‘ग्राउण्ड ह्याण्डलिङ’ को एजेन्ट नपाएपछि वायुसेवा निगमको जापान उडान अन्यौलमा

फागुनभित्रै उडान गर्ने तयारी गरेको निगम ‘ग्राउण्ड ह्याण्डलिङ’को जिम्मेवारी लिएको सीकेटीएस कम्पनीले अन्तिममा नसक्ने जवाफ दिएपछि अन्यौलमा परेको हो । निगम श्रोतका अनुसार सीकेटीएस कम्पनीले पर्याप्त जनशक्ति नभएको भन्दै विकल्प खोज्न भनिसकेको छ ।

काठमाडौ । जापान उडानको तयारी गरिरहेको नेपाल वायुसेवा निगमले ‘ग्राउण्ड ह्याण्डलिङ’का लागि एजेन्ट नपाएकै कारण अन्यौलमा परेको छ । फागुनभित्रै उडान गर्ने तयारी गरेको निगम ‘ग्राउण्ड ह्याण्डलिङ’को जिम्मेवारी लिएको सीकेटीएस कम्पनीले अन्तिममा नसक्ने जवाफ दिएपछि अन्यौलमा परेको हो ।

निगम श्रोतका अनुसार सीकेटीएस कम्पनीले पर्याप्त जनशक्ति नभएको भन्दै विकल्प खोज्न भनिसकेको छ । पहिलाको कम्पनीले निगमको तालिका अनुसार उडान गर्न नसक्ने र कम्पनीको तालिका अनुसार निगमले उडान गर्न नसक्ने भएपछि नयाँ एजेन्टको खोजि गरिरहेको छ ।

सीकेटीएस कम्पनीले निगमलाई दिउँसो १२ देखी ३ बजेसम्म उडान गर्ने तालिका दिएको थियो । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे पुननिर्माण हुने भएकोले उनिहरुले दिएको समय तालिकामा उडान गर्न नसक्ने जवाफ दिएको छ । ‘ उनिहरुले दिएको समय तालिकामा कोरियामा पुग्न नेपालबाट विहान २ देखी ३ बजे उडान गर्नुपर्छ, निगमका उच्च अधिकारीले भने, त्यो बेला नेपालमा विमानस्थल बन्द हुनेभएकोले उडान गर्न सक्दैनौं ’ ।

जापानको ओसाका उडान गर्ने तयारी गरिरहेको निगमलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिइसकेको छ । यता जापानले भने निगमलाई उडान अनुमति दिइसकेको छैन् ।

गत असार र साउनमा भित्राएको २ वटा वाइडबडी ‘ए ३३०–२००’ जहाजले व्यवसायीक प्लान अनुसार लामो गन्तव्यमा उडान नगरेको भन्दै विरोध हुदै आएको छ ।

भदौ ३१ गते निगमका कार्यकारी अध्यक्षमा नियुत्त भएर आएका मदन खरेलले नयाँ व्यवसायिक योजना (विजनेश प्लान) बनाउदै जापान, चीन,कोरिया र साउदी अरबमा वाइडबडी मार्फत उडान भर्ने प्रतिबद्धता जनाएका थिए । तर उनले बनाएको तालिका अनुसार हालसम्म ती गन्तव्यहरुमा उडान भर्न सकेको छैन् ।