निगमले फेरि क्याप्टेन पाएन, ५० जनाका लागि २६ जनाले मात्रै दिए आवेदन ( सूचिसहित)

१५ जना जुनियर क्याप्टेन माग गरिएकोमा ३ जनाको मात्रै आवेदन परेको निगम श्रोतको भनाइ छ ।

काठमाडौं । नेपाल वायुसेवा निगमले यो पटक पनि पूर्णरुपमा क्याप्टेन नपाउने भएको छ । एकैपटक ५० जना क्याप्टेनका लागि आवेदन खुला गरेको निगममा २६ जनाले मात्र आवेदन दिएका छन् ।

निगमले सूचना प्रकाशन गरी १३ जना सिनियर क्याप्टेन माग गरेमा १ जनाको मात्रै आवेदन परेको छ । यस्तै १५ जना जुनियर क्याप्टेन माग गरिएकोमा ३ जनाको मात्रै आवेदन परेको निगम श्रोतको भनाइ छ । यसैगरी सिनियर को–पाइलट ९ जनाको लागि सूचना जारी गरिएकोमा ६ जनाले मात्र आवेदन दिएका छन् भने १३ जना जुनियर को–पाइलटमा भने १६ जनाले आवेदन दिएका छन् ।

निगमले आफूसँग हाल भएको जहाजहरु पाइलट अभावकै कारण उडाउन समस्या भएको बताउँदै आएको छ ।

पाइलट अभाव भएपछि निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले पनि आवेदन खुलाएका थिए । त्यो बेलापनि पर्याप्त मात्रामा पाइलटले आवेदन दिएका थिएनन् ।