आफ्नो चिन्ता कि अरुको डाह !

नेपालको मूल समस्या युगअनुसारको नैतिक विकासमा ध्यान नदिनु हो । अर्थात् नैतिकताविहीन समाजको निर्माण हुँदैछ । काम गर्ने तर जिम्मेवारी नलिने संस्कारको विकास हुँदै गएको छ । त्यसले राजनीति, कर्मचारी, आम सर्वसाधारण कोही पनि अछुतो छैन ।

नेपालको आधिकारिक पात्रोअनुसार विसंं २०७५ हामीबाट बिदा भइसकेको छ । यस वर्ष धेरैले अपेक्षा गरेजस्तो भएन पनि होला । कतिपयको सोचेभन्दा राम्रो परिणाम प्राप्त भयो नै होला । तर, २०७६ सुरु भएकै दिन अशुभ समाचारले ठाउँ लियो । लुक्लामा एकाबिहानै समिट एयरको विमान दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने सर्लाहीमा रिजर्भ बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र ३० जनाभन्दा बढी घाइते बने । त्यसैगरी नारायणी नदीमा एक जना बेपत्ता हुँदा अर्का एक जनाको उद्धार गरिएको मात्र होइन केन्याको बोम्बासा सहरको एक बारबाट १२ नेपाली युवतीलाई केन्या प्रहरीले नियन्त्रणमा लिएको खबर पनि सँगै आएको छ ।

यद्यपि वैशाख १ गतेकै दिन पारेर सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँको स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । हुन त यो कार्यक्रम चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिए पनि कार्यक्रम कार्यान्वयनमा ल्याउन २०७६ वैशाख कुर्नु परेको छ । सोही कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता बढ्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएर वृद्धवृद्धालाई यो वर्ष सुखद रहने सङ्केत भने गरेका छन् ।

‘हरेक दिनको सङ्केत बिहानीले गर्छ’ भन्ने नेपाली उखानलाई मान्ने हो भने २०७६ को सङ्केत पक्कै पनि राम्रो छैन । यद्यपि यस्ता घटना नियमित आकस्मिकता मात्रै हुन् । नियमित आकस्मिकतालाई हेरेर वर्षैभरि यस्तो हुन्छ र उस्तो हुन्छ भन्नु बेकारका कुरा मात्रै हुन् । जसरी हामी आफ्नो जिम्मेवारी अरुलाई सुम्पेर बिहान उज्यालो भएदेखि बेलुका नसुतेसम्म नै अरुका बारेमा चिन्तित हुन्छौं । अरु त अरु परिवारसँग भएका बेला पनि अरुकै बारेमा अर्थात् कार्यालय÷कामकै बारेमा सोधीखोजी गरिरहेका हुन्छौं । साथीभाइकै रखवाली गरेको जस्तो देखाइरहेकै हुन्छौं । तर, किन ? के यो साथीभाइप्रतिको मायामोह हो त ? या उनीहरुप्रतिको डाह ? अधिकतर नेपालीहरु बढी फुसर्दिला भकाएकाले पनि हो कि अरुका बारेमा कुरा नगरी बस्नै सक्दैनन् । अर्थात् हामी कुरौटे हुँदै गएका छौं ।

अरुका बारेमा कुरा नगरी हामीलाई खाएको पनि पच्न छाडिसकेको छ । धेरैले अहिले सामाजिक सञ्जालमा मुलुकको चिन्ता गरिरहेको पाइन्छ । मानौं कि मुलुक उनीहरु नभएको भए बच्ने नै थिएन । तर, बुझ्दै जाने हो भने तिनैले मुलुकलाई कता लैजान पे्ररित गरिरहेका छन् र कसलाई फाइदा हुने गरी काम गर्न खोजिरहेका छन्, बुझ्न गाह्रो छैन । सामाजिक सञ्जालमा बढी चिच्याउनेहरु या राजनीतिक दलका कार्यकर्ता वा सरकारी निकायमा काम गर्नेहरु नै पाइन्छन् । जसले आफ्नो दायित्व बिर्सेको हुन्छ, उनीहरुले ठूलाठूला कुरा गरेको पाइन्छ ।

