सेयरका शेर ढाल्ने प्रतीक्षा !

अहिले बजार निरन्तर ११ सय अंकको सपोर्ट लिएर अघि बढ्न खोजिरहेको छ । तर, बजार माथि चढ्न निकै गाह्रो मानिरहेको छ । पछिल्ला कारोबार हेर्ने हो भने ११ सय विन्दु ५ दिनसम्म पछ्याइरहेको छ । माथि लाग्न खोज्दा पनि पटकपटक एउटै विन्दुमा आएर बजार रोकिनुले पनि अझै घट्ने संकेत गरेको रुपमा बुझ्न सकिन्छ ।

गत साता सेयर बजारका दुई ठूला शेर ढलाउने ठूलै कसरत भए । ठूला शेरमध्येका एक अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने हल्लाले निकै बजार पिट्यो । केही अनलाईन र सामाजिक सञ्जालमा अर्थमन्त्री खतिवडाको राजीनामाले बजार ततायो । अझ कतिपयले त पूर्वअर्थमन्त्री सुरेन्द्र पान्डेले अर्थ मन्त्रालय सम्हाल्ने हवाला पनि दिए । तर, वास्तविकता त्यस्तो थिएन । न त अर्थमन्त्री खतिवडाले तत्कालै राजीनामा दिनेछन् न त खतिवडाले राजीनामा दिँदैमा बजार माथी उकासिने अवस्था छ । तर, यहीबीचमा केही खेलाडीहरुले बजारमा चलखेल गर्न पनि भ्याए र फागुन ७ गते एकाएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २२ अंकको वृद्धि पनि भयो र यसले निरन्तरता पाउन भने सकेन ।

सामान्य अंक परिवर्तन हुनु अन्यथा नभए पनि घट्दो ट्रेन्डमा एकाएक बजार बढ्नुलाई पनि खेलाडीहरुले चलाखीपूर्ण व्यवहार गरेको रुपमा लिन सकिन्छ । अहिले सेयर बजार यो अवधिको तल्लो विन्दु खोज्ने क्रमममा छ । यो क्रम छिट्टै टुंगिन पनि सक्छ, केही समय अझै लम्बिन पनि सक्छ । लगानीकर्ताको मनोबल र सेयर किन्न सक्ने क्षमतामा बजार कता जाने भन्ने निर्भर गर्छ । त्यसो अर्थमन्त्री खतिवडाले बजार सुधारका लागि नीतिगत हस्तक्षेप गर्दै नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डमार्फत काम गरिसकेका छन् । यसले पनि के देखाउँछ भने नीतिगत हस्तक्षेपले मात्रै पनि बजार ठडिने अवस्था छैन । एउटा समूह सुरुदेखि नै खतिवडाको विरुद्ध प्रचारवाजी गर्ने र त्यसैको आडमा आफ्नो अभिस्ट पूरा गर्न लागिपरेको छ ।

अर्कोतिर नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुलाई हेपेको आरोपमा राजीनामा दिनुपर्ने भन्दै आन्दोलन नै सुरु गरे । केही अनलाइन सञ्चारमाध्यमले कार्कीले किन राजीनामा नदिने भनेर पनि प्रश्न उठाए । बोर्ड अध्यक्ष कार्की सुरुदेखी ब्रोकरको काम बैंकहरुलाई पनि दिनुपर्छ भन्ने पक्षमा छन् । तर, ब्रोकरहरु र केही लगानीकर्ता बैंकहरुलाई ब्रोकरसीप दिनुहुँदैन भन्ने पक्षमा छन् । त्यसैले पनि केही ब्रोकर र केही लगानीकर्ताहरु बोर्ड अध्यक्ष कार्कीको राजीनामा कुरेर बसेका छन् । सुरुमा अर्थमन्त्री खतिवडामार्फत दबाब दिएका उनीहरु अर्थमन्त्रीले टेरपुच्छर नलाएपछि अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालमार्फत खेल्न खोजिरहेका छन् ।

त्यसो त नेपालका ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी र कतिपय अवस्थामा लगानीकर्ताहरु पनि धितोपत्र बोर्ड नाम मात्रको संस्थाका रुपमा रहोस र काम गर्ने कुनै छन्द नदेखाओस् भन्ने चाहन्छ । बोर्डमा विगत केही वर्षदेखिको गतिविधिलाई हेर्ने हो भने प्रस्ट हुन मद्दत गर्छ । विगत एक दशकको बोर्डको क्रियाकलाप हेर्ने हो भने जतिबेला बोर्डका अध्यक्ष सक्रिय हुन खोज्छन् त्यति बेला ब्रोकर, मर्चेन्ट बैंकर र सूचीकृत कम्पनी तथा स्वयं बोर्डकै कर्मचारीहरु पनि विभिन्न ढंगले दबाब सिर्जना गरेको बुझ्न सकिन्छ । खासगरि डा.सुरबिर पौड्यालको समयमा सबै क्षेत्रले उनलाई अप्ठ्यारो बनाउने रणनीति अँगालेका थिए । उनको समयमा बोर्डकै कर्मचारीहरु पनि विभिन्न ढंगले आन्दोलनमा होमिएका थिए ।

