भ्रमण वर्ष २०२० को प्रदेश समिति पनि गठन भएन

पर्यटन व्यवसायी तथा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमार अधिकारीले भ्रमण वर्षका विषयमा अहिलेसम्म कतै पनि कुनै विषयमा छलफल र योजना नबनेको बताए । ‘न सचिवालय बनेको छ, न त समितिले पूर्णता पाएको छ । यसरी कसरी भ्रमण वर्ष सफल होला !’ उनले आश्चर्य व्यक्त गरे । अब तीव्रतासाथ प्रचारप्रसारमा लाग्नुपर्ने भए पनि केही नभएको उनले बताए ।

८ महिनापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदै छ । २० लाख पर्यटक भित्र्याएर मुलुकको पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न खोजिएको भ्रमण वर्षका आगामी योजनाहरु अझै बनेका छैनन् ।

भ्रमण वर्षको अहिले न सचिवालय छ, न त अहिलेसम्म प्रदेश समिति नै गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ४ महिनाअघि पर्यटन व्यवसायभन्दा बाहिरका व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्षको संयोजक तोके पनि अहिलेसम्म वैद्यले प्रदेश समिति बनाउन सकेका छैनन् ।

भ्रमण वर्षको समय नजिकिँदै गर्दा तीव्ररुपमा काम हुनुपर्ने भए पनि कुनै काम अगाडि नबढ्दा पर्यटन व्यवसायीहरुको विरोध सुरु हुन थालेको छ ।

पर्यटन व्यवसायी तथा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमार अधिकारीले भ्रमण वर्षका विषयमा अहिलेसम्म कतै पनि कुनै विषयमा छलफल र योजना नबनेको बताए । ‘न सचिवालय बनेको छ, न त समितिले पूर्णता पाएको छ । यसरी कसरी भ्रमण वर्ष सफल होला !’ उनले आश्चर्य व्यक्त गरे । अब तीव्रतासाथ प्रचारप्रसारमा लाग्नुपर्ने भए पनि केही नभएको उनले बताए ।

भ्रमण वर्ष २०२० को पुस १६ मा बसेको मूल समितिले तत्काल प्रदेश समिति गठन गर्ने निर्णय गरे पनि हालसम्म त्यसले पूर्णता पाउन सकेको छैन । कार्यक्रम संयोजक सुरज वैद्य रहेको समितिको सदस्यमा विप्लव पौडेल संलग्न छन् । तर पौडेलले सबै प्रदेश र जिल्लामा निजीक्षेत्रको प्रतिनिधित्व गर्दै समिति बनाउने जिम्मा पाए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

मूल आयोजक समितिका सदस्य पौडेलले प्रदेशस्तरीय समिति बन्न अझै केही समय लाग्ने प्रतिक्रिया दिए । अबको १० देखि १२ दिनसम्म सबै प्रदेशमा समितिले पूर्णता पाउने उनले बताए । सबै ठाउँमा समितिका सदस्यको नामावली आइसकेको र प्रदेशका मन्त्रीसँग समन्वय गरिरहेकाले ढिलाइ भएको उनको भनाइ छ ।

२० लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षा लिएको सरकारले तयारीलाई तीव्रता दिइएको पाइँदैन । भ्रमण वर्ष २०२० को संयोजक छनोटकै बेला विवादमा परेका वैद्यले पछिल्लो समय सचिवालय राख्ने भवनसमेत पाएका छैनन् । पर्यटन क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई संयोजक बनाएको भन्दै केही पर्यटन व्यवसायी त्यही बेलादेखि रुष्ट थिए । यद्यपि भ्रमण वर्ष सफल बनाउन सबै लागिपर्ने प्रतिबद्धता जनाए पनि पछिल्लो समय गतिविधि शून्य भएको भन्दै पुनः वैद्यको विरोध हुन थालेको छ ।

भ्रमण वर्षका कार्यक्रमलाई प्राथमिकता नदिएको, पर्यटन क्षेत्रका कार्यक्रममा सहभागिता धेरै नजाउने गरेकोलगायत आरोप उनलाई लाग्न थालेका छन् । विगतका वर्षमा भएका भ्रमण वर्षको तयारी दुई वर्षअघिबाट सुरु गर्ने गरे पनि यो पटक भने चुपचाप अवस्थामा रहेको पर्यटन बोर्डका अधिकारीहरुको भनाइ छ ।

यो पनि पढ्नुहोस्

२० लाख पर्यटक ल्याउने भ्रमण वर्ष २०२० को छैन कार्यालय