सूर्यविनायक–धुलिखेल सडकखण्ड ८ लेनमा विस्तार हुँदै

सडकखण्ड विस्तारका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ऋण सहयोग गर्ने प्रस्ताव गरेको छ । ऋण स्वीकृत भएपछि सडक विस्तारको काम सुरु हुने सूर्यविनायक– धुलिखेल सडकखण्ड विस्तार आयोजनाका प्रवक्ता शिला श्रेष्ठले क्यापिटल नेपाललाई जानकारी दिइन् । अहिलेसम्म सो ऋण स्वीकृत भएको छैन ।

काठमाडौं : भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडकखण्ड ८ लेनमा विस्तार हुने भएको छ । करिब २३ अर्ब रुपैयाँ लगानीमा सडक ८ लेनमा विस्तार हुने भएको हो । जापान सरकारको ऋण सहयोगमा अरनिको राजमार्गअन्तर्गतको उक्त सडकखण्ड विस्तार गर्ने कार्य आगामी वैशाखदेखि सुरु हुने आयोजनाको कार्यालयले जनाएको छ ।

उक्त सडकखण्ड विस्तारका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ऋण सहयोग गर्ने प्रस्ताव गरेको छ । ऋण स्वीकृत भएपछि सडक विस्तारको काम सुरु हुने सूर्यविनायक– धुलिखेल सडकखण्ड विस्तार आयोजनाका प्रवक्ता शिला श्रेष्ठले क्यापिटल नेपाललाई जानकारी दिइन् । अहिलेसम्म सो ऋण स्वीकृत भएको छैन ।

सडकखण्ड विस्तारका लागि जाइकाले २३ अर्ब रुपैयाँ ऋण दिने प्रवक्ता श्रेष्ठले बताइन् । ट्राफिक जाम कम र दुर्घटना न्यूनीकरणका लागि सरकारले विदेशी ऋण सहयोगमा उक्त सडक विस्तार गर्ने योजना बनाएको हो । सडक खण्डको विस्तारको काम अबको तीन महिनाभित्र सुरु हुने बताएका छन् ।

गत डिसेम्बरमा जापानी एक टोली सडक विस्तारका लागि प्रारम्भिक अध्ययनसमेत गरेको थियो । जापानी कम्पनीले सडक डिजाइन, सर्भे वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लगायतका काम गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् ।

यता, जाइकाले सडकखण्ड विस्तारका लागि ऋण अनुदान दिन इच्छुक देखिएकाले डिजाइन र सर्भे लगायतका काम सुरु गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । उनका अनुसार, सडक निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको छ ।

अहिले उक्त सडक दुई लेनमा सञ्चालनमा छ । सूर्यविनायक धुलिखेल र धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले केही काम भइरहेको आयोजनाले जनाएको छ । उक्त सडकखण्डको विस्तारका लागि प्रारम्भिक कामहरु गरिरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । विस्तार गर्न सडक आसपासका घर टहरा भत्काउने काम अघि बढेको जनाइएको छ । सडक छेउछाउका रुखहरु काट्न पनि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति लिने प्रक्रिया अघि बढेको सडक विभाग भक्तपुरले जनाएको छ ।

राजधानीको कोटेश्वरदेखि भत्तपुरको सूर्यविनायकसम्म जाइकाको सहयोगमा सडक विस्तार भइसकेको छ । साँघुरो सडक भएका कारण सूर्यविनायकदेखि धुलिखेलसम्म सडक जाम हुने गरेको छ ।