विगतमा हाम्रो उच्च नैतिक धरातल थियो । गाउँघरमा कोही नयाँ व्यक्ति पुग्यो भने उसलाई पाहुना मानेर भोक लाग्यो कि तिर्खा लाग्यो भनी सोध्ने गरिन्थ्यो । थाकेर आउनु भएको होला आराम गर्नुस् भन्दै खान, पिउन र बस्न दिइन्थ्यो । तर, अहिले समय फेरिएको छ । नयाँ मान्छे कोही देख्यो भने पनि चोर हो कि ? कुनै विद्रोही हो कि ? कुनै अपराधमा संलग्न भएर पो भाग्दै आइपुगेको हो कि ? सकेसम्म नयाँ मानिसहरु देखिए भने बोल्न नपरे हुन्थ्यो भनेर तर्किएर हिँड्ने अवस्था सिर्जना भएको छ । कहाँ गयो त्यो संस्कार ? अनि कसरी आयो यस्तो अवस्था ? यसको एउटै कारण हो, नैतिक धरातल र विश्वसनीय आधार हराउँदै जानु ।

आफ्नो चिन्ता गरौं । आफ्नो आर्थिक अवस्था सुधार गरौं । आफू सुध्रिए आफ्नो परिवार सुदृढ बन्छ । परिवार सुदृढ भए समाज सुदृढ हुन्छ र अन्ततः मुलुक नै सफल र उन्नत हुन्छ । होइन भने आदर्शका ठूला कुरा गरेर अरुसँग सहयोग मागेर आफू समाजसेवी बन्ने वर्तमान नेपाली समाज दीर्घकालका लागि ठूलो समस्याको केन्द्र हुनेछ । आफू गर्ने केही होइन, अरुसँग मागेर र अरुको कोमल हृदयसँग खेलेर बन्दै गरेका समाजसेवीहरुले मुलुकको विकास भएन भनेर बढी नै चिन्ता गर्ने गरेको पाइन्छ ।

सशस्त्र द्वन्द्वको शान्तिपूर्ण निकाससँगै समाज फेरि पुरानै नैतिक धरातलमा फर्केला भन्ने धेरैको अपेक्षा थियो । तर, समयचक्रले त्यो धरातल समाउने अवस्था देखिँदैन । विशेषगरी पछिल्लो समय नेकपा (विप्लव समूह)ले पुनः द्वन्द्वको खेती अघि बढाएको र नेपाली समाजलाई द्वन्द्वमा अल्झाइराख्ने दुस्साहसका कारण ग्रामीण इलाकाहरुमा फेरि एक पटक डर र त्रासको अवस्था सिर्जना भएको छ । बेला बेलामा घोषणा गरिरहने नेपाल बन्दको अस्त्र र सरकारबाट विप्लव समूहका नाममा हुने धरपकडले सुस्ताउँदै गरेको समाजलाई द्वन्द्वकै झल्को दिन खोजिरहेको छ । विगतमा सहरमा नैतिकता गुमे पनि ग्रामीणक्षेत्रले भरथेग गर्दै आएको थियो । त्यसलाई सशस्त्र द्वन्द्वले पूरै भत्काइदियो । फेरि त्यसमा सुधार होला भन्ने अपेक्षा गरिए पनि पछिल्ला वर्षहरुमा ग्रामीण इलाकामा पनि नैतिकता हराउँदै गएको छ ।

बाबुले छोरालाई, छोराले बाबुलाई ज्वाईंले ससुरालाई, ससुराले ज्वाईंलाई, श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई पाएको ठाउँमा ठग्ने, लुट्ने क्रम बढ्दै गएको छ । अर्थात् घरपरिवारभित्रै दलाली सुरु भएको छ । आजको युगमा कर्मचारीले सेवाग्राहीलाई दिने सेवामा जिम्मेवारीबोध छैन । व्यवसायीले ग्राहकलाई दिने सेवामा जिम्मेवारीबोध छैन । वस्तुको गुणस्तरीयताको सवाल पनि त्यस्तै छ । नेपालको मूल समस्या युगअनुसारको नैतिक विकासमा ध्यान नदिनु हो । अर्थात् नैतिकताविहीन समाजको निर्माण हुँदैछ । काम गर्ने तर जिम्मेवारी नलिने संस्कारको विकास हुँदै गएको छ । त्यसले राजनीति, कर्मचारी, आम सर्वसाधारण कोही पनि अछुतो छैन । आम जनताले नागरिकको हैसियतले पालना गर्नुपर्ने आचरण पालना गर्न सके मात्रै पनि २०७६ ले जवाफदेही समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

वर्ष २०७६ ले हरेक नागरिक, राजनीतिज्ञ, कर्मचारी, उद्योगी, व्यापारी सबै क्षेत्रलाई जिम्मेवार बनाउन उत्प्रेरित गरोस् र मुलुक विकासको लहरमा कोशेढुङ्गा साबित बनोसु, शुभकामना !