प्रचारमा ढिलाइ भएकै हो, असफल भएमा म मात्र दोषी हुन्नँ : संयोजक सुरज वैद्य

कार्यक्रम संयोजक वैद्यले सचिवालयमा आयोजित एक कार्यक्रममा बोल्दै भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा ढिलाइ भएको स्वीकार गरेका छन् । उनले प्रचार ढिलाइ हुनुमा आफ्नो मात्र कारण नभई राज्यको संयन्त्रको कमजोरी भएको टिप्पणीसमेत गरेका छन् ।

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ मनाउन लागिएको भ्रमण वर्ष २०२०को सचिवालय बल्ल टुङ्गो लागेको छ ।

सचिवालयका लागि घर खोज्न महिनौ लागेपछि आलोचित बनेका कार्यक्रम संयोजक सुरज वैद्यले केशरमहलमा कार्यालय सञ्चालनमा ल्याएका छन् ।

भूकम्पले क्षति पु¥याएको सो भवनमा अहिले मर्मतसम्भार गरी रङरोगनको काम भइरहेको छ । कार्यक्रम संयोजक वैद्यले सुरुदेखि नै सचिवालय केशरमहलमै राख्ने तयारी गरे पनि सचिवालयका कर्मचारीले अटेर गर्दै अन्य ठाउँमा घर खोज्न सार्वजनिक सूचनासमेत प्रकाशन गरेका थिए । तर, उपयुक्त घर नपाएपछि अन्तिममा केशरमहलमै सचिवालय स्थापना गरेका हुन् ।

कार्यक्रम संयोजक वैद्यले सचिवालयमा आयोजित एक कार्यक्रममा बोल्दै भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा ढिलाइ भएको स्वीकार गरेका छन् । उनले प्रचार ढिलाइ हुनुमा आफ्नो मात्र कारण नभई राज्यको संयन्त्रको कमजोरी भएको टिप्पणीसमेत गरेका छन् ।

‘भ्रमण वर्ष २०२० असफल हुँदा म मात्र असफल हुन्नँ, संयोजक वैद्यले भने, यसको जिम्मेवार सम्पूर्ण नेपाली हुन्छन्, त्यसैले यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

भ्रमण वर्षका लागि १० करोड रुपैयाँ विनियोजन भए पनि खर्च गर्ने कार्यविधि पास हुन सकेको थिएन । उनले संयोजक नियुक्तिलगत्तै खर्च गर्ने कार्यविधि नभएको र रकम नभए काम गर्न नसक्ने बताउँदै आएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि भ्रमण वर्षको कार्यक्रम नै लथालिङ्ग भएको छ । विभागीय मन्त्री नभएकै कारण कार्यविधि पास हुन ढिलाइ भएको मन्त्रालयका उच्च अधिकारीहरुको भनाइ छ । आर्थिक वर्षको अन्तिममा आएर कार्यविधि पास भएको छ ।

यसैबीच देशभरबाट छनोट गरिएका १०० नयाँ गन्तव्यबाट २०२० लाई २० ओटा गन्तव्य छान्ने काम पर्यटन बोर्डले हालसम्म गर्न सकेको छैन । ती २० ओटा गन्तव्यमा २०२०का लागि आवश्यक पूर्वाधार निर्माण गर्ने योजना सरकारको छ । यस्तै प्रदेश समितिहरुले समेत पूर्णता पाउन सकेका छैनन् ।

याे पनि पढ्नुहाेस्

२० लाख पर्यटक ल्याउने भ्रमण वर्ष २०२० को छैन कार्यालय