ठूला भारु नोटमा नेपाल किन लालायित ?

नेपाल र भारतबीच हुने साना हातहतियारको कारोबार, अवैध सुनको कारोबार, लागुऔषध कारोबार, सुटरको प्रयोग र अन्य वस्तुहरुको तस्करीमा ठूला भारु नोटको प्रयोग हुने गरेको कसैमा छिपेको छैन ।

भारतीय रुपैयाँ (भारु) २ सय, ५ सय र २ हजार दरका नोटहरु ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने २७ मङ्सिर २०७५ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै नेपाल र भारतमा पनि भारु नोटको प्रतिबन्धबारे व्यापक बहस सुरु भएको छ । त्यसपछि नेपाल राष्ट्र बैङ्कले सूचना निकाल्दै यी दरका नोट नचल्ने जानकारी दिएको हो ।

भारतीय सञ्चारमाध्यमहरुले नेपालले ठूला भारु नोटको बन्देजलाई भारतीय प्रधानमन्त्री मोदीको असफलता र नेपालको चीनसँगको मित्रता भनेर जोडिरहेका छन् । अर्कोतिर ठूला भारुको प्रयोगमा रोकले सन् २०२० लाई नेपालले भ्रमणका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्रभावित हुने दाबी गरिरहेका छन् । नेपालले ठूला दरका भारु नोटको प्रतिबन्धले भारतीय संसद्लाई समेत तताएको छ ।

यसबारेमा पछिल्ला दिनहरुमा नेपालमा भन्दा भारतमा बढी चर्चा भएको छ । त्यसैगरी नेपाल राष्ट्र बैङ्कले भारतीय रिजर्व बैङ्कलाई ठूला दरका भारु नोट चलनचल्तीका लागि अनुमति माग्दै पत्र पठाएको भन्ने कुराले नेपालमा चर्चा बढेको छ । र सरकार आफ्नै निर्णयमा दुई दिन पनि टिक्न नसकेको भनेर आरोप लाग्न थालेको छ । अधिकांश नेपालीहरुले सरकारी निर्णयको स्वागत नै गरेका छन् ।

ठूला दरका भारुको प्रतिबन्धलाई वर्तमानमा मात्रै हेर्नुभन्दा पनि विगतसँग जोडेर हेरिनु आवश्यक । ४ वर्षअघिसम्म पनि नेपालमा ठूला (५ सय र एक हजार) दरका भारु नेपालमा प्रचलनमा थिएनन् । पछिल्लो पटक नेपाल राष्ट्र बैङ्कले २०७१ फागुन १५ मा सूचना जारी गरेर ५ सय १ हजार दरका नोट प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म साथमा राख्न र लिएर हिँड्न पाउने व्यवस्था गरेको हो । त्यसपछि निर्बाध रुपमा नेपालीहरुले नेपाली मुद्रा जस्तै भारु बोकेर हिँड्न थाले भने भारतीयहरुलाई पनि आफ्ना नोट निर्धक्कसँग बोकेर नेपाल भित्रिने बाटो खुल्यो ।

नेपालमा ठूला दरका नोट वैधानिक रुपमा चल्न थालेको डेढ वर्ष पुग्दानपुग्दै २०७३ कात्तिक (८ नोभेम्बर २०१६) मा भारतले ५ सय र १ हजार दरमा नोटबन्दी लगाउँदै सीमित अवधि दिएर भारतभर नोट सटहीका लागि आह्वान ग¥यो । भारतले नोटबन्दीपछि आफ्ना नागरिक र भुटानका नागरिकसँग भएको ठूला दरका नोट सबै सटही गर्यो । त्यति बेला भारतले भुटानसँगको करिब ४ अर्ब भारु साटेको थियो । तर उसले नेपाली सर्वसाधारण र बैङ्किङ प्रणालीमा भएको कुनै पनि रकम अहिलेसम्म साटेको छैन ।

