जापान र चीन उडानका लागि एओसी पर्खिंदै नेपाल एयरलाइन्स

जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिइसकेको छ । गत असार र साउनमा भित्र्याएका दुई ओटा वाइडबडी जहाज नयाँ गन्तव्यमा उडाउन नसकेको आरोप लागिरहेको बेला एनएसीले जापान र चीनमा उडानका लागि तयारी गरेको थियो ।

काठमाडौं । वाइडबडी जहाज फागुनभित्रमा जापान उडाउने तयारी गरिरहेको नेपाल एयरलाइन्स (एनएसी)ले विमान उडान अनुमति (एओसी) नपाएकै कारण समस्यामा परेको छ । जापानले एओसी दिन ढिलाइ गरेकै कारण निर्धारित समयमा उडान गर्न समस्या भएको एनएसीका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

एओसीका लागि आवश्यक सम्पूर्ण कागजपत्र जापान पठाइसकेको उनले बताए । ‘जापानले माग गरेको जति कागजपत्र पठाइसकेका छौं,’ सहप्रवक्ता कोइरालाले भने, ‘एओसी दिन ढिलाइ गरेकै कारण फागुनमा उडान नहुने भएको हो ।’ एओसी पाएपछि पनि उडानको सम्पूर्ण प्रक्रिया पूरा गर्न करिब १ महिना लाग्ने भएको चैत वा वैशाखमा मात्र उडान हुने जनाएको छ ।

जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिइसकेको छ । गत असार र साउनमा भित्र्याएका दुई ओटा वाइडबडी जहाज नयाँ गन्तव्यमा उडाउन नसकेको आरोप लागिरहेको बेला एनएसीले जापान र चीनमा उडानका लागि तयारी गरेको थियो ।

यस्तै चीनले पनि हालसम्म एओसी दिएको छैन । चैतभित्रमा उडान भर्ने गरी तयारी गरेको एनएसी एओसी नपाएकै कारण समस्यामा परेको हो । आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यसहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् । निगमले साताका ३ उडान गर्नेछ । नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा आगामी अप्रिलदेखि कामदारका रुपमा पनि नेपाली लैजाने तयारी भइरहेको छ । एनएसीका कार्यकारी अध्यक्ष मदन खरेलले नयाँ गन्तव्यका रुपमा जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा उडाउने बताएका थिए । तर एओसी लिन नसकेकै कारण फेरि एनएसीले नयाँ गन्तव्यमा तत्काल उडान नपाउने भएका हुन् ।

निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैङ्कक र कतारमा उडान भर्दै आएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइडबडी ए–३३० जहाज, दुई न्यारोबडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।