लगानी टिप्स दिनेले सेयरबाट कति कमाए, सोध्नुभयो ?

सेयर तालिम दिने व्यक्तिले असली कम्पनीको मूल्याङ्कन गर्न सक्ने भए अथवा मूल्य घट्ने वा बढ्ने अनुमान गर्न सक्थे भने तिनीहरु अहिले अर्बपति भइसक्थे । तालिम दिने भन्दै प्रतिव्यक्ति ५, १० वा १५ हजार शुल्क उठाएर घाँटी सुक्ने गरी कराउने थिएनन् ।

युनियन हाइड्रोेपावर कम्पनीले सर्वसाधारणलाई जारी गरेको ३२ लाख ८६ हजार ९ सय ३७ कित्ता सेयर छिटोमा मिति २०७५ चैत १७ गतेसम्म बिक्री नभएपछि २०७६ वैशाख १२ सम्मका लागि खुला छ । तर, युनियन हाइड्रोपछि सार्वजनिक निष्कासन भएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ताका लागि छिटोमा चैत २५ गतेसम्म समय रहे पनि त्यसअघि नै मागभन्दा बढी आवेदन परेको छ ।

युनियनको लगानी ‘पे ब्याक पिरियड’ सामान्य अवस्थामा १०.६१ वर्ष र डिस्काउन्ट गरिएको पे ब्याक पिरियड २३.२३ वर्ष छ भने प्रतिमेगावाट लागत २६ करोड ५० लाख २५ हजार ९ सय १५ रुपैयाँ छ । तर, हिमालयको लगानी ‘पे ब्याक पिरियड’ सामान्य अवस्थामा ६.२१ वर्ष र डिस्काउन्ट गरिएको ९.४३ वर्ष छ भने लागत प्रतिमेगावाट १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ । यी दुई जलविद्युत् कम्पनीको वास्तविक अवस्था र सेयर बिक्रीमा देखिएको आकर्षणले लगानीकर्ताको बुझाइ प्रस्ट पार्छ । वित्तीय विवरण राम्रो नभएपछि लगानीकर्ता आकर्षित नभएको युनियनको सेयर बिक्री नभएबाट नै प्रस्ट हुन्छ ।

अर्को, युनिभर्सल पावर कम्पनीको सेयर मूल्य लगातार घटेर प्रतिकित्ता ९४ रुपैयाँमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको सुरुआती मूल्य १ सय १ रुपैयाँ ११ पैसादेखि ३ सय ३ रुपैयाँ ३३ पैसा तोकेको थियो । कम्पनीको नेटवर्थका आधारमा सुरुआती मूल्य तोकिए पनि पहिलो कारोबार भने चैत १३ गते २ सय ७० रुपैयाँ प्रतिकित्तामा भएको थियो । लगानीकर्ताको हातमा आइपुगेपछि सेयर मूल्य कसरी साइजमा आउँछ भन्ने कुरा युनिभर्सलको मूल्यबाट देखिन्छ ।

यस पटकको न्यून बिन्दु फागुन १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०००.५८ बिन्दुमा पुगेयता निरन्तर वृद्धिमा छ । यो एक महिने अवधिमा करिब १०० बिन्दुको वृद्धि देखिएको छ । सोमबार बजार बन्द हुँदा नेप्से ११९१.६८ बिन्दुमा छ । यसले के देखाउँछ भने बजारले एउटा गति समाएको छ । बजार नयाँ चरणको प्रतीक्षामा छ । यो चालू आर्थिक वर्षको तेस्रो त्रैमास बन्दको असर पनि हुनसक्छ । चैत समाप्तिपछि आउने कम्पनीका वित्तीय विवरणले उनीहरुको लाभांशको स्तर निर्धारण गर्नेछ भने आगामी वैशाखदेखि सामान्य रुपमा ऋणको ब्याजदर घट्ने सम्भावना छ ।

