को बढी चलायमान : पत्रकार कि बैङ्कर !

कुनै समय थियो, बैङ्करहरु एक वर्षमै आधा दर्जनसम्म बैङ्कसम्म चहार्न भ्याउँथे । अहिले पत्रकारितामा त्यस्तै भएको छ । पत्रकारहरु वर्ष दिनमै आधा दर्जन सञ्चार संस्था डुलिसक्छन् ।

सुरुमा सौर्य दैनिक प्रकाशित हुने समयको कुरा हो— मसँगै कार्यरत एक मित्रले त्यता जाने चासो देखाए । मैले उनलाई भनें— पत्रिका चल्छ कि चल्दैन भन्ने आधार हेर्नुभएको छ ? उनले भने— त्यो त मलाई के मतलब । मलाई तलब आए भइगो नि, यहाँ खाईपाई आएको भन्दा दोब्बर बढी छ ।

कुरो ठीकै हो, एउटा कामदारले आफ्नो तलब आउँछ कि आउँदैन हेर्ने हो, त्योभन्दा अरु मतलब गर्ने कुरै भएन । तर, दुःखलाग्दो केही समयपछि पत्रिका बन्द भयो । तलब पाइएन भन्दै फेरि उनी पुरानै ठाउँमा काम गर्न आइपुगे । त्यति बेला धेरै पत्रकारको बिचल्ली भयो । धेरैले अझै त्यहाँबाट पैसा लिन पनि बाँकी होला सायद । तर, अहिले पत्रिका फेरि नियमित प्रकाशनमा छ ।

केही समयपछि फेरि अर्को दैनिक आयो । त्यसका सम्पादकसँग एक चरण मैले पनि कुरा गरें । ती सम्पादकले त्यतिबेलै भने, ‘हाम्रो धेरै ठूलो अपेक्षा छैन, सामान्य हिसाबले चल्ने हो ।’ त्यसपछि दोहो¥याएर मैले उनीसँग कुरा गरिनँ । तर, त्यसको केही दिनपछिको भेटमा मैले उनलाई भनें, ‘बजारमा नाम कहलिएका पत्रकारलाई त लैजानुभएन, पत्रिका चल्ला र !’ उनी मुसुस्क मुस्कुराए मात्रै ।
नभन्दै ३ महिना पनि पत्रिका चलेन । उनी फेरि घुमिफिरी रुम्जाटार भनेंझै एउटा अनलाइनका सम्पादक बने । तीन महिनै नचली बन्द भएपछि बिचरा कति जना पत्रकारको बिचल्ली बन्यो, त्यसको लेखा कसले राखेको होला र !

केही दिनयता ठूलै हल्लाखल्लाबीच तीन ओटा अनलाइन संस्करण प्रकाशनमा आए । एउटा अनलाइनको कार्यस्थलको फोटो र ड्रेस कोडको व्यवस्थाले पत्रकारहरुबीचमा मात्र होइन, अरु क्षेत्रमा पनि निकै चर्चा पायो ।

चाहे दैनिक, साप्ताहिक, मासिक, पाक्षिक पत्रिका हुन् वा राजनीतिक तथा आर्थिक अनलाइन वा टेलिभिजन जोसुकै सुरुमा आउँदा हामी किन भनेर लेख्छन्, प्रसारण गर्छन् । अनि भन्छन्, ‘तपाईंकै आवाज, तपाईंकै सुखदुःखभन्दा अर्को हाम्रो कुनै स्वार्थ छैन । तपाईंका स्वार्थ नै हाम्रा स्वार्थ हुन् । निष्पक्ष र व्यावसायिक पत्रकारिता हाम्रो मूल ध्येय हो ।’