अहिले पनि केन्द्रीय बैङ्कसँग ७ करोड भारु छ भने ठूलो परिमाणमा सर्वसाधारणको पैसा कागजको खोस्टा भएको छ । नेपालसँग भएको ठूला दरका भारु सटहीका लागि नेपालले प्रधानमन्त्रीस्तरमै दुई पटक छलफल भएको कुरा बाहिर आएको छ । नेपालका प्रधानमन्त्री केपी ओली भारत जाँदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा भारतीय नोट सटहीले महङ्खव पाए पनि निष्कर्ष पाएन । नोटबन्दीपछि भारतले १ हजार दरको नोट छापेको छैन भने ५ सयको नोटलाई नयाँ स्वरुपमा निरन्तरता दिएको छ । तर २ सय र २ हजार दरको नोट भने नोटबन्दीपछि मात्रै छापेको हो ।

मुलुकभित्र नेपाली मुद्राको प्रचलनलाई व्यापक बनाउन र नेपाली मुद्राप्रति जनताको विश्वास जगाउन १९९४ सालमा नेपाल बैङ्कको स्थापना तत्कालीन जहानियाँ राणा सरकारले गरेको थियो । पछि सरकारले नेपाल राष्ट्र बैङ्क ऐन २०१२ बनाएर २०१३ वैशाख १४ गते केन्द्रीय बैङ्कका रुपमा नेपाल राष्ट्र बैङ्क स्थापना ग¥यो । त्यसपछि नेपालभित्र नेपाली मुद्राको विश्वसनीयता वृद्धिको काम राष्ट्र बैङ्कलाई सुम्पियो । तर अहिले आएर भारतीय मुद्रा चलाउन नै केन्द्रीय बैङ्क अग्रसर हुनु राष्ट्रकै लागि लज्जाको विषय हो ।

विदेशी मुद्राको प्रभाव बढ्दा आफ्नै मुद्राको प्रभाव कमजोर बन्छ र त्यसप्रति जनमानसको विश्वास गुम्दै जान्छ । यसले अरुको मुद्राप्रतिको परनिर्भरता मात्रै बढ्दैन, त्यसले समग्र अर्थतन्त्रमै असर गर्छ र आफूले नगरेको गल्तीको सजाय पनि भोग्नुपर्छ । विदेशी मुद्राको बढ्दो प्रभावको असर कस्तो पर्छ भन्ने मध्य अमेरिकास्थित पनामाको उदाहरणबाट सिक्न सक्छौं । जहाँ आफ्नो मुद्रा ‘बल्बा’ लोप भएर सम्पूर्ण रुपले अमेरिकी डलरप्रति निर्भर छ । मुलुकभित्र भारुलगायतका विदेशी मुद्रा चल्नै नदिने भन्ने होइन । सीमित मात्रामा सबै प्रकारका मुद्रा चल्नु आवश्यक पनि होला र चलेका पनि छन् । त्यसका लागि भारु १ सय र त्योभन्दा साना दरका नोट नै काफी छ ।

मुलुकभित्र नेपाली मुद्राको प्रचलन व्यापक बनाउन र नेपाली मुद्राप्रति जनताको विश्वास जगाउन १९९४ सालमा नेपाल बैङ्कको स्थापना तत्कालीन जहानियाँ राणा सरकारले गरेको थियो । तर, अहिले आएर भारतीय मुद्रा चलाउन केन्द्रीय बैङ्क नै अग्रसर हुनु राष्ट्रकै लागि लज्जाको विषय हो ।

अहिले पनि नेपाल र भारतबीच कुल अर्थतन्त्रको ४० प्रतिशत अनौपचारिक रुपमा कारोबार हुने अनुमान छ । खासगरी खुला सिमानाका कारण तस्करी मौलाएका कारण अनौपचारिक कारोबारले बर्सौंदेखि प्रश्रय पाउँदै आएको छ । ठूला दरका नोटमा गरिएको प्रतिबन्धले अनौपचारिक अर्थतन्त्रमा केही कमी आउन गई व्यवसाय वैधानिक बाटोतर्फ मोडिने र त्यसले राज्यको राजस्वमा समेत थप योगदान गर्ने अपेक्षा गर्न सकिन्छ । व्यावसायिक हिसाबले पनि ठूलो परिमाणमा साना दरका नोट बोक्न सम्भव नहुने हुँदा व्यावसायिक प्रयोजनका लागि बैङ्किङ प्रणालीको प्रयोग बढ्छ र यसले औपचारिक अर्थतन्त्रको विकासमा सहयोग गर्छ ।