त्यसैगरी सेयर धितोमा ऋण लिएकाहरुलाई बजार घट्दा ठूलो दबाब सिर्जना भएको थियो । सेयर मूल्य बढेकाले उनीहरुलाई पनि केही राहत मिलेको छ ।
बजार निरन्तर घटिरहेका वा बढिरहेका बेला एकथरी व्यक्ति तथा संस्थाहरु लगानीकर्तालाई तालिम दिन भनेर मरिमेटेर लागेका छन् । कति लगानीकर्ताले तालिम प्राप्त गरेका छन् र उनीहरुले तालिम लिएपछि सेयर बजारबाट प्रतिफल लिए कि लिएनन्, त्यसको अध्ययन भए एउटा निष्कर्ष निस्किएला ।

अहिले केही सेयरसँग सम्बन्धित सूचना मात्रै सम्प्रेषण गर्ने भनेर खुलेका केही अनलाइन सञ्चारमाध्यम र दैनिक पत्रिकाले समेत सहायक कम्पनी खडा गरेर सेयर तालिमका लागि विज्ञापन गरेको पाइन्छ । प्राविधिक विश्लेषण वा आधारभूत ज्ञानका लागि भन्दै र लगानीकर्तालाई लगानी ‘टिप्स’ दिने त्यस्ता संस्था आफूहरुले सेयरबाट कति नाफा खाए वा घाटा त्यो भने कहिल्यै बताउँदैनन् । उनीहरु आफूले सेयर बजारमा लगानी नगर्ने बरु सूचना र लगानीकर्तालाई बजारको यथार्थ वातावरण बताउन लागिपरेको भन्ने जवाफ दिन पछि पर्दैनन् ।

सेयर तालिम दिने व्यक्तिले कम्पनीको असली मूल्याङ्कन गर्न सक्ने भए अथवा मूल्य घट्ने वा बढ्ने अनुमान गर्न सक्थे भने तिनीहरु अहिले अर्बपति भइसक्थे । बजार घट्यो भनेर विभिन्न बहानाबाजी गर्दै एकअर्काको लहैलहैमा गालीगलौज गर्दै सडकमा तमासा देखाउने थिएनन् । र, तालिम दिने भन्दै प्रतिव्यक्ति ५, १० वा १५ हजार शुल्क उठाएर घाँटी सुक्ने गरी कराउने थिएनन् । त्यसैले लगानीका सन्दर्भमा सामान्य ज्ञान हुनुपर्छ । कम्पनीले प्रकाशित गर्ने वित्तीय विवरणको अन्तर्य बुझ्नुपर्छ र कम्पनीको व्यवस्थापनमा कस्ता व्यक्तिहरुको बाहुल्यता छ, त्यो हेरेर कम्पनीको अवस्थाका बारे चित्रण गर्न सकिन्छ । त्यसबाहेक प्राविधिक विश्लेषण जान्नु राम्रो हो ।

तर, प्राविधिक विश्लेषण गर्दा पनि जानकारीहरुले ‘यदि यस्तो भएन भने वा उस्तो भएन भने’ भनेर विभिन्न उपमा जोडेर गर्ने गरेकाले ती प्राविधिक विश्लेषणले कम्पनीको मूल्य कहिले कहाँ पुग्छ भन्ने आकलन मात्रै गरिने हो । त्यो वास्तविक हुँदैन । यदि प्राविधिक विश्लेषणको सही निर्णयप्रति विश्वास हुँदो हो त प्राविधिक विश्लेषकले उपयुक्त समयमा सेयर किन्ने र बेच्ने गरी आफू धनीहरुको सूचीमा परिणत हुने थिए ।

सेयर बजारमा गरिने सबै तर्क केही छिनका लागी मानिसलाई बेवकुफ बनाउने माध्यम मात्रै हो । जस्तो विगत १ वर्षदेखि केही मानिस कम्युनिस्ट सरकारका कारण र खासगरी डा.युवराज खतिवडा अर्थमन्त्री भएकाले बजार खस्किएको भनिरहेका छन् । तर, उनैका पाला फेरि बेला बेला बजारले नयाँ सूत्र दिइरहेकै छ, र बजारले उकालो गति समाएकै हुन्छ, किन ? अनि काङ्ग्रेस सरकारको पाला बजार नघट्नुपर्ने थियो । तर, २०७३ साउनमा कम्प्युनिस्ट सरकारका पाला बिन्दु १८८१ मा पुगेको नेपालको सेयर बजारले अर्थतन्त्रको ऐनाको रुपमा काम गर्दैन ।