पत्रकारका देखाउने दाँत र चपाउने दाँत फरकफरक देखिने गरेको गुनासा बढ्न थालेका छन् । आफूले भने जस्तो नभएपछि सत्यतथ्यभन्दा पर बसेर एकलौटी खेदो खन्ने प्रचलन मौलाउँदै गएको छ । तर ती मित्रहरु भाषण होस् वा भेटघाटमा भन्न छुटाउँदैनन्, व्यवसायिक पत्रकारिताका सिद्धान्त ।

तर, कसैले भन्दै यसमा फलानाको लगानी छ; यति लगानीमा यो कम्पनी खुलेको छ र त्यसका लागि सरकारले जारी गरेका योयो कानुन आजकै मितिदेखि लागू भएको छ । मेरो कल्पनाले त्यस्तो सञ्चार गृहको खोजी गरिरहेको छ, फलानोले यति लगानी गरेको छ । यो कम्मपनीले आजकै मितिदेखि कम्पनी ऐनको पालना मात्रै गरेको छैन, श्रम ऐन तथा नियमावली र श्रमजीवी पत्रकार ऐन तथा नियमावली पूर्ण रुपले पालना गरेको छु भनेर प्रतिबद्धता गरेको होस् र वास्तवमै कार्यान्वयनमा लागेर पारदर्शिताका एउटा कडी स्थापित गरेको होस् ।

एकातिर सञ्चार गृहको प्रवेश यसरी भइरहेको छ भने त्यसमा काम गर्ने पत्रकार तथा मजदुर पनि कम्पनीकै प्रवेशकै शैलीलाई पछ्याइरहेका छन् । र अहिले पत्रकार तथा कर्मचारीको तलब दिन दुई गुणा रात चौगुणाको दरले बढिरहेको छ । तर, महिना, दुई महिना हुँदै ६ महिना पुगिसक्दा धेरैले तोकेकै तलब नपाउने अवस्था आउने गरेको छ ।

पछिल्लो समय न त पत्रकारको क्षमता बढेको छ, न त कार्य गर्ने जोसजाँगर नै देखिन्छ । खाली कसरी संस्था परिवर्तन गर्ने र तलब बढी लिने भन्नेमै उनीहरुको ध्यान केन्द्रित छ । कतिपय स्थितिमा उनीहरुको बाइलाइनमा बनिबनाउ समाचार छापिने प्रचलनले उनीहरुको भाउ अझ बढी देखिने गरेको छ । अझ यस्तो प्रवृत्ति आर्थिक पत्रकारितामा बढी छ । पछिल्लो समय देखिएको ‘एक पत्रकार एक अनलाइन’को प्रवृत्तिले पत्रकारको मूल्य बढाउन मलजल गरेकै छ । सुरुमा निष्पक्ष पत्रकारिता भने पनि केही दिनपछि नै सञ्चार गृहका कार्यालयमा व्यावसायिक वा राजनीतिक वा अन्य पक्षबारे समाचार लेखेर कसरी पैसा ‘झार्न’ सकिन्छ भन्ने रणनीति बन्न थालिसकेको हुन्छ । कतिपय सञ्चार गृह र पत्रकारहरुले अन्तर्वार्ता छापिदिए÷प्रसारण गरिदिएबापत रकम नै लिने गरेको पाइन्छ ।

नेपाली पत्रकारितामा नाम चलेका र नचलेका सबै पत्रकार तथा व्यवस्थापकका नाममा एक÷एक पिस अनलाइन दर्ता भइरहेकै छन् । र अझै हुँदै जानेछन् । समयक्रममा सायद यस प्रक्रियामा म पनि अछुतो रहनेछैन । अहिले अधिकांश पत्रकार बढी व्यवस्थापक र कम पत्रकार भएका छन् । पत्रकारका देखाउने दाँत र चपाउने दाँत फरकफरक देखिने गरेको गुनासा बढ्न थालेका छन् । आफूले भने जस्तो नभएपछि सत्यतथ्यभन्दा पर बसेर एकलौटी खेदो खन्ने प्रचलन मौलाउँदै गएको छ । तर ती मित्रहरु भाषण होस् वा भेटघाटमा भन्न छुटाउँदैनन्, व्यवसायिक पत्रकारिताका सिद्धान्त ।

