चार्ल्स शोभराजको सजायबारे निणर्य गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । ‘विकिनी किलर’का रूपमा ख्याती कमाएका अन्तर्राष्ट्रिय अपराधि चार्ल्स शोभराजलाई कैद सजायको टुंगो लगाउन सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको आइतबार बसेको इजलासले शोभराजको सजायबारे सरकारलाई आदेश दिएको हो।

शोभराजका तर्फबाट अधिवक्ता शाकुन्तला थापाले दायर गरेको निवेदनउपर फैसला गर्दै सोमबार सर्वोच्चले छुट दिने विषय सरकारको अधिकार भएको फैसला सुनाएको हो।

सर्वोच्चले कसलाई छुट दिने र कुन कानुनअन्तर्गत छुट दिने विषय सरकारको भएको भन्दै त्यस सम्वन्धी तीन महिना भित्र निर्णय गर्न सरककारको नाममा आदेश दिएको हो।

यसअघि कात्तिक २१ गते शोभराज कैद छुटको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागार थुनामा रहेका उनले वारेसनामामार्फत रिट दर्ता गरेका हुन्।

उनी कारागार नियमावली अनुसार आफूले नेपाली नागरिक सरह पाउनुपर्ने छुट सुविधा पाउनुपर्ने दाबी गर्दै सर्वोच्च पुगेका थिए।

कारागार नियमावली अनुसार ७० वर्ष उमेर कटेका, असल चालचलन भएका कैदीलाई कारागारको सिफारिसमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने व्यवस्था छ।

उक्त दफामा टेकेर शोभराजले आफुले पनि छुट पाउनुपर्ने दाबी गरेका हुन्। उनले आफू ७४ वर्ष ६ महिना भएको दाबी गरेका छन्। हत्या अभियोगमा सर्वोच्चको फैसलामा उनी २०६० असोज २ गतेदेखि जेलमा छन्।

२०३२ सालमा अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो।

त्यस्तै २०७१ सालमा जिल्ला अदालत भक्तपुरले पनि एक क्यानडेली नागरिकको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाएको थियो।

अदालतका फैसला अनुसार शोभराज २०८० असोज १ सम्म जेलमा बस्नुपर्नेछ।

को हुन सोभराज के के गरे अपराध

सन् १९४४ मा भियतनाममा जन्मिएका चार्ल्स शोभराजको आपराधिक जीवन ६० को दशकमा सुरू भएको हो।

फ्रान्सेली सेना रहेका सौतेनी बुवाको छत्रछाँयामा हुर्किएका शोभराजले सौतेनी भाइबहिनीका कारण स्वभाविक रूपमा अभिभावकको माया ममता पाउन सकेनन्।

परिवारसँग फ्रान्स र इन्डोचाइना क्षेत्रमा ओहोरदोहोर गरिरहेका शोभराजमा अपराधिक छवि किशोरावस्थादेखि नै देखा परेको थियो।

सन् १९६३ मा गैरकानुनी रूपमा अर्काको घरमा छिरेको अपराधमा पहिलोपटक उनले पेरिसमा केही समय जेल सजाय  भोगेका थिए।

जेलमै रहेको समयमा उनी फेलिक्स डिस्कोग्नी नाम गरेका एक जना धनी युवासँग नजिकिन पुगे। फेलिक्स जेलका स्वयमसेवक थिए।

जेलबाट छुटेपछि शोभराज डिस्कोग्नीसँगै पेरिसको उच्च घराना र आपराधिक अन्डरवर्ल्डसँग जोडिन पुगे। त्यहाँबाटै उनले चोरी र डकैतीबाट धन कमाउन थाले।

यसैबीच उनको भेट च्यान्टल कोम्पाग्ननसँग भयो र उनीहरुबीच नयाँ सम्बन्ध बन्यो। यसैबीच चोरी गरेको कारबाट भागेपछि उनी गिरफ्तारमा परे र आठ महिना त्यहाँ जेल सजाय काटे।

उनी जेलमा रहँदा च्यान्टलले उनलाई निकै सहायता गरिन् र उनको रिहाई लगत्तै ती दुईले विवाह गरे।

शोभराज र गर्भवती च्यान्टलले १९७० मा फ्रान्स छोडेर एसिया भागे। पूर्वी युरोपबाट यी दुई फर्जी कागजात लिएर पर्यटकलाई लुट्दै एसिया आइपुगेका थिए।

त्यसै वर्ष उनी मुम्बाई आइपुगे। च्यान्टलले त्यहाँ छोरी जन्माइन् उषा। भारत आएर शोभराजले आफ्नो आपराधिक जीवनलाई फेरि सुरू गरे।

कार चोर्ने, तस्करी गर्ने कामबाट पैसा कमाउँदै गर्दा उनको झुकाव जूवातासमा बढ्न थाल्यो।

भारतमा उनी पहिलोपटक १९७१ मा गिरफ्तार भएका थिए। चार्ल्सले मुम्बईमा एक अपराधीसँग सम्पर्क गरी उसलाई लिएर दिल्ली पुगे। तर, चार्ल्सले त्यस व्यक्तिको दुई वटा रिभल्भर चोरेर मुम्बाई फिर्ता आए।

