नेपाल र जापानबीच श्रम सम्झौता, कोरियन मोडलमै कामदार लैजाने

अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अब जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने छ ।

काठमाडौं । नेपाल र जापानबीच श्रम सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट राजदुत नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् ।

अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अब जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने छ । भाषा परीक्षामार्फत् जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ हुने छ ।

गत माघ २ गते नेपाल र जापानका प्राविधिक टोलिबीच कामदार पठाउने प्रक्रिया टुङ्गयाउन भएको छलफलमा नेपालले सरकार मार्फत कामदार पठाउने प्रस्ताव राखेको थियो । श्रम मन्त्रालयले कामदार ठग्न नदिनका लागि सरकारमार्फत नै कामदार पठाउने प्रस्ताव राखेको जनाएको छ ।

जापानमा पुगेपछि कामदार नठगीए पनि विभिन्न कम्पनीमार्फत कामदार पठाउँदा नेपालमै ठगीने डर भएको श्रम मन्त्रालयका अधिकारीहरुको भनाइ छ । त्यसका लागि हाल कोरियामा कामदार पठाएकै मोडलबाट पठाउने श्रम मन्त्रालयले तयार गरेको थियो । कोरियामा हालसम्म गएका नेपालीहरु ठगीएको समचारहरु सार्वजनिक भएको छैन ।

नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार सेवासुविधा पाउनुपर्नेलगायत प्रस्ताव राखेको छ । जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जसमा निर्माणसहित १४ किसिमका उद्योगलाई पहिलो श्रेणीमा राखिएको छ  । नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ  । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।

पाँच वर्षका लागी ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेको जनाइएको छ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने भएकाले पहिलो चरणमा सबै देशमा छलफल अगाडि बढाएको छ । पछिल्लो समय जापानमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या धेरै रहेको छ । राम्रो आम्दानी हुने भएकै कारण विद्यार्थीहरु अध्ययनका लागि भन्दै चर्को शुल्क तिरेर जापान जाने गरेका छन । अध्ययनका लागि विद्यार्थीहरुले १३ देखि १५ लाख रुपैयासम्म तिर्ने गरेका छन ।

यो पनि पढ्नुहोस् ।

भाषा परीक्षामार्फत् जापान लैजाँदै नेपाली कामदार, न्यूनतम तलब २ लाख हुने

नेपाली कामदारलाई जापानले रोजगारी दिँदै, वैशाखदेखि लैजाने

जापानमा नेपाली कामदार पठाउन बाटो खुल्दै, बुधबार दुईपक्षीय वार्ता हुँदै

नेपालले भन्याे- सरकारमार्फत कामदार पठाऊँ

जापानको रोजगारी : जवाफ पर्खिंदै श्रम मन्त्रालय

जापानमा रोजगारीः कोरियन मोडलमै कामदार लैजान मार्चभित्रै सम्झौता हुने