खर्च घटाउँदै निगम, लाइन मेन्टेनेन्सको काम आफै गर्दै

खर्च घटाउनका लागि लामो समयदेखि मर्मतसम्भार गर्दै आएको ब्रिटिश कम्पनी बीसीटीलाई हटाएर निगम आफैले गर्ने तयारी गरिरहेको छ । ब्रिटिश कम्पनीले एयरबस ३३० को लाइन मेन्टेनेन्सको काम गर्दै आएको छ ।

काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो समय खर्च कटौती गर्न विभिन्न उपाय निकाल्न थालेको छ । लामो समयदेखि घाटामा रहेको तथा नाफा कमाउन नसकेको आरोप खेपिरहेका बेला निगमले खर्च कटौतीतर्फ ध्यान दिन थालेको हो ।

खर्च घटाउनका लागि लामो समयदेखि मर्मतसम्भार गर्दै आएको ब्रिटिश कम्पनी बीसीटीलाई हटाएर निगम आफैले गर्ने तयारी गरिरहेको छ । ब्रिटिश कम्पनीले एयरबस ३३० को लाइन मेन्टेनेन्सको काम गर्दै आएको छ ।

याे पनि पढनुस् : नेपाल एयरलाइन्सलाई जापानले एक वर्षसम्म एयरपोर्ट शुल्क नलिने

ब्रिटिश कम्पनीले लाइन मेन्टेनेन्सबापत वार्षिक एक करोडभन्दा बढी रकम लैजाने गरेको छ । सो रकम बाहिरिनबाट जोगाउन निगमकै इन्जिनियरहरुबाट काम भइरहेको सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनले ब्रिटिश कम्पनीसँगको सम्झौता अझै ६ महिना बाँकी हुँदा तत्कालै हटाउन नमिल्ने भएकाले नेपाली इन्जिनियरले उनीहरुसँगै काम गरिरहेको बताए ।

‘६ महिनापछि लाइन मेन्टेनेन्सको काम निगमकै इन्जिनियरबाट हुन्छ,’ सहप्रवक्ता कोइरालाले भने, ‘यसले निगमलाई आर्थिक भार निकै कम हुन्छ ।’ यस्तै निगमका इन्जिनियरहरुको कार्यक्षमतासमेत वृद्धि हुने उनको भनाइ छ ।

उता जापानको ओसाका विमानस्थलले पनि निगमसँग एक वर्षसम्म पार्किङ र ल्यान्डिङ शुल्क नलिने निर्णय गरेको छ । जसबाट निगमलाई बार्षिक करोड रुपैयाँभन्दा बढी बचत हुनेछ ।