सेजभित्रका १० उद्योगद्वारा भू—बहाल तिर्न अटेर

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)भित्र स्थापना भएका १० उद्योगले अग्रिम तिर्नुपर्ने ६ महिनाको भूबहाल रकम बुझाउन अटेर गरेका छन् । उद्योग स्थापना तथा सञ्चालनका लागि अनुमतिपत्र पाएका ती उद्योगले सेजसँग भूबहाल करार सम्झौताको सर्त भए पनि भू—बहाल रकम भुक्तानी गर्न अटेर गरेका हुन् । पटक पटक ताकेता गरे पनि अग्रिम ६ महिनाको भू—बहाल रकम भुक्तानी गर्न उद्योगी÷लगानीकर्ता...

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)भित्र स्थापना भएका १० उद्योगले अग्रिम तिर्नुपर्ने ६ महिनाको भूबहाल रकम बुझाउन अटेर गरेका छन् । उद्योग स्थापना तथा सञ्चालनका लागि अनुमतिपत्र पाएका ती उद्योगले सेजसँग भूबहाल करार सम्झौताको सर्त भए पनि भू—बहाल रकम भुक्तानी गर्न अटेर गरेका हुन् ।

पटक पटक ताकेता गरे पनि अग्रिम ६ महिनाको भू—बहाल रकम भुक्तानी गर्न उद्योगी÷लगानीकर्ता अहिलेसम्म सम्पर्कमा नआएको सेजका प्रमुख चण्डिका भट्टले जानकारी दिए । ६ महिना अवधिका लागि भुक्तानी अग्रिम गर्नुपर्ने गरी करार सम्झौता गरिए पनि उद्योगीले अटेर गरेको उनको भनाइ छ । १५ दिनभित्र ती उद्योगलाई भू—बहाल रकम बुझाउन जानकारी गराइएको उनले बताए । उक्त अवधिभित्र पनि नबुझाए कानुनबमोजिम भइजाने भट्टको तर्क छ ।

अहिले सेजभित्र २२ ओटा उद्योगले स्थापना तथा सञ्चालनका लागि अनुमतिपत्र पाइसकेका छन् । तीमध्ये १२ ओटा उद्योगले ६ महिनाको अग्रिम भू—बहाल बुझाएर उद्योग सञ्चालन गरिसकेका छन् । बाँकी १० ओटामध्ये पनि ६÷७ ओटा उद्योगले छिट्टै भू—बहाल बुझाउने जानकारी दिएको भट्टले बताए । बाँकी ३ ओटा उद्योग भने भू—बहाल बुझाउन सम्पर्कमा नै नरहेको उनको भनाइ छ ।

भू—बहाल करारअनुसार, प्रतिस्क्वायर मिटर क्षेत्रफलको २० रुपैयाँ भू—बहाल तिर्नुपर्छ । अहिले एक उद्योग औसतमा ७ हजार मिटर स्क्वायरमा फैलिएका छन् । त्यस्ता उद्योगले ६ महिनाको अग्रिम भू—बहालबापत ८ लाख ४० हजार रुपैयाँ तिर्नुपर्छ ।

अटेर गर्नेहरुमा एक्सल गार्मेन्ट प्रोसेसिङ इन्डस्ट्रिज, किरण सुज, मिनरल वाटर इन्डस्ट्रिज, एसियन थाई फुड, हर्बल सप र जगदम्बा सेन्थेटिक्स छन् ।

भैरहवा सेजमा हर्बल प्रशोधन, फुटवेयर, सेन्थेटिक प्लास्टिक, पाइप, खनिजजन्य र कृषिमा आधारित लगायतका उद्योग छन् । सेजमा स्थापना भएका उद्योगबाट उत्पादन भएका ५० प्रतिशत वस्तु विदेश निर्यात गर्नुपर्छ ।