नेपाल एयरलाइन्सलाई जापानले एक वर्षसम्म एयरपोर्ट शुल्क नलिने

बढ्दो खर्च घटाउनका लागि ओसाका एयरपोर्ट अथोरिटीसँग छलफल गर्दा एक वर्षको पार्किङ र ल्यान्डिङ शुल्क नलिने र त्यसपछि पनि भारी छुट दिने प्रतिबद्धता जनाएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए ।

काठमाडौै । नेपाल वायु सेवा निगमले जापान उडानको तयारी अन्तिम चरणमा पुर्याइरहेका बेला ओसाका विमानस्थलले एक वर्षसम्म ल्यान्डिङ र पार्किङ शुल्क नलिने घोषणा गरेको छ ।

नेपाल एयरलाइन्सले काठमाडौंबाट ओसाकासम्म सीधा उडानका लागि तयारी गरिरहेको छ । ओसाका विमानस्थलले एक वर्षको पार्किङ्ग र ल्यान्डिङ शुल्क नलिँदा निगमको खर्च धेरै घट्ने जनाइएको छ ।

बढ्दो खर्च घटाउनका लागि ओसाका एयरपोर्ट अथोरिटीसँग छलफल गर्दा एक वर्षको पार्किङ र ल्यान्डिङ शुल्क नलिने र त्यसपछि पनि भारी छुट दिने प्रतिबद्धता जनाएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए ।

‘ओसाका एयरपोर्टले एक वर्षको पार्किङ र ल्यान्डिङ शुल्क नलिने जानकारी निगमलाई दिएको छ,’ उनले भने, ‘यसबाट निगमलार्ई एक करोड रुपैयाँभन्दा बढी फाइदा हुने छ ।

संसदको सार्वजनिक लेखा समितिमा जापानको ओसाकामै उडान किन भन्दै केही सांसदले आवाज उठाएका थिए । ती सांसदले नारिता विमानस्थलमा उडान गर्न सुझावसमेत दिएका थिए । तर, निगमले नारिता र टोकियो विमानस्थलमा तत्काल उडान अनुमति नपाइने र कानसाइ तथा ओसाकामा पाइने भएकाले हालका लागि ओसाकामा उडान गर्न लागिएको जनाएको छ । यस्तै कानसाइ र ओसाका विमानस्थलमा निगमको आवश्यकताअनुसार स्लट टाइम पाइने तथा नारिता एवम् टोकियो विमानस्थलमा त्यो सम्भवन नभएको समेत उल्लेख गरेको छ ।

ओसाकामा निगमसँग पहिले पनि उडान गरेको अनुभव भएको तथा विमानस्थल नजिकका क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको जनाएको छ । यस्तै ओसाकाबाट टोकियो पुग्न बुलेट ट्रेनले सहज बनाएको समेत निगमले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति (एओसी) दिइसकेको छ भने जापानमा जापान सिभिल एभिएसन ब्युरो ( जेक्याब)बाट एओसी पाउन बाँकी छ । जेक्याबले एओसी दिन ढिलाइ गरेकै कारण तोकिएको समयमा जापान उड्न नसक्ने पनि निगमले जनाएको छ ।

यो पनि पढ्नुहोस्

जापान र चीन उडानका लागि एओसी पर्खिंदै नेपाल एयरलाइन्स

सहप्रवक्ता कोइरालाले एओसी पाएपछि तयारीका लागि करिब एक महिना लाग्ने भएकाले फागुनमा उडान सम्भव नभएको बताए । ‘जति सक्दो चाँडो जापान उडानका लागि उच्चस्तरमा छलफल भइरहेको छ,’ उनले भने ।