प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएपछि सरकारले बनायो छानबिन समिति

फागुन २१ गते प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गरेको यति एयरलाइन्सको जहाज निर्धारित समयमा काठमाडौं विमानस्थलमा ल्यान्ड नभई आकाशमै आधा घण्टा होल्ड भएको थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आकाशमा आधा घण्टा होल्डमा परेपछि सरकारले छानबिन समिति गठन गरेको छ ।

फागुन २१ गते प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गरेको यति एयरलाइन्सको जहाज निर्धारित समयमा काठमाडौं विमानस्थलमा ल्यान्ड नभई आकाशमै आधा घण्टा होल्ड भएको थियो । भीभीआईपी चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि अनुसन्धान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति बनाएको हो ।

समितिमा प्रकाश ढकाल, नेपाली सेनाका क्याप्टेन सुवास थापा, पर्यटन मन्त्रालयका उपसचिव सूर्यवंशी शर्मा कँडेल र नेपाल नागरिक उडड्यन प्राधिकरणकी नविना कर्माचार्य छन् ।

उच्चपदस्थ अधिकारी चढेको जहाज के कारणले आकाशमा होल्ड भएको हो भन्ने विषयमा अनुसन्धान गर्नका लागि छानबिन समिति बनेको छानबिन समितिका संयोजक सुरेश आचार्यले बताए । भीभीआईपी चढेको जहाज नै होल्ड गर्नुपर्ने के त्यस्तो कारण थियो वा सुरक्षा सावधानी अपनाइएको थियो या थिएन भन्ने विषयमा पनि अनुसन्धान हुने आचार्यले बताए ।

प्रधानमन्त्री चढेको जहाज उडेपछि झापा र काठमाडौं विमानस्थलबीच समन्वय भएको छ कि छैन अनुसन्धान गर्ने र त्यसमा दोषी देखिए कारबाहीको सिफारिस हुने उनले बताए ।