सञ्चार प्रतिष्ठान गठन हुँदै गर्दा ती सञ्चार प्रतिस्ठानको लागत, आयको स्रोत र वास्तविक धरातल अध्ययन गर्ने व्यवस्था नगर्ने हो र मुलुकभित्रका ऐन/कानुन पालना नगर्ने सञ्चार गृहलाई कारबाहीको दायरामा नल्याउने हो भने सञ्चार क्षेत्रको व्यावसायिक धरालत समाप्त हुने निश्चित छ ।

यस प्रसङ्गमा अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर हुँदा भनेको एउटा भनाइ यतिबेला मेरो मथिङ्गलमा घुमिरहेको छ । उनले भनेका थिए, ‘तपाईंहरु पनि आज एउटामा भोलि अर्कोमा बैङ्करभन्दा बढी चालू देखिनुभयो ।’ साँच्चै अहिले नेपालका पत्रकार केही वर्षअघिका बैङ्करभन्दा बढी चालू देखिएका छन् । कुनै समय थियो, बैङ्करहरु एक वर्षमै आधा दर्जनसम्म बैङ्कसम्म चहार्न भ्याउँथे । अहिले पत्रकारितामा त्यस्तै भएको छ । पत्रकारहरु वर्ष दिनमै आधा दर्जन सञ्चार संस्था डुलिसक्छन् ।

म आफैं पनि डेढ दशकको अवधिमा चौथो सञ्चार गृहमा काम गरिरहेको छु । यसै साताको भेटमा उनै अर्थमन्त्री खतिवडाले अर्को प्रश्न तेस्र्याए, ‘अहिले नाम चलेका पत्रकारहरु आआफ्नो अनलाइन खोलेर चलाउन थालेका छन् । किन यस्तो हुन्छ ?’ अनि उनले एक जना आफ्ना पुराना मित्रको पत्रकारिता अभ्यासको व्याख्यासमेत गरे । र नेपाली पत्रकारिताको दारुणिक कथा आफ्नो मानसपटलमा राखेर बसेको पाएँ । परिस्थिति त्यस्तै हो भने पत्रकार भनेर हिँड्न पनि समाजमा गाह्रो हुने स्थिति आइसकेको छ ।

लगानीकर्ता र पत्रकार एउटै भएपछि पत्रकारको प्राथमिकतामा पत्रकारिता पर्दैन, व्यवसाय नै पर्छ । त्यसैले यस दिशामा सरकारले पनि उपयुक्त कदम चाल्नुपर्छ ।

अर्थमन्त्री खतिवडाले राष्ट्र बैङ्कमा रहँदादेखि नै बैङ्कर व्यवसायी छुट्टिनुपर्ने बताउँदै आएका थिए । उनको त्यो अडान अद्यापि छ । ब्याजदर बढी भयो भनेर उद्योगी सडकमा उत्रिरहेका बेला अर्थमन्त्री खतिवडाले उल्टो उनीहरुलाई नै प्रश्न गरेका छन्, ‘आन्दोलन कसका विरुद्ध ।’ स्वाभाविक पनि छ, आफैं बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक समितिमा बसेर ब्याजदर बढाउँदै जाने अनि फेरि आफैं ब्याजदर बढी भयो भन्दै सडकमा ओर्लिने, सुहाउँदो विषय नै भएन । हो, अहिले पत्रकारितामा पनि त्यस्तै स्वार्थको द्वन्द्व छ । आफैं सञ्चार प्रतिष्ठानको सञ्चालक अनि आफैं पत्रकार । यसले के व्यावसायिक पत्रकारिताको जगहसाइ गर्दैन र ?