तर, बाबुराम श्रेष्ठ अध्यक्ष हुँदा सबै आ–आफ्नो ठाउँमा आनन्दले बसेका थिए । किनभने त्यतिबेला बोर्डमार्फत कुनै पनि गतिविधि अघि बढेन । जसले गर्दा २०६८–२०७२ को अवधिले नेपालको पुँजी बजारले कुनै गतिसिलता हासिल गरेन । गर्नुपर्ने कुनै पनि काम त्यस अवधि अघि नबढ्दा अहिले बजारले छिटो सुधार खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । वर्तमान अध्यक्ष बोर्डमा आईसकेपछि केही न केही गतिविधिहरु अघि बढिरहेको छ । कतिपय विषय कतिपय क्षेत्रलाई मन नपर्न सक्छ त्यसको परिणामको रुपमा बोर्ड अध्यक्षको विरोध हुनु अन्यथा होइन । तर, बोर्डले आफूले गर्न सक्ने काहरु पहिचान गरि समयमै सुधारको पहल गर्नुपर्छ । वर्तमान अध्यक्ष कार्की नेपाल स्टक एक्सचेन्जको पनि महाप्रबन्धक भइसकेकाले बजार सुधार गर्न अझ धेरै काम गर्न सक्छन् ।

अहिले बजार निरन्तर ११ सय अंकको सपोर्ट लिएर अघि बढ्न खोजिरहेको छ । तर, बजार माथि चढ्न निकै गाह्रो मानिरहेको छ । पछिल्ला कारोबार हेर्ने हो भने ११ सय विन्दु ५ दिनसम्म पछ्याइरहेको छ । माथि लाग्न खोज्दा पनि पटकपटक एउटै विन्दुमा आएर बजार रोकिनुले पनि अझै घट्ने संकेत गरेको रुपमा बुझ्न सकिन्छ ।

लगानीकर्ताहरु हल्ला र सञ्चारमाध्यमको पछि लाग्नुभन्दा आफ्नै मोलिक सोच, विश्लेषण र अनुभवका आधारमा अगाडी बढ्नु उपयुक्त हुन्छ । कतिपय बेला लगानीकर्ताहरु हल्ला र अफवाहलाई बढी प्रोत्साहित गर्छन् र त्यसको जालोमा उनीहरु आँफै पर्छन् । तत्कालै बजारबाट लगानीकर्ताले कुनै प्रतिफल पाउने अवस्था छैन । अधिकांस सूचीकृत कम्पनीले प्रतिफल दिइसकेका छन् । बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको बजारमा ब्याजदरको प्रभाव विस्तारै देखिनेछ । राष्ट्र बैंकले ब्याजदर गणनामा नयाँ विधि प्रयोग गर्दा त्यसले वित्तीय क्षेत्रको नाफामा कमी ल्याउने निश्चित छ ।

अर्कोतिर विना योजना बढेको ४ गुणा पुँजीको प्रतिफल छिटो खोज्न दबाब दिँदा त्यसले गुणस्तरियता कायम नगर्ने र अन्ततः केही समयपछि वित्तीय क्षेत्रममा ठूलो समस्या पैदा हुने अवस्था छ । अर्कोतिर केन्द्रीय बैंकको नियमन तथा सपरिवेक्षकीय क्षमतामा पटक पटक प्रश्न उठ्न थालेको छ । यसले वित्तीय क्षेत्रलाई थप कमजोर बनाउने देखिन्छ । त्यसैगरी सूचीकृत जलविद्युत समूहको प्रतिफल खासै छैन । जसले गर्दा ति कम्पनीहरुप्रति लगानीकर्ताको चासो नदेखिएको प्रस्ट हुन्छ । अहिले नै पनि एक दर्जन जलविद्युत कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा कम छ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढिसकेको छ । केही बिमा कम्पनीको पुँजी पुग्न बाँकी छ । अन्य क्षेत्रमा नियामक नभएकाले कम्पनीहरु आ–आफ्ना ढंगले अघि बढ्ने गरेका छन् र त्यसको कुनै नियमन तथा सुपरिव्क्षण हुँदैन । धितोपत्र बोर्डलाई कसैले टेर्दैन । यस्तो अवस्थामा बजारले गति कसरी समाउने आँफैमा सन्देह छ ।

अर्कोतिर जबजब बजार घट्ने ट्रेन्ड सुरु भएपछि बजारमा विभिन्न खालको ह्विमहरु ल्याउने गरिन्छ । कहिले नेपाल टेलिकमको सेयर विक्री गर्ने फन्डा, कहिले कम्पनीहरुको संस्थापक सेयर हिस्सा घटाएर सर्वसाधारणमा परिवर्तन गर्ने नियतले पनि बजार प्रभावित पारेकै छ । नेपालको सेयर बजारको ट्रेन्ड हेर्दा साढे चार÷पाँच वर्ष बुलिस ट्रेन्डमा देखिन्छ भने तीन÷साढे ३ वर्ष वियरिस ट्रेन्डमा गएको देखिन्छ । २०६० यतामात्रै हेर्ने हो भने २०६५ सम्म बढेर ११७५ अंक पुगेको छ भने त्यसपछि २०६८ मा घटेर २९२ विन्दु समाएको छ । त्यस्तै फेरी बजार बढेर २०७३ मा बजार १८८१ अंकमा पुगेको छ भने त्यसयता बजार घटेर आईतबार ११ सय विन्दुमा रोकिएको छ । त्यसैले पनि अब विस्तारै सेयर खरिद गर्दै राख्ने लगानीकर्ताले नै आगामी दिनमा बाजी मार्नेछन् ।