गोन्जाओमा जहाज उडाउन चीनले एओसी नदिएपछि कूटनीतिक पहल थाल्दै एनएसी

प्रधानमन्त्री केपी ओली चीन भ्रमणको बेला गतवर्ष नेपाल एयरलाइन्सको जहाज उडान गर्ने सहमति भएको थियो । तर हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपाल एयरलाइन्सले पटकपटक पहल गर्दा पनि एओसीको समस्या समाधान नभएपछि अहिले कूटनीतिक पहल थालेको हो ।

काठमाडौं । लामो समयदेखि चीनको गोन्जाओमा उडान गर्ने समय पर्खिंदै आएको नेपाल एयरलाइन्सले अझै उडान पाएको छैन । चीनको गोन्जाओमा उडान गर्न चीनले सहमत भए पनि चिनियाँ नागरिक उड्डयन कार्यालयले उडान अनुमति (एओसी) नपाएउँदा मिति तोक्न नसकिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी वाइडबडी ३३० जहाजमार्फत उडान गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी ओली चीन भ्रमणको बेला गतवर्ष नेपाल एयरलाइन्सको जहाज उडान गर्ने सहमति भएको थियो । तर हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपाल एयरलाइन्सले पटकपटक पहल गर्दा पनि एओसीको समस्या समाधान नभएपछि अहिले कूटनीतिक पहल थालेको हो ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलमार्फत कूटनीतिक पहल थालिएको नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले क्यापिटललाई जानकारी दिए । चीनले मागेका आवश्यक सम्पूर्ण कागजात पेस गर्दा पनि सहमति नदिएका कारण कूटनीतिक पहल थालिएको स्रोतको भनाइ छ ।

पछिल्लो समय नेपालमा भारतपछि चिनियाँ पर्यटक धेरै आउँछन् । ती पर्यटकलाई लक्ष्य गरी एनएसीले चीनमा सीधा उडान गर्ने तयारी गरेको थियो । वाइडबडी जहाज खरिद गर्नुअघि नै बनाएको बिजनेस योजनामा चीन उडान गर्ने उल्लेख गरिएको थियो । तर पनि जहाज आएको १ वर्ष पुग्नै लाग्दासमेत उडान गर्न नसकेपछि आलोचना हुन थालेको छ ।

गत चैतभित्रै चीनमा उडान गर्ने एनएसीको तयारी थियो । एनएसीका कार्यकारी अध्यक्ष मदन खरेलले नयाँ गन्तव्यका रुपमा जापान, चीन, दक्षिण कोरिया र साउदी अरबमा जहाज उडाउने बताएका थिए । तर एओसी लिन नसकेकै कारण एनएसीले नयाँ गन्तव्यमा तत्काल उडान नपाएको हो ।

निगमले अहिले नयाँदिल्ली, बैङ्गलोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैङ्कक र कतारमा उडान गर्दै आएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइडबडी ए–३३० जहाज, दुई न्यारोबडी ए–३२० जहाज र एक बोइङ७५७ जहाज छन् ।