कले नाफा बढाएर ७ अर्ब ५० करोड ३० लाख रुपैयाँ पुर्याउने भएको छ । ३ वर्षको अवधिमा बैङ्कले नाफा ६ अर्ब १६ करोड ९० लाख रुपैयाँ थपिने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा बैङ्कले १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।

ऋणपत्र (डिबेन्चर) निष्कासनका लागि सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षमा बैङ्कले ३ अर्ब रुपैयाँ खुद नाफा हुने प्रक्षेपण गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा बैङ्कले ५ अर्ब रुपैयाँ नाफा गर्ने अनुमान बैङ्कको छ ।

बैङ्कले गत आर्थिक वर्षमा विस्तार गरेको नयाँ शाखाहरुमध्ये धेरै शाखा चालू आर्थिक वर्षदेखि नाफामा आइसकेकोले आगामी ३ वर्षमा अनुमान गरिएको सञ्चालन आम्दानी तथा नाफा सजिलै प्राप्त गर्न सकिनेमा बैङ्कका जनसम्पर्क अधिकृत अर्जुनराज खनियाले बताए । प्रक्षेपित वित्तीय विवरण बैङ्क आफैले दीर्घकालीन रणनीतिअनुरूप तयार पारेको उनले जानकारी दिए । नाफा बढेपछि सेयरधनीले पाउने लाभांशमा पनि वृद्धि हुने उनले बताए । अहिले निक्षेप परिचालन र कर्जा लगानीका हिसाबले एनआईसी एसिया मुलुककै ठूलो बैङ्क भएको छ ।

बैङ्कले देशको आर्थिक अवस्था, बैङ्क तथा वित्तीय संस्थाहरुको अवस्था तथा विभिन्न नियमनकारी निकायहरुको नीति तथा व्यवस्थाहरुको सूक्ष्म रुपमा अध्ययन गरेर आफ्नो दीर्घकालीन रणनीति २०२० तयार गरी लागू गरेको जानकारी दिएको छ । नाफा बढेपछि बैङ्कको प्रतिसेयर आम्दानी (ईपीएस) आर्थिक वर्ष ०७७/०७८ मा ६४ रुपैयाँ ३४ पैसा पुग्ने देखिएको आह्वानपत्रमा उल्लेख छ ।

चालू आर्थिक वर्षमा ३४ रुपैयाँ र आगामी वर्ष ४७ रुपैयाँ १७ पैसा पुग्ने अनुमान बैङ्कको छ । यस्तै प्रतिसेयर खुदसम्पत्ति पनि बढेर आर्थिक वर्ष ०७७/०७८ मा २२३ रुपैयाँ पुग्ने अनुमान बैङ्कको छ । चालू आर्थिक वर्षमा खुद सम्पत्ति बढेर १६६ र आगामी वर्ष १८४ रुपैयाँ पुग्ने अनुमान बैङ्कको छ ।

३ वर्षमा बैङ्कले खुदब्याज आम्दानी बढाएर १३ अर्ब ४१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा खुद ब्याज आम्दानी ७ अर्ब ३७ करोड ८० लाख र आगामी वर्ष ९ अर्ब ९४ करोड ८० लाख रुपैयाँ पुग्ने अनुमान बैङ्कको छ ।

निक्षेप परिचालन बढाएर आव ०७७/०७८ मा ४ खर्ब ७ अर्ब ५८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा निक्षेप परिचालन २ खर्ब ९ अर्ब ६७ करोड र आगामी वर्ष २ खर्ब ९८ करोड ७७ लाख रुपैयाँ पुग्ने बैङ्कको प्रक्षेपण छ । सो अवधिमा बैङ्कको कर्जा सापटी पनि बढेर ३ खर्ब ३२ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षमा बैङ्कले १ खर्ब ७२ अर्ब ४२ करोड र आगामी वर्ष २ खर्ब ४९ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।

आगामी आइतबारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४ अर्ब रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन छिटोमा माघ १६ र ढिलामा फागुन १३ गते बन्द हुने बैङ्कले जानकारी दिएको छ ।

आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म १० वर्षका लागि निष्कासन गरिएको ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको बैङ्कले जनाएको छ । बैङ्कले लगानी जुटाउन ऋणपत्र निष्कासन गरेको हो । यसअघि गत भदौमा पनि बैङ्कले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो । सो ऋणपत्र पूरै बिक्री भएको थियो ।

कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत संस्थागत लगानीकर्तालाई ऋणपत्र बिक्री गर्नेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भई खरिदबिक्री गर्न सकिने र आवश्यक परे धितो राखेर ऋण पनि लिन सकिने बैङ्कले जनाएको छ ।

ऋणपत्रबाट सङ्कलन हुने रकमको ८० प्रतिशत अर्थात् ३ अर्ब २० करोड रुपैयाँ कर्जा सापटी, १० प्रतिशत अर्थात् ३० करोड विभिन्न क्षेत्रमा लगानी र ५ प्रतिशत अर्थात् २० करोड रुपैयाँ शाखा विस्तार र ५ प्रतिशत अर्थात् २० करोड रुपैयाँ विविध क्षेत्रमा लगानी गर्ने बैङ्कले जनाएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेड रहेको छ ।