२० लाख पर्यटक ल्याउने भ्रमण वर्ष २०२० को छैन कार्यालय

वैद्य संयोजक भएको पनि ४ महिना पुग्न लाग्दासमेत उनी आफू बसेर काम गर्ने सचिवालयसमेत नबन्दा आगामी योजनाहरु प्रभावित बनेका हुन् ।

काठमाडौ । भ्रमणवर्ष २०२० सुरु हुन ८ महिना मात्र बाँकी रहँदासमेत भ्रमण वर्षको सचिवालय स्थापना भएको छैन । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको भ्रमण वर्षको सचिवालय स्थापना नहुँदा भ्रमण वर्षका योजनाहरुसमेत बनेका छैनन् ।

भ्रमणवर्ष २०२० घोषणा भएपछि पनि सरकारले धेरै ढिला गत कार्तिक १६ गते कार्यक्रम संयोजकका रुपमा व्यवसायी सुरज वैंद्यलाई नियुक्त गरेको थियो । वैद्य संयोजक भएको पनि ४ महिना पुग्न लाग्दासमेत उनी आफू बसेर काम गर्ने सचिवालयसमेत नबन्दा आगामी योजनाहरु प्रभावित बनेका हुन् ।

वैद्य आफैले अहिले भ्रमण वर्षको कार्यक्रमलाई कम प्राथमिकता दिने गरेको पर्यटन व्यवसायीहरुको आरोप छ । उनी पर्यटनसम्बन्धित कार्यक्रमहरुमा समेत नपुग्ने र पर्यटन व्यवसायीहरुसँग पनि छलफल नगर्ने भएकाले उनकै कारण सचिवालय राख्न ढिला भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का एक कार्यसमिति सदस्यले क्यापिटल नेपाललाई बताए । ‘न पर्यटन व्यवसायीहरुबीच छलफल भएको छ, न त अहिलेसम्म सचिवालयसमेत बनेको छ, ८ महिना मात्र बाँकी छ, यसरी कसरी सफल होला भ्रमण वर्ष,’ उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि नेपाल पर्यटन बोर्डमै सचिवालय राख्ने जनाए पनि त्यहाँ ठाउँ अभावले सचिवालय बस्न सकेन । संयोजक वैद्यले केशरमहलमा सचिवालय राख्ने निधो गरेपनि भूकम्पका कारण भवन चर्किएकाले त्यहाँ पनि कार्यालय राख्न नमिलेपछि सचिवालयका लागि उपयुक्त ठाउँ नभएको भन्दै खोजी जारी रहेको सचिवालयले जनाएको छ ।

धेरै ठाउँमा कार्यालय राख्न खोजिएपनि उपयुक्त ठाउँ नपाएको भन्दै १ साताअघि मात्र भवन खोज्नका लागि सार्वजनिक सुचना प्रकाशन गरिएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक एवंम् भ्रमणवर्ष २०२० का सचिवालय सदस्य लीलाबहादुर बानियाँले १५ दिनभित्र घरको टुङ्गो लागिसक्ने बताए । बोर्डमा सचिवालय स्थापनाको लागि ठाउँ नभएको र बैंठक बस्न समेत समस्या भएको कारण अन्य ठाउँको खोजि भइरहेको उनले बताए ।

‘सचिवालयको टुङ्गो नलागेकै कारण कर्मचारीहरुसमेत व्यवस्थापन गर्न सकिएको छैन,’ उनले भने । भ्रमण वर्षको कार्यक्रम सञ्चालनका लागि विभिन्न मन्त्रालयबाट कर्मचारीहरु करारमा ल्याउने तयारी भइरहेको बताउँदै कार्यालय नभएकै कारण समस्या भएको बानियाँले जानकारी दिए ।

यस्तै भ्रमणवर्ष २०२० का लागि बजेट विनियोजन भएपनि खर्च गर्ने कार्यविधि पास नभएको कारण पनि समस्या भएको बानियाँले बताए । बजेट सञ्चालनका लागि आवश्यक कार्यविधि पर्यटन मन्त्रालयबाट मन्त्रिपरिषदमा पुगिसकेको छ । तर मन्त्रिपरिषदले कार्यविधि पास नगरेकै कारण समस्या भएको उनले बताए ।

गत पुस २० गते बसेको मूल समितिको बैंठकमा कार्यक्रम संयोजक वैद्यले बजेट खर्च गर्ने कार्यविधि नभएकै कारण समस्या भएको बताएका थिए ।