काबेली करिडोर प्रसारण लाइन निर्माण अन्तिम चरणमा, डेढ महिनाभित्र चार्ज हुने

उनले १५ ओटा टावरमा तार तान्ने काम अबको एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । डेढ महिनाभित्र करिडोर प्रसारण लाइन आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी लाइन चार्ज गरि सञ्चालनमा ल्याइने उनले बताए । आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

काठमाडौं । निर्माणधिन १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । अहिले प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड (सोयाक—फिदिम) को सकिएर एक हप्ताभित्र चार्ज गर्ने अवस्थामा पुगेको छ । तेस्रो खण्ड (गोदक—फिदिम) को काम तीव्र रुपमा अघि बढाइएको छ । उक्त खण्डमा ४० ओटा टावर बनाउनुपर्छ ।

अहिलेसम्म ३९ ओटा टावर ठड्याइसकिएको र एउटा उठाउन बाँकी छ । त्यस्तै, २५ ओटा टावरमा तार तान्नेका काम भइसकेको छ । बाँकी १५ ओटा टावरमा तार तान्ने काम पनि अघि बढिरहेको आयोजनाका प्रमुख दिपेन्द्र द्विवेदीले क्यापिटल नेपाललाई जानकारी दिए ।

उनले १५ ओटा टावरमा तार तान्ने काम अबको एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । डेढ महिनाभित्र करिडोर प्रसारण लाइन आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी लाइन चार्ज गरि सञ्चालनमा ल्याइने उनले बताए । आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

दोस्रो फेजअन्तर्गत रहेको झापाको पाराजुँगीदेखि पाँचथरको अमरपुरसम्म प्रसारणलाइन जाने छ । ४२.८८ किलोमिटर क्षेत्रफलमा १२५ ओटा टावर ठड्याइसकिएको छ । यसअघि दुवै फेजमा वनक्षेत्र पर्ने र रुख काट्नुपर्ने भएकाले स्वीकृत नहुँदा तार तान्ने प्रभावित हुँदै आएको थियो ।

अहिले बनबाट स्वीकृत लिइएको र आयोजनामा कुनै रोकावट नभएकाले डेढ महिनाभित्रै आयोजना सञ्चालन गर्न सकिने द्विवेदीले बताए । ‘अब ६ किलोमिटरमा तार तान्ने काम बाँकी छ । अहिले बन र जग्गा सम्वन्धी कुनै समस्या छैन’ उनले भने, ‘तीव्र रुपमा काम भइरहेकाले डेढ महिनाभित्रै आयोजना सम्पन्न हुन्छ ।’

झापाको पाराजुँगीदेखि पाँचथरको अमरपुसम्म तीन फेजमा छुट्याई काम अघि बढाइएको थियो, जसमध्ये पहिलो फेज (गोदक—दमक)को काम दुई वर्षअघि नै सम्पन्न भएको थियो ।

काबेली करिडोर सञ्चालनमा आएपछि १० मेगावाटको इवाखोला र २५ मेगावाटको काबेली ‘बी’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ । यसअघि २२.५ मेगावाटको तल्लो हेवा जलविद्युत् आयोजनाको विद्युत् लाइनमा चार्ज भइसकेको छ । त्यस्तै प्रसारण लाइन बनेमा १४ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत् आयोजना पूर्ण सञ्चालनमा आउने छ । प्रसारणलाइन बनेपछि करिडोरमा रहेका विभिन्न आयोजनाबाट २०० मेगावाट बढी बिजुली आपूर्ति हुने छ ।

जलविद्युत आयोजना निर्माण भएर प्रसारण लाइन नबनेमा ती आयोजनाबाट उत्पादित विद्युत् खेर जानेछ । प्राधिरकणले आयोजना प्रवद्र्धकलाई जरिवानासमेत तिर्नुपर्छ ।

१० वर्षअधि सुरु गरिएको आयोजना लामो समय स्थानीयको अवरोध, जग्गा र वन समस्यामा फस्यो । कुल ३ अर्ब ५९ करोड रुपैयाँको लागत अनुमानमा आयोजना निर्माण भइरहेको छ । आयोजना विश्व बैंङ्कको ऋण सहयोग रहेको छ ।