प्रतिबन्धित बटर र पाउडर दूध लुकिछिपी भारतबाट भित्रिँदा स्वदेशी उत्पादन बिकेनन्

अहिले निजीक्षेत्रका डेरी उद्योगमा मात्रै ७५ करोड रुपैयाँभन्दा बढीको बटर र पाउड दूध स्टकमै थन्किएको छ । निजी डेरी उद्योगमा ४५ करोडको पाउडर दूध र झन्डै ३० करोड रुपैयाँको बटर स्टकमा छ ।

काठमाडौं । सरकारले पाउडर दूध आयातमाथि पूर्ण प्रतिबन्ध लगाएपनि खुल्ला नाकाका कारण लुकिछिपी पाउडर दूध नेपाल भित्रिँदा स्वदेशी उद्योगमा उत्पादित बटर र पाउडर दूधले मूल्य पाउन सकेका छैनन् । भन्सार नाकाबाटै सस्तोमा पाउडर लुकिछिपी भित्रन थालेपछि स्वदेशमा उत्पादित बटर र पाउडर दूध नबिकेर स्टकमै थन्किएको उद्योगीको गुनासो छ ।

अहिले निजीक्षेत्रका डेरी उद्योगमा मात्रै ७५ करोड रुपैयाँभन्दा बढीको बटर र पाउड दूध स्टकमै थन्किएको छ । निजी डेरी उद्योगमा ४५ करोडको पाउडर दूध र झन्डै ३० करोड रुपैयाँको बटर स्टकमा छ । यता, सरकारी स्वामित्व दुग्ध विकास संस्थान (डीडीसी) मा पनि अहिले झन्डै ६ सय मेट्रिक टन बटर स्टक छ । डीडीसीमा २५ करोडको बटर र ३० करोड रुपैयाँ हाराहारीको पाउडर दूध स्टक छ । भारतीय पाउडरको भन्सार मुल्य निकैं कम हुँदा नेपालमा सस्तोमा पाउडर भित्रिने गर्छ । अहिले बजारमा भारतबाट आयातित पाउडर दूध छ्यापछ्याप्ति भेटिन थालेको निजीक्षेत्रका डेरी उद्योगी बताउँछन् ।

अहिले, भारतबाट पाउडर दूध आयातमा सरकारले पूर्ण प्रतिबन्ध लगाएपनि झुक्याएर र लुकिछिपी पाउडर दूध आयात बढ्दै जान थालेको विरगन्जका एक उद्योगीले बताए । ‘पाउडर आयातमा प्रतिवन्ध लगाएपनि बजारमा आयातित पाउडर दूध छ्यापछ्याप्ति पाइन्छ’ उनले गुनासो गरे, ‘जस्काकारण हाम्रो स्वदेशी दुध पाउडरले बजार पाएन्’ आयातित पाउडर दूध प्रतिकेजी ३० देखि ४० रुपैयाँ सस्तो दैनिक रुपमा साइकल, टेम्पो जस्ता साना साधन र अन्य उपभोग्य वस्तुसँगै पाउडर दूध पनि ल्याउने गरिएको छ । भारतीय कम्पनी र केही स्वदेशी डेरी उद्योगीको मिलेमतोमा पनि पाउडर दूध आउने गरेको जनाइएको छ । अहिले भारतबाट आउने पाउडर दूध स्वदेशी पाउडरको तुलनामा प्रतिकेजी ३० देखि ४० रुपैयाँ सस्तो पर्छ ।

दसैँसम्मलाई पुग्ने पाउडर दूध र बटर स्टक

अहिले निजी डेरी उद्योगमा ठूलो मात्रामा पाउडर दूध र बटर स्टक छ । ८ सय मेट्रिक्टन बटर निजी डेरी उद्योगका स्टकमा छ् । अहिले उद्योगमा रहेको पाउडर दूध र बटरले भदौं/असोजसम्म माग पूरा हुने डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । सरकारले पाउडर आयातमा पूर्ण प्रतिवन्ध लगाएपनि खुकुलो सीमानाकाका कारण लुकिछिपी पाउडर दूध आउने गरेको गुनासो बढ्दै गएको बताए । ‘सरकारले पाउडर आयात पूर्ण प्रतिवन्ध लगाएको छ । तर, अझैपनि पूर्ण रुपले आयात रोकिन नसक्दा स्वदेशी दुग्धजन्य पदार्थले मुल्य पाउन सकेको छैन’ उनले भने, ‘अहिले डेरी उद्योगमा पाउडर दूध र बटर नबिकेर स्टकमै राख्नुपरेको छ ।’ अहिलेकै पाउडर र बटरले आँउदो दशैंसम्मलाई माग पूरा गर्न सकिने उनले बताए ।

अहिले डेरी उद्योगका क्षेत्रमा निजीक्षेत्रको लगानी ३० अर्ब छ । यसअघि बन्द भइ पुनः सञ्चालनमा आएको चितवन मिल्कसँगै पोखराको सुजल्क मिल्कले पाउडर दूध उत्पादन गर्दै आएको छ । सरकारी स्वामित्वमा डीडीसीले पनि दुग्धजन्य पदार्थ उत्पादन गरिरहेको छ । कानुनी रुपमा पाउडर दूध आयातमा प्रतिबन्द नै लगाइएको र यदाकदा लुकिछिपी पाउडर आएको जानकारीमा आएमा क्वारेन्टलाइनलाई विशेष निगरानी गर्न निर्देशन दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । ‘सरकारबाटै पाउडर आयात बन्द गरिएको छ’ उनले भने, ‘त्यसरी लुकिछिपी ल्याइने भन्ने जानकारी आएको छैन् ।’ उनले सीमा भन्सारमा रहेको क्वारेन्टलाइन पोष्टलाई विशेष निगरानी गर्न निर्देशन दिइने बताए ।

यो पनि पढ्नुहोस् ।
दैनिक १ लाख लिटर दूधबाट पाउडर बनाउँदै चितवन मिल्क, नाफामा जान ७ वर्ष लाग्ने

भन्सार मूल्याङ्कन बढाएपछि स्वदेशी घिउको बिक्री बढ्यो