अलपत्र ‘भ्रमण वर्ष २०२० र बुटिक एयरपोर्ट’ योजना

पर्यटन मन्त्रालयमा सरुवा भएर आएका सचिव मोहनकृष्ण सापकोटाले पर्यटनमन्त्री अधिकारीसँग एक पटक मात्र छलफल गर्न पाएका थिए । नयाँ पर्यटनमन्त्री नियुक्तिमा ढिलाइ भएकै कारण धेरै काम गर्न असहज भएको सचिव सापकोटाको भनाइ छ । उनले धेरै निर्णयहरु मन्त्रीस्तरबाट गराउनु पर्ने भएकाले ढिलाइ भएको बताए ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्तिमा ढिलाइ भएपछि भ्रमण वर्ष २०२० र बुटिक एयरपोर्ट योजना अलपत्र परेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको ठाउँमा अर्को मन्त्री नियुक्त गरेका छैनन् ।

मन्त्री नभएकै कारण मन्त्रालयका धेरै काम अलपत्र परेको मन्त्रालय स्राेतको भनाइ छ । सरकारले महत्त्वकाङ्क्षी योजनाका रुपमा अघि सारेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्यक्रम पनि अलमल परेको छ । भ्रमण वर्ष २०२० को कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि मन्त्रिपरिषदले स्वीकृति दिइसकेको छ ।

केही समयअघि मात्र भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका संयोजक तत्कालीन पर्यटन सचिव कृष्णप्रसाद देवकोटाको सरुवा भएपछि उनको ठाउँमा नयाँ संयोजक अझै चयन हुन सकेको छैन । पर्यटन मन्त्रालयमा सरुवा भएर आएका सचिव मोहनकृष्ण सापकोटाले पर्यटनमन्त्री अधिकारीसँग एक पटक मात्र छलफल गर्न पाएका थिए । नयाँ पर्यटनमन्त्री नियुक्तिमा ढिलाइ भएकै कारण धेरै काम गर्न असहज भएको सचिव सापकोटाको भनाइ छ । उनले धेरै निर्णयहरु मन्त्रीस्तरबाट गराउनु पर्ने भएकाले ढिलाइ भएको बताए ।

भ्रमण वर्षको मूल आयोजक समितिका संयोजक पर्यटनमन्त्री रहने गरेका छन् । तर संयोजकनै नभएका कारण अन्य समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको मन्त्रालयको भनाइ छ । यस्तै हालसम्म प्रदेश समिति गठन भइसकेको छैन भने १०० ओटा नयाँ गन्तव्यबाट २० ओटा गन्तव्य छनौटको काम पनि अझै सकिएको छैन ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशीले नयाँ पर्यटन मन्त्रीको पर्खाइमा रहेको बताए । बोर्डमार्फत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको बताउँदै आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने प्रक्रिया पनि अघि बढ्न सकेको छैन । विमानस्थलको बुटिक एयरपोर्टको विषयमा अध्ययन गरिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निर्देशक वीरेन्द्रबाबु श्रेष्ठको निधनपछि अघि बढ्न सकेको छैन । श्रेष्ठको पनि मन्त्री अधिकारीसहित फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमेको थियो । अहिले उनको ठाउँमा नँया व्यक्तिलाई जिम्मेवारी दिइसकिएको छैन ।

बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटिक एयरपोर्टको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको थियो । तर मन्त्री अधिकारीको निधन भएपछि यस विषयमा मन्त्रालयले कुनै नयाँ निर्णय गरिसकेको छैन ।