कुटनीतिक मर्यादा विपरित मलेसियाका मन्त्री भेटेका लिम्बु र पुरीले गरे भेन्डर परिवर्तनमा लबिङ

श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय र कुटनीतिक मर्यादाको समेत ख्याल नगरी म्यानपावर व्यवसायीसमेत रहेका लिम्बुले विवादस्पद अर्का व्यवसायीलाई बोकेर मलेशिया पुगेका हुन् ।

काठमाडौं । ९ महिनादेखि बन्द रोजगारी खुलाउने भन्दै मलेसिया पुगेका नेकपाका सांसद तथा व्यवसायी एलपी साँवा लिम्बु र ‘विवादस्पद’ अर्का म्यानपावर व्यवसायी रघु पुरीले त्यहाँका मानव संसाधनमन्त्री एम कुलासेगरनलाई भेटी नेपालबाट कामदार पठाउने नयाँ प्रक्रिया आफुलाई दिन आग्रह गरेका छन् ।

श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय र कुटनीतिक मर्यादाको समेत ख्याल नगरी म्यानपावर व्यवसायीसमेत रहेका लिम्बुले विवादस्पद अर्का व्यवसायीलाई बोकेर मलेशिया पुगेका हुन् ।

२८ जनवरीमा मलेसियन एयरबाट राती ११ः३० बजे मलेसिया उडेका लिम्बु र पुरीले २९ गते स्थानिय समयअनुसार ४ बजे कुलासेगरनलाई भेट गरेका थिए । ३५ मिनेट लामो भेटमा मलेसियाको रोजगारी खुलाउनका लागि भेन्डर परिवर्तनकै विषयमा छलफल भएको थियो ।

नेपालको औपचारिक छलफलका लागि भन्दै मलेसियालाई जानकारी गराएर लिम्बु र पुरी मलेसिया पुगेका थिए । छलफलमा नेपालबाट कामदार पठाउनका लागि नयाँ भेन्डर आवश्यक रहेको र भेन्डर परिवर्तन गरे श्रम मन्त्रालयले नेपालबाट मलेसियाको रोजगारी खुलाउने बताएको उनीहरुसँगै रहेका अर्को एक व्यवसायीले जानकारी दिए ।

भेटमा नेपालले छिटोभन्दा छिटो नेपाली कामदार मलेसिया पठाउन खोजेको तर त्यसअघि भेन्डर परिवर्तन हुनुपर्ने अडान राखेको बताएपछि कुलासेगरनले प्रक्रिया र भेन्डर पुरानै हुनुपर्ने कुरा मलेसियाले पटक पटक भनिसकेको बताएको ती व्यवसायीले जानकारी दिए ।

नेपालसँग श्रम समझदारीमा हस्ताक्षर भएपछि पनि कामदार रोकेको विषयलाई मलेसियाले गम्भिर रुपमा लिएको कुलासेगरनले लिम्बुलाई बताएको ती व्यवसायीले जानकारी दिए ।

यसैबीच केहि दिन अघिदेखि नै मलेसियामा रहेका नेकपा निकट प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चका महासचिव डिकबहादुर खत्री कुमारले एलपी साँवा लिम्बु र रघु पुरीले मलेसियाका मानव संसाधानमन्त्री कुलासेगरनलाई भेट गरेको कुरा बिहिबार साँझ सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनका पोष्टअनुसार कलिङ भिसा र नयाँका कामदारका लागि छलफलमा सहभागी हुन पाउँदा खुशी लागेको जनाएका छन् । उनका अनुसार छलफलमा आफु पनि रहेको उल्लेख गरेका छन् ।

नेपालबाट औपचारिक रुपमा सरकारले नपठाए पनि श्रममन्त्री गोकर्ण विष्टले पठाएको भन्दै लिम्बु र पुरी मलेसिया पुगेको मञ्चकै एक सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायीहरुले भने लिम्बु र पुरी मलेसिया पुगेर मलेसिया रोजगारीसम्बद्ध संस्थाहरु आफुलाई दिन लभिङ गर्नु कुटनीतिक विपरित भएको टिप्पणी गरेका छन् । राजनीतिक पहुँचको आधारमा सेटिङ मिलाउने भन्दै लिम्बु र पुरी मलेसिया पुगेको भन्दै नेकपा निकट व्यवसायीहरुले नै श्रममन्त्रीसँग धारणा माग्ने जनाएका छन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने कामदार माथि थप आर्थिक भार पारेको भन्दै ५ वटा संस्थाहरुलाई कारवाही गरेको थियो । तर नेपाल र मलेसियाबीच असोज १२ गते भएको श्रम समझदारीमा पुरानै संयन्त्र कायम गरी कामदार पठाउने गरी हस्ताक्षर भएको थियो ।