विगतमा प्रत्येक व्यक्तिले प्रतिव्यक्ति २५ हजारसम्म भारु बोक्न मिल्ने व्यवस्थाका कारण लाखौं भारु बोकेर व्यवसायी तथा राजनीतिज्ञहरु हिँड्ने गर्थे । विगतमा पटकपटक भारतीय उच्चपदस्थ अधिकारीहरुसमेत ठूलो परिमाणमा भारुसहित पक्राउ परेका उदाहरणले कसरी भारुको कारोबार हुन्छ भन्ने देखाउँछ भने भारतीय सीमाक्षेत्रमा लाखौं भारु बरामद हुनुले भारुको प्रयोग कस्तो काममा हुन्छ भन्ने आकलन गर्न सकिन्छ । ठूला भारु नोट साथमा राख्नै नपाउने व्यवस्था भएपछि वित्तीय प्रणालीमा कारोबार बढाउन सहयोग मिल्छ र यसले वैधानिक कारोबारलाई प्रश्रय दिन्छ ।

पछिल्लो समयमा विश्वभर पर्यटकहरु नगद बोकेर हिँड्न छोडिसकेका छन् । प्रविधिको विकासले नगद गनेरै दिनुपर्ने क्षेत्रहरु साँघुरिँदै गएका छन् । डेबिट÷क्रेडिट कार्ड र अन्य विद्युतीय माध्यमले भुक्तानी प्रक्रियालाई सरलीकृत बनाएको छ । त्यसमा पनि जुन देशमा गयो, त्यही देशको मुद्रा बढी प्रचलनमा हुन्छ । त्यसैले पनि वास्तविक भारतीय पर्यटकहरुले नेपालमा बैङ्किङ प्रणालीमार्फत नेपाली रुपैयाँ नै प्रयोग गर्न सक्छन् । फेरि नेपालमा भारतीय खर्चालु पर्यटकहरु सीमित सङ्ख्यामा मात्रै आउने गरेको पाइन्छ । ठूला दरका भारुले प्रभाव पार्ने क्षेत्र भनेको क्यासिनो जाने भारतीयहरु र असङ्गठित तथा सिजनल काम गर्ने भारतीय मजदुरहरु हो । ठूला दरका भारु नोट नचल्दा न त पर्यटक आवागमनमा कमी आउँछ, न त भारत र नेपालको सम्बन्धमै खलल पर्छ । यी सबै भनाउने÷भनिने कुरा मात्रै हुन् । खासगरी नेपाल र भारतमा बसेर अवैधानिक धन्दा गर्नेहरु र नेपाल चीनसँग नजिक भएर भारतसँग सम्बन्ध बिग्रिएको बताउने केही बुजु्रकले फैलाएको अफवाहबाहेक केही होइन ।

नेपाल र भारतबीच खुला सिमानाका भएकाले दुवै देशका मुद्रा एकअर्को मुलुकमा प्रयोग हुनु कुनै नौलो विषय भने होइन । त्यसमाथि दुवै मुलुकबीच स्थिर विनिमय दर भएका कारण पनि यी मुद्रा एकअर्को मुलुकमा सहजतासाथ प्रवेश पाउने गर्छन् । यद्यपि नेपालमा जस्तो भारतमा नेपाली रुपैयाँ खुलमखुला कारोबार हुँदैन, सीमा नाकाभित्रको सीमित दूरीभित्र बाहेक । तर, नेपालकै तराईका कतिपय जिल्लामा भने नेपालीभन्दा भारु नै बढी चलनचल्तीमा रहेको पाइन्छ । भारतमा करिब ४० लाख नेपालीले काम गरेको अनुमान गर्ने गरिन्छ । विगतमा भारतबाट रेमिट्यान्स पठाउने माध्यम नहुँदा नगद नै बोकेर आउनुपर्ने बाध्यता थियो । अहिले त्यस्तो स्थिति छैन ।

