क्यानले भीभीआईपीको आन्तरिक उडानमा संवेदनशीलता देखाएन (रिपोर्टसहित)

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आधा घण्टा आकाशमा होल्ड भएपछि मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदनमा क्यान र एयरलाइन्सका कर्मचारीले महत्त्व नदिएकै कारण लामो समयसम्म जहाज होल्ड भएको भन्दै सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विगत लामो समयदेखि अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलतालाई आवश्यकताअनुरुपको महत्त्व नदिने गरेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आधा घण्टा आकाशमा होल्ड भएपछि मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदनमा क्यान र एयरलाइन्सका कर्मचारीले महत्त्व नदिएकै कारण लामो समयसम्म जहाज होल्ड भएको भन्दै सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

फागुन २१ गते प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाज निर्धारित समयमा काठमाडौं विमानस्थलमा ल्यान्ड नभई आकाशमै आधा घण्टा होल्ड भएको थियो । भीभीआईपी चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि अनुसन्धान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई सोमबार बुझाएको रिपोर्टमा जहाज होल्ड हुनुमा संवेदनशील सूचना जिम्मेवार निकायले यथासमयमा प्रवाह नगर्नु, जिम्मेवार अधिकारीहरुले कार्यविवरण अनुसारको कार्य नगर्नु, भीभीआईपी शब्दलाई भीआईपी सुन्नु तथा धावनमार्गमा कुकुर छिर्नुलगायतका निष्कर्ष निकालेको छ ।

छानबिन समितिको सुझाव
यस्तै छानबिन समितिले यती एयरलाइन्सलगायत सबै वायुसेवा कम्पनीले आ–आफ्नो फ्लाइट प्रोग्राम र फ्लाइट प्लानमा भीभीआईपीले उडान गर्ने भए अनिवार्यरुपमा जानकारी दिन सुझाव दिएका छन् ।

प्रस्थान गर्ने विमानस्थलको एटीएस युनिटले पनि गन्तव्य विमानस्थलको एटीएस युनिटमा रेडियो सम्पर्क वा अन्य विद्युतीय माध्यमबाट भीभीआईपीले उडान गर्ने भए अनिवार्य रुपमा सम्प्रेषण गर्नुपर्ने र फ्लाइट कार्यक्रम र फ्लाइट प्लान बुझाउने व्यवस्था नभएका विमानस्थलमा भीभीआईपी सवार उडान हुने भए चालकदलले रेडियो सञ्चारमार्फत सो व्यहोरा सम्बन्धित एटीएस युनिटलाई अनिवार्य रुपमा जानकारी गराउनु पर्ने उल्लेख गरिएको छ ।

कारबाही सिफारिस
समितिले चन्द्रगढी विानस्थलका टावर कन्ट्रोलर र चन्द्रगढी विमानस्थलका नेपाल नागरिक उड्डयन कार्यालयका प्रमुखलाई विभागीय कारबाही गर्न क्यानलाई लेखी पठाउने, यती एयरलाइन्सका ग्राउन्ड ह्यान्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटीमा लापरवाही गरेका कारण विभागीय कारबाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने, चन्द्रगढी विमानस्थलस्थित यती एयरलाइन्सका फ्लाइट डिपार्चरलाई भीभीआईपी सवार हुने उडान तय भएको व्यहोरा फ्लाइट प्लानमा नजनाई टावरमा पेस गरेकोमा निजलाई विभागीय कारबाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने जनाएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच कन्ट्रोलमा भीभीआईपी सवार उडान ह्यान्डिल गर्ने ड्युटी कन्ट्रोलर, सुपरभाइजर र कोअर्डिनेटरलाई सचेत गराई नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को एनेक्स १ पर्सनल लिसिनिङमा भएको व्यवस्थाअनुसार स्वास्थ्य परीक्षण गराई श्रवण क्षमता एकिन गरेर मात्र काममा लगाउन क्यानलाई लेखी पठाउने र यती एयरलाइन्स उडान नं एनवाईटी ९२६ का चालकलाई फ्लाइट प्लान रुजु नगरेको र आफूले उडान भरेको वायुयानमा भीभीआईपी चढेको व्यहोरा सम्बन्धित एटीएस युनिटलाई जानकारी भए नभएको एकिन नगरेका कारण सचेत गराउन यती एयरलाइन्सलाई निर्देशन दिइएको छ ।

जहाज होल्ड हुनुका प्रमुख कारण
चन्द्रगढी विमानस्थलमा यती एयरलाइन्सका फ्लाइट डिपार्चरले फ्लाइट प्लानमा भीभीआईपी नजनाउनु, भीभीआईपी चढेको जहाज प्रस्थान गरेपश्चात् विमानस्थल प्रमुखले काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा कार्यरत ड्युटी अफिसरलाई गरेको खबरको संवेदनशीलता नबुझी काठमाडौं विमानस्थलका महाप्रबन्धक, उडान सञ्चालन निर्देशक र एटीएस युनिट कसैलाई खबर नगर्नुलगायतका छन् ।

छानबिन समितिमा पर्यटन मन्त्रालयका सहसचिव प्रकाश ढकाल, नेपाली सेनाका क्याप्टेन सुवास थापा, पर्यटन मन्त्रालयका उपसचिव सूर्यवंशी शर्मा कँडेल र नेपाल नागरिक उडड्यन प्राधिकरणकी नविना कर्माचार्य थिए ।