‘हायर एन्ड फायर’को नीतिपछि निगम फर्किए दुई पाइलट

निगमले वाई १२ जहाज उडान गरिरहेका उद्धव घिमिरेलाई ए ३२० जहाजको उडान तालिममा पठाएसँगै चार ओटै वाई १२ ग्राउन्डेड भएका हुन् । उनीहरु बिदामा बसेकै कारण आन्तरिकतर्फका चार ओटै जहाज ग्राउन्डेड छन् ।

काठमाडौं । लामो समयदेखि काममा नफर्किएका दुई पाइलटलाई काममा नआए बर्खास्त गर्ने निगमले चेतावनी अटेरी दुई पाइलटमाथि ‘हायर एन्ड फायर’ नीति लागूदिएपछि दुई जना पाइलट नै काममा फर्केका छन् ।

निगमले हायर एन्ड फायरको नीति लागू गर्ने र काममा नआउने पाइलटलाई स्वतः बर्खास्त गर्ने जानकारी दिएपछि पाइलटहरु काममा फर्किएको निगमले जानकारी दिएको छ ।

निगमका दुई जना सिनियर पाइलट सञ्जय बादे र नेपेन्द्र भट्टराईले आफूभन्दा जुनियर पाइलटलाई ए–३२० को प्रशिक्षणमा पठाएको भन्दै पुस २९ गतेबाट बिरामी बिदामा बसेका थिए ।

निगम स्रोतका अनुसार ती दुवै पाइलटले फागुन १३ र १६ गते इमेलमार्फत काममा फर्किने जानकारी दिएका थिए । काममा फर्किने जानकारी दिए पनि उनीहरुले २० दिनभन्दा बढी जहाज उडाउन छाडेका कारण पुनः मेडिकल जाँच गर्नुपर्ने भएकाले केही समय लाग्ने जनाइएको छ । मेडिकलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग समन्वय गरेर २/४ दिनभित्रमा सकिने उल्लेख छ ।

निगमले वाई १२ जहाज उडान गरिरहेका उद्धव घिमिरेलाई ए ३२० जहाजको उडान तालिममा पठाएसँगै चार ओटै वाई १२ ग्राउन्डेड भएका हुन् । उनीहरु बिदामा बसेकै कारण आन्तरिकतर्फका चार ओटै जहाज ग्राउन्डेड छन् ।

फागुन १० गते सञ्चारकर्मीसँग कुरा गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दुई जना सिनियर पाइलट ४१ दिनदेखि काममा नफर्केको र अब तत्काल काममा नफर्के सधैंका लागि बिदा गर्ने तयारीमा रहेको बताएका थिए ।

यस्तै निगमका सिनियर पाइलट आङनुरी शेर्पा अर्को साता चीनमा एक दिनको तालिममा जाने र उनी फर्किएपछि दुई जना पाइलट केबी लिम्बू र फिजुनाथ नेपालीलाई तालिम दिनेछन् । उनले एक महिनाको तालिम दिएपछि दुवै पाइलटले आन्तरिक उडान गर्नेछन् । निगमका अनुसार ती चार जना पाइलटले उडान सुरु गरेपछि आन्तरिक उडान अवरुद्ध हुँदैननन् ।