मुलुकमै ठूला दरका नोट चलाउन बन्देज लगाउनुपर्छ भनेर सत्तारुढ दलकै केन्द्रीय नेताहरुले सडकदेखि संसद्सम्म आवाज उठाइरहेका बेला विदेशी ठूला दरका नोट प्रयोग गर्नु राज्यका लागि हानिकारक हुन्छ ।

ठूला दरका भारु नोट नचल्ने भएपछि भारतमा कार्यरत नेपालीहरुले पैसा पठाउन निश्चित रुपमा बैङ्किङ प्रणालीको प्रयोग गर्छन् नै । विगतमा भारतबाट रेमिट्यान्स पठाउन समस्या भए पनि अहिले त्यस्तो स्थिति छैन । यसले उनीहरुको कमाइ सुरक्षित पनि बनाउँछ । भन्सार नाकामा आएर लुटिनुपर्ने अवस्थाको पनि अन्त हुन्छ । भारतमा कार्यरत सबै नेपालीलाई रेमिट्यान्सबारे जानकारी नहुन सक्छ । त्यसका लागि सरकार र रेमिट्यान्स कम्पनीहरु मिलेर व्यापक प्रचारप्रसार गर्नुपर्छ ।

मुलुकमै ठूला दरका नोट चलाउन बन्देज लगाउनुपर्छ भनेर सत्तारुढ दलकै केन्द्रीय नेताहरुले सडकदेखि संसद्सम्म आवाज उठाइरहेका बेला विदेशी ठूला दरका नोट प्रयोग गर्नु राज्यका लागि हानिकारक हुन्छ । पहिलो कुरा त विदेशी मुद्रा बोक्ने प्रचलनलाई पूर्ण रुपले अन्त्य गर्नुपर्छं । प्रविधिको बदलिँदो युगमा नगद बोकेर हिँड्नु अनुपयुक्त मात्रै होइन, यसले अवाञ्च्छित गतिविधि र भ्रष्टाचारलाई नै मलजल गर्छ । खासगरी नेपाल र भारतबीच हुने साना हातहतियारको कारोबार, अवैध सुनको कारोबार, लागुऔषध कारोबार, सुटरको प्रयोग र अन्य वस्तुहरुको तस्करीमा ठूला भारु नोटको प्रयोग हुने गरेको कसैमा छिपेको छैन । बेलाबेलामा सीमाक्षेत्रमा ठूलो परिमाणमा भारु जफत हुनुले पनि त्यसको पुष्टि गर्छ । ठूला दरका भारु प्रतिबन्धले यस्ता गैरकानुनी कारोबार र भुक्तानीमा कमी ल्याउन सहयोग गर्छ ।

नेपालकै ठूला दरका नोट नक्कली आउन थालिरहेका छन् । ठूला दरका नक्कली भारु नोटको बिगबिगी व्यापक देखिन्छ । यसबाट धेरै नेपालीहरु फस्न सक्ने सम्भावना पनि रहन्छ । त्यसैले मुलुकमा नेपाली नोटप्रतिको विश्वास जगाइराख्न र बैङ्किङ प्रणालीको अधिकतम विस्तारका लागि ठूला दरका भारु नोट कुनै पनि मूल्यमा मुलुकभित्र चल्न दिनुहुँदैन । बरु आफ्ना नागरिक र भारतीय सीमाक्षेत्रमा नेपालभित्र ठूला भारु नोट नचल्ने विषयमा व्यापक प्रचारप्रसार गर्नु आवश्यक छ ।

भारतीय सरकारसँग त्यहाँका ठूला नोट चलाउन अनुरोध गर्ने होइन, नेपालमा ठूला दरका नोट चल्दैन भने भारतले आफ्ना नागरिकलाई सूचित गरोस् भन्ने अनुरोध पठाउनु आवश्यक छ ।

क्यापिटल म्यागजिनबाट