म्यानपावर कम्पनीको धरौटी बढेर २ करोडसम्म पुग्यो, ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने

वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावरले ५० लाख नगद र एक करोड बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउनेले दुई करोड नगद र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको हो ।

काठमाडौ । सरकारले म्यानपावर कम्पनीहरुको धरौटी रकम बढाएर २ करोड रुपैयाँसम्म पुर्याएको छ । यसअघि ७ लाख रुपैयाँ रहेकोमा १ करोड ९३ लाख रुपैयाँ बढाएको हो । यस्तै २ करोड धरौटी राख्ने म्यानपावर कम्पनीले थप ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्ने भएको छ ।

यसअघि ६ करोड रुपैयाँसम्म पुर्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारी रहेका बेला संसदको कानुन समितिले संशोधन गरी २ करोड रुपैयाँसम्म पुर्याएको हो ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई ठगी गरेको भन्दै म्यानपावर कम्पनीको संख्या घटाउने उद्देश्यका साथ धरौटी रकम बढाउनका लागि संसदमा विधेयकसमेत दर्ता भइसकेको अवस्थामा चौतर्फी दबाबपछि श्रममन्त्री गोकर्ण विष्ट पनि सहमत भएका हुन् ।

जुनसुकै हालतमा धरौटी रकम बढाउने अडानमा रहेका मन्त्री विष्टकै पार्टी नेकपाका सांसदले संसदमा संशोधन प्रस्ताव पेस गरेका थिए । श्रम मन्त्रालयले म्यानपावरहरुको धरौटी रकमको हकमा ५ हजारभन्दा बढी पठाउनेको छ करोड र त्यसभन्दा कम पठाउनेलाई ३ करोड रुपैयाँ धरौटी राख्नु पर्ने प्रावधान ल्याएको थियो ।

लामो विवाद र बहसपछि सोमबार बसेको कानुन समितिको बैठकले धरौैटी रकम घटाएको हो । समितिले तीन भागमा वर्गीकरण गर्दै वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावरले ५० लाख नगद र एक करोड बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउनेले दुई करोड नगद र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको हो ।

यसैगरी वार्षिक एक सय जना पनि कामदार नपठाउने म्यानपावर कम्पनीलाई एक पटक अवसर दिने र अर्को वर्ष पनि एक सय जना कामदार पठाउन नसके कम्पनी खारेज गर्ने व्यवस्था पनि गर्ने निर्णय गरेको छ । यस्तै एकै घरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्र मर्ज गर्न समय दिने निर्णय पनि कानुन समितिले गरेको छ । समितिले यो विधेयक मंगलबार बस्ने संसदमा पेस गर्ने निर्णय गरेको छ ।

यसअघि सबै म्यानपावर कम्पनीको धरौटी सात लाख रुपैयाँ नगद र २३ लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था थियो । श्रम मन्त्रालयले धरौटी रकम बढाउने तयारी गरेपछि नेपाल बैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाउँदै आएको थियो । संघले मन्त्रालयले धरौटी रकम बढाएर विदेशमा जाने कामदारहरु ठगीनबाट नरोकिने भन्दै संशोधनका लागि आवाज उठाउँदै आएको थियो ।