चार्ल्सलाई पहिलोपटक गिरफ्तार गर्ने असिस्टेन्ट कमिशनरबाट रिटायर्ड भएका मधुकर सिन्धेका अनुसार चार्ल्स र उनको गिरोह एयर इण्डियामाथि हमला गर्ने योजना बनाइरहेका थिए।

१४ नोभेम्बरको दिन चार्ल्स सुट लगाएर बाटोमा हिँडीरहेका थिए त्यहीँ समय प्रहरीले उनलाई गिरफ्तार गरेको थियो।

सन् १९७३ मा चार्ल्सले दिल्लीको अशोका होटलमा असफल लुटको प्रयास गरेपछि उनी गिरफ्तारीमा परेका थिए।

उनले त्यही समय चोरी गरेका थिए जब तत्काल अमेरिकी विदेशमन्त्री हेनरी किसिङगर भारत यात्रामा आएर अशोका होटलमै बसेका थिए। तर, जेलमा रहँदा उनले एपेन्डिक्साइडको बहाना बनाएर वेलिङटन अस्पतालबाट भाग्न सफल भए।

दिल्लीबाट भागेपछि चार्ल्सले आफ्नो अपराध गर्ने शैलीमा परिवर्तन ल्याए। उनको प्रमुख विशेषता महिलाहरुलाई चाडै आफूप्रति आकर्षण गर्न सक्थे।

महिलाहरू उनीप्रति मरिमेट्थे। आफूप्रति आकर्षित धनी महिलालाई कारमा लिएर उनी हिँड्थे र उनीहरूलाई नशालु औषधि दिएर एकान्त ठाउँमा लगि उनीहरूलाई नंग्याएर सबै पर्स, गहना लुट्थे।

ती महिलाको घर अगाडि नै थाहा पाएको कारण चाबी लिएर घर पनि लुट्थे र दोस्रो देश भाग्ने गर्थे। तर, पछि होशमा आएर ती महिलाले उनको बारेमा बताउन थालेपछि उनले लुटेका महिलाहरुलाई पेट्रोल खन्याएर मार्न थाले। यसरी उनले विश्वभरी २५/३० जना महिलाको हत्या गरेको अभियोग स्वीकारेका छन्।

चार्ल्स सोभराज आफूले गरेका अधिकांश हत्याहरू ड्रग्स ओभरडोजका कारण भएको दाबी गर्छन्। तर, अनुसन्धानकर्ताका अनुसार पीडितले सोभराजको खुलासा गर्ने धम्की दिएपछि उनले तिनीहरूको हत्या गर्ने गर्थे।

चार्ल्सले हत्या गरेको पहिलो महिला थिइन्-अमेरिकी शहर सिएट्टलकी टेरिजा नोल्टोन। उनी थाइल्याण्ड खाडीस्थित एउटा पूलमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन्।

उनले फूलबुट्टे बिकिनी लगाएकी थिइन्। नोल्टनको शरीर फेला पर्दा उनको डुबेर मृत्यु भएको आशंका गरिएको थियो। तर, पछि उनको पोस्टमार्टम रिपोर्ट र फोरेन्सिक जाँचले उनको हत्या भएको पुष्टि गरेको थियो।

दिल्लीको तिहाड जेलमा चार्ल्सले त्यहाँका अधिकारी र कैदीलाई यसरी प्रभाव पारेका थिए जसले उनको शान यति बढायो उनलाई जेलमा सबैले चार्ल्स साहाब भनि सम्बोधन गर्ने गर्थे।

प्रत्यक्षदर्शी भन्छन्, ‘जब उनी तिहाड जेलको जेलरको कोठामा पुग्थे तब जेलर उनलाई आफ्नो कुर्सी छोडिदिन्थे। धेरै वटा भाषाको ज्ञान र शानदार व्याक्तित्व भएका कारण उनले मिडिया, विदेशी र अन्य धेरैलाई आफ्नो प्रभावमा राखेका थिए।’

जेलमै उनी रासलिला रचाउँथे भन्ने पनि सुन्नमा आएका छन्।

तिहाड जेलबाट छुटेपछि उनी फ्रान्स पुगे र उनले भारी राशीको बदलामा पत्रकारहरुलाई अन्तरवार्ता दिए। २००३ मा उनी नेपाल आए। नेपाल प्रहरीले उनलाई गिरफ्तार गर्‍यो।

१२ जून २०१७ मा डाक्टर रामेश कोइरालाले चार्ल्स सोभराजको बाइपास हार्ट सर्जरी गरे। चिकित्सक रामेश कोइरालाका अनुसार चार्ल्स निकै सहयोगी र दानी भएको जस्तो कुरा गर्थे। अस्पतालको आइसियुमा बेड थपिदिन आफू फ्रान्सेली दूतावासबाट सहयोग माग्ने कुरा गर्थे।

चिकित्सक कोइरालालाई आफ्नो सर्जरी गरेपछि कोइराला पनि चर्चित बन्ने र विश्वभरीका मानिसहरु उनी कहाँ उपचारका लागि आउने बताउँथे। रामेशका अनुसार शायद चार्ल्सको यस्तै चिप्ला र मिठा कुराले जवानीमा उनी मानिसहरुलाई प्रभावित पार्थे।

उनी आफूले गरेको अपराधलाई सफाया नाम दिन्छन् र आफ्नो अपराधलाई युद्वमा दुश्मन मार्ने सैनिकको कर्तव्यसँग तुलना गर्छन्।