पोखरामा १७ वटा प्याराग्लाइडिङले मात्र उडान गर्न पाउने

१८ नम्बर वडामा पर्ने सराङकोटबाट प्याराग्लाइडिङ उडान हुने गरेको छ । चार बर्षदेखि कर नतिरी सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीलाई एक साता अघिनै कर तिर्न अन्तिम समय दिएको भएपनि व्यवसायीहरुको आग्रहमा पुनःएक साताको समय थप गरिएको थियो ।

काठमाडौं । पर्यटकीय नगरी पोखरामा शुक्रबारबाट १७ वटा प्याराग्लाइडिङ कम्पनीले मात्र उडान गर्न पाउने भएका छन् । पोखरा महानगरपालिकाले कर नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई उडान प्रतिबन्ध लगाउने चेतावनी दिएपछि १६ वटा कम्पनीले मात्र कर बुझाएका छन् । यस अघि नै १ कम्पनीले भने नियमित रुपमा कर बुझाउदै आएको थियो ।

महानगरपालिका १८ का वडा अध्यक्ष रोहन बहादुर थापाले शुक्रबार कर तिरेको रसिद ल्याउनेहरुलाई मात्र उडान गर्न दिने बताए । रसिद नदेखाउने कम्पनीलाई उडानमा रोक्ने उनको भनाइ छ । १८ नम्बर वडामा पर्ने सराङकोटबाट प्याराग्लाइडिङ उडान हुने गरेको छ ।

चार बर्षदेखि कर नतिरी सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीलाई एक साता अघिनै कर तिर्न अन्तिम समय दिएको भएपनि व्यवसायीहरुको आग्रहमा पुनःएक साताको समय थप गरिएको थियो ।

प्याराग्लाइडिङले महानगरपालिकालाई २०७२ देखि हालसम्मको गरी ८६ हजार रुपैयाँ तिर्नुपर्छ । महानगरले आर्थिक वर्ष २०७२÷०७३ र २०७३/०७४ मा ५ हजार ५०० रुपैयाँका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । आर्थिक वर्ष २०७२/०७३ देखि नै कर नतिरेको उनको भनाइ छ ।

पोखरामा प्याराग्लाइडिङ सञ्चालनका लागि करिब ६० ओटा कम्पनीले अनुमति लिएको भए पनि हाल ४० ओटा कम्पनीले मात्र उडान भर्दै आएको जनाएको छ ।