यहाँ सीमित व्यक्तिहरुको हातमा सेयर बजार बन्धक छ । जति नै कोशिश गरे पनि त्यहाँबाट उम्किन निकै समय लाग्छ । नियामकहरु पनि कतिपय बेला त्यस्ता घटनामा बाँधिएका हुन्छन् । पछिल्लो पटक लगानीकर्तालाई यो वा त्यो बहानामा अनलाइन कारोबारका लागि सेयर दलाल (ब्रोकर)हरुले युजरनेम र पासवर्ड नदिएको स्थिति पनि बजार आफ्नो हातबाट उम्किन्छ भन्ने चिन्ता नै हो । सेयर दलाल र केही लगानीकर्ताले बैङ्कलाई ब्रोकर लाइसेन्स नदिन गरिएको अनेकन प्रचारबाजी पनि त्यसैको परिणाम हो ।

बेलाबेलामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा देखिने प्राविधिक गडबडी पनि कहीँ न कहीँ उसको एकल अधिकारका कारण उत्पन्न परिणाम हो । अर्को स्टक एक्सचेन्ज हुन्थ्यो भने नेप्सेले यस्ता समस्या तत्कालै सम्बोधन गर्थ्याे । तर, एकाधिकार भएपछि ‘खाए खा नखाए घिच’ भनेजसरी उसलाई मन लागेका बेला कारोबार गराइरहेको छ । नेप्से सरकारी कम्पनी भएकाले नियामक निकायको डर पनि उसलाई छैन । जसको असर सर्वसाधारणको लगानीमा परिरहेको छ । सेयर बजारका बारेमा नियामक नेपाल धितोपत्र बोर्डले पनि मुलुकका विभिन्न ठाउँमा आवश्यक तालिम दिएकै छ र निरन्तर दिइरहने छ । त्यस्तै कतिपय बेला नेप्सेले पनि विभिन्न जानकारीमूलक कार्यक्रम बनाइरहकै हुन्छ । यस्ता विषयमा पनि लगानीकर्ताको ध्यान आकृष्ट हुनैपर्छ ।

जब सेयर बजारको यथार्थ चित्रण गर्नेले नै बजारबाट फाइदा लिएका छैनन् भने तिनले अरु सामान्य नागरिकलाई ‘मुर्गा’ मात्रै बनाउने हुन् । ठूलो मूल्य तिरेर तालिम लिनुअघि त्यस्ता विश्लेषकले कुन समयमा कति लगानी गरे र कुन समयमा बिक्री गरेर कति नाफा खाए ? घाटा खाएको भए प्राविधिक विश्लेषण वा तालिम केका लागि लिनु ? भनेर सोध्न नभुल्नु होला ।

अर्कोतिर अहिले धेरै व्यक्तिहरु ब्रोकरलाई कुन सेयर बढ्छ वा घट्छ ? कहिले किन्दा हुन्छ ? भनेर प्रश्न गर्ने गरेको पाइन्छ । ब्रोकरलाई न त वास्तविक कुरा थाहा हुन्छ, न त सामान्य लगानीकर्तालाई ब्रोकरले यथार्थ विषय जानकारी गराउँछ नै । बजार बढ्ने बेला अझ बढ्छ र घट्ने बेला अझ घढ्छ भन्न ब्रोकरहरु पछि पर्दैनन् । उनीहरु यो वा त्यो सेयर राम्रो वा नराम्रो छ भन्नुको अर्थ ब्रोकरसँग भएको सेयर बिक्री गर्न वा थप सेयर खरिद गर्ने उपयुक्त अवसरमा छ भन्ने बुझ्न कठिन हुँदैन ।

हामीकहाँ सेयर मूल्यको निर्धारण हकप्रद सेयर र बोनस सेयर कति पाउने भन्ने कुराले हुने गरेको छ । त्यसैले अब नियामकीय नयाँ अवधारणा नआएसम्म अधिक कम्पनीहरुले हकप्रद र बोनस सेयर दिने अवस्था छैन । मुलुकको अर्थतन्त्रले एउटा गति लिन लागेकाले आगामी दिन सेयर बजारका लागि थप उत्साहप्रद हुने देखिन्छ । तर, लगानीकर्ता सधैं चनाखो भने रहिरहनुपर्छ ।