अहिले पत्रकारको व्यावसायिकता व्यवसाय टिकाउने साधन मात्र बनेको छ । आफ्नो गल्ती कमीकमजोरी लुकाउने थलो बनेको छ । क्षमता अभिवृद्धि नगर्ने, सम्बन्धित विषयमा दक्षता हासिल नगर्ने, ‘कपीपेस्ट’ पत्रकारिता गर्ने र एउटा स्थानबाट आफ्नो स्वार्थ पूर्ति नभएपछि अर्को संस्थामा लाग्ने प्रवृत्तिले पश्रय पाइरहेको छ । नयाँ व्यक्ति पत्रकारितामा आउँदा पनि पर्याप्त ज्ञान लिएर आउनुपर्छ । सरकारले न्यूनतम सेवासुविधा लागू गर भन्दा साना सञ्चार गृहलाई पेलिएको भन्ने अवस्था आउँछ । कुनै पनि कम्पनी व्यवसाय गर्न खुलेपछि सानोठूलो भन्ने हुन्छ र ! सानो पनि व्यवसाय फस्टाउँदै गएपछि ठूलो हुने होइन र !

स्रोत उल्लेख गर्दै मनगढन्ते तथ्य लेखेर व्यक्ति र संस्थाविरुद्ध जाइलाग्ने प्रवृत्तिले पनि स्थान पाउन थालेको छ । यसले पत्रकारिता क्षेत्रको बदनामी मात्रै गरेको छैन, पत्रकारलाई हेर्ने आम दृष्टिकोणमै दोष देखिन थालेको छ । त्यसैले पनि पत्रकार र सञ्चारगृह को हो र त्यसको वास्तविकता के हो भन्नेबारे बुझ्नु जोकसैका लागि आवश्यक छ । लगानीकर्ता र पत्रकार एउटै भएपछि पत्रकारको प्राथमिकतामा पत्रकारिता पर्दैन, व्यवसाय नै पर्छ । त्यसैले यस दिशामा सरकारले पनि उपयुक्त कदम चाल्नुपर्छ । अरूलाई पारदर्शिता देखाउन आग्रह गर्ने पत्रकार, सम्पादक र सञ्चारमाध्यमको लगानी पनि पारदर्शी हिसाबले देखिनुपर्छ । उनीहरुले लिने सेवासुविधा देखिनुपर्छ । त्यसका लागि सरकारले कानुन नै बनाउनुपर्छ । र कानुन बनाएर मात्रै हुँदैन, त्यसलाई अक्षरशः लागू गर्नुपर्छ । भलै यसका लागि सरकार प्रेसविरोधीको बिल्ला भिर्न किन नपरोस् ।

अहिले पनि धेरै पत्रकार/कर्मचारीले काम गरेबापतको पारिश्रमिक धेरै ठाउँमा लिन बाँकी छ । संस्था खोल्ने तर, घाटामा छ भनेर दिनुपर्ने न्यूनतम सेवासुविधा पनि नदिने सञ्चारमाध्यम बाँचिरहनु पर्दैन । त्यस्ता संस्था मर्दा पत्रकारिता मर्दैन । पत्रकार पनि काम पाए भनेर हामफाल्नु हुँदैन । आफूले लिनुपर्ने सेवासुविधा त्यसै छाड्नु पनि किन ? एकदुई व्यक्तिका कारण सिङ्गो संस्था र क्षेत्र नै बदनाम हुनु कदापि राम्रो होइन । आफूले पाउने सुविधा पनि लिन नसक्ने पत्रकारले कार्यस्थलभन्दा बाहिर बसेर प्रेस रिलिज लेखिदिएर आएको पैसाबाट आफ्नो सानसौकत बढाउने र ठूलो पत्रकार बन्ने अनि अरुका हकअधिकारबारे कुरा गर्नु अलि नसुहाउला कि ?

त्यसैले पहिले हामीले आफ्नो अनुहार पनि ऐनामा हेर